
काठमाडौं। नेपालको अटोमोबाइल बजारमा पछिल्लो महिना नेपाल आएका नयाँ गाडीहरुले बिक्रेता कम्पनीबीच ग्राहक आकर्षित गर्न प्रतिस्पर्धा बढाएको छ। अब, बीवाइडी, महिन्द्रा, चांगन डीपल लगायतका तीन ठूला ब्रान्डले नयाँ मोडलहरू ल्याउने तयारी गरिरहेका छन्।
यी तीन ठुला ब्रान्डका विद्युतीय गाडीहरु एक महिनाको अन्तरालमा एकै पटक नेपाल भित्रिने भएका छन्। यी कम्पनीहरूले ल्याउने नयाँ गाडीहरूले नेपालको अटोमोबाइल बजारमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ। किनभने यी कम्पनीहरुमध्ये महिन्द्रा सबैभन्दा राम्रो सर्भिस नेटवर्क भएको कम्पनी हो भने बिवाइडी र डिपल भने यो क्षेत्रमा आफ्नो सर्भिस नेटवर्क विस्तार गरिरहेका कम्पनी हुन्। तर, विद्युतीय गाडी बिक्रीमा भने नेपाली बजारमा महिन्द्राभन्दा यी कम्पनीहरुले छुट्टै पकड बनाएका छन्।
यी कम्पनीहरुले ल्याउन लागेका गाडीहरु प्राय ५० लाखदेखि ९० लाखसम्मको बीचमा हुनेछन्। यो सेगमेन्टमा यी एसयुभीहरु ग्राहकहरुका लागि राम्रो विकल्प बन्न सक्छ। अहिले बजारमा क्रेटा इभी, एमजी एस५, टाटा कर्भ इभी र नेक्सन केथ्री, प्रोटोन इम्यास जस्ता गाडीहरु बजारमा प्रतिस्पर्धा गरिरहेका छन्।
अब आउने यी तीन वटा गाडीमध्ये सिलायन ७ ले भने लिपमोटर सी१० र डिपल गाडीको सेगमेन्टमा प्रतिस्पर्धा गर्नेछ। यस्तै महिन्द्रा बीई६ र डिपल एस०५ ले भने अहिले भइरहेका क्रेटा इभी, एमजी एस५, टाटा कर्भ इभी र नेक्सन केथ्री, प्रोटोन इम्यास जस्ता गाडीहरुसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ।
यसमा महिन्द्रा बीई६ को मूल्य ६० लाख हाराहारीमा हुनेछ भने डीपल एस०५ को ५० देखि ५५ लाख हाराहारीमा हुने अनुमान गरिएको छ। साथै बीवाइडी सिलायन७ को भने ८० देखि ९० लाखको हाराहारीमा हुने अनुमान गरिएको छ।
व्यवसायीहरुले बजेटका कारण अटो शोसम्म नयाँ गाडी नेपाल ल्याउन नकुर्ने भएका छन्। सरकारले हरेक पटक इभीको कर बढाउने रणनीति लिएको छ। जसका कारण व्यवसायीहरु बजेट अगाडि नै यी गाडीहरुको बिक्री गर्न चाहन्छन्।

महिन्द्राको फिचर लोडेड एसयुभी बीई६
महिन्द्राले एसयूभी सेगमेन्टमा भारतमा राम्रो पकड जमाएको छ। यसले पनि नेपाली बजारमा नयाँ मोडलहरू ल्याउने तयारी गरिरहेको छ। कम्पनीले यस अघि नेपालमा सुरुमा ई टुओ र रेभा ल्याएर इभी बजारको इकोसिस्टम तयार पारेको थियो। त्यसपछि एक्सयुभी ४०० गाडी अहिले बिक्री गरिरहेको छ।
कम्पनीले यही अप्रिल महिनामा महिन्द्रा नयाँ प्रविधि र फिचर लोडेड गाडी बीई६ ल्याउने तयारी गरेको हो। कम्पनीले अहिले उक्त गाडी छिट्टै टेस्टिङ प्रपोजका लागि ल्याउन लागेको हो। त्यसपछि बिक्री लागि भने अर्को महिना ल्याउने तयारी गरिरहेको कम्पनीले जानकारी दिएको छ।
महिन्द्रा बीई६ एक इलेक्ट्रिक एसयूभी हो जसको भारतीय बजारमा धेरै चर्चा छ। आकर्षक डिजाइन र आधुनिक सुविधाले यसको धेरै चर्चा भएको हो। एरोडायनामिक बडी र एलईडी हेडल्याम्पले गाडीलाई आधुनिक लुक दिएको छ।

भित्री भाग पनि प्रिमियम देखिन्छ। ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर यसका विशेषता हुन्।
महिन्द्रा बीई६मा दुईवटा ब्याट्री प्याक विकल्प छन्। ५९ किलोवाट आवर र ७९ किलोवाट आवरका ब्याट्रीले एकपटक चार्ज गर्दा क्रमशः ५३५ किमी र ६८२ किमीको रेन्ज प्रदान गर्छ। कारमा शक्तिशाली इलेक्ट्रिक मोटर छ जसले उत्कृष्ट एक्सेलेरेसन दिन्छ।
यसमा भएको ब्याट्रीलाई चार्ज गर्न १७५ किलोवाट क्षमताको डिसी चार्जरले २० देखि ८० प्रतिशतसम्म पुर्याउन २० मिनेटको मात्रै समय लाग्छ।

डीपलको किफायती एसयुभी एस०५
डीपलले पनि विभिन्न मोडलका इभीहरू नेपालमा ल्याउने र बिक्री गरिरहेको छ। यसले आगामी दिनमा पनि बजारको आवश्यकता अनुसार किफायती गाडी ल्याउने तयारी गरिरहेको छ। कम्पनीको पहिलो मोडल डिपल एस०७ ले बजारमा राम्रो पकड बनाउन सफल ब्रान्ड हो। कम्पनीले अहिले ३ वटा मोडल नेपाली बजारमा बिक्री गरिरहेको रहेको छ। जसले नेपाली बजारमा डीपल ब्रान्डको उपस्थिति बलियो बनाउदै लगेको छ।
चांगन डीपलको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले चौथो मोडलका रुपमा चांगन डीपल एस०५ ल्याउन लागेको हो। कम्पनी यही एक महिनाको अन्तरालमा उक्त गाडी नेपालमा ल्याउने योजना बनाएर काम गरिरहेको छ। यो गाडी कम्पनीले डिपलको अहिले नेपालमा उपलब्धभन्दा कम मूल्यमा ल्याउन योजना बनाएको छ। ग्राहकहरुलाई किफायती मूल्यमा यो गाडी प्रदान गर्ने कम्पनीले जनाएको छ।
चांगन डिपल एस ०५ एक कम्प्याक्ट एसयूभी हो। यसको डिजाइन आधुनिक र आकर्षक छ। यसमा स्लिम हेडलाइट, आकर्षक फ्रन्ट ग्रिल र बोल्ड लाइन छन् जसले गाडीलाई स्पोर्टी लुक्स दिएको छ।

गाडीको भित्री भाग पनि आधुनिक र सुविधाजनक छ। यसमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर लगायत धेरै फिचर छन्। गाडीमा डिपल फोरके इन्टेलिजेन्ट क्यामेरा राखिएको छ जसमा ६४ जीबी स्टोरेज छ।
यस्तै १४ वटा स्पिकर भएको साउन्ड सिस्टम र पानोरमिक रुफ छ। गाडीमा सिंगल सेन्ट्रल १५.४ इन्चको २.५ के कन्ट्रोल स्क्रिन सेटअप छ। यसमा डी आकारको स्टेरिङ ह्वील छ। तर इन्स्ट्रुमेन्ट डिस्प्ले छैन। चालकका लागि भने हेड-अप- डिस्प्ले छ। यस्तै अटो पार्किङ सुविधा पनि गाडीमा उपलब्ध छ।
लामो दूरीको यात्राको लागि उपयुक्त हुने गरी चांगन डिपल एस ०५ मा ठूलो ब्याट्री राखिएको छ। ५६.१२ किलोवाट आवर(युनिट) क्षमताको लिथियम आयोन फोसफेट ब्याट्रीले एक पटकको फुल चार्जमा ५१० किलोमिटर रेन्ज प्रदान गर्छ। गाडीमा १७५ किलोवाटको मोटर पावर छ जसले ३२० एनएम टर्क उत्पादन गर्न सक्छ।

बीवाइडीको लक्जरी र मस्कुलर एसयुभी सिलायन ७
बीवाइडीले पनि नेपालमा नयाँ मोडलहरू ल्याउने तयारी गरिरहेको छ। बीवाइडीले पछिल्लो समयमा विद्युतीय गाडीहरूमा राम्रो पकड जमाएको छ। बीवाइडीको नेपाली बिक्रेता साइमेक्स इंक प्रालिले बीवाइडीको सिलायन सेभेन मोडल बजारमा ल्याउने तयारीमा छ।
कम्पनी स्रोतका अनुसार अप्रिलको अन्त्यतिर उक्त गाडी नेपाल आउने तयारी छ। कम्पनीसँग अहिले पुरानाको ४ वटा मोडलका गाडीहरु बजारमा छन्। जसमा बीवाइडी एटो थ्री, डल्फिन, सिल र एम६ हुन। अब भने नयाँ मोडलले नेपाली बजारमा इन्ट्री गर्ने तयारी गरेको हो। अन्य ब्रान्डहरुले आफ्नो नयाँनयाँ मोडलका गाडीहरु ल्याइरहेका कारण यो सेगमेन्टमा बीवाइडीले पनि नयाँ गाडी ल्याउन लागेको हो।
यो मोडलले अन्तर्राष्ट्रिय बजारमा निकै चर्चा कमाइरहेको छ। भारतमा पनि यो गाडी गत जनवरीमा भएको अटो शोमा सार्वजनिक गरिएको थियो। यसमा भएको ८२.५६ किलोवाट आवर(युनिट) क्षमताको ब्लेड ब्याट्रीको साथमा आउने यस कारले ५ सय ६७ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ।
यसमा ११ वटा एयर ब्याग राखिएको छ। यसमा भएको ब्याट्री चार्ज गर्न २३० किलोवाट क्षमताको डीसि चार्जरले १० देखि ८० प्रतिशत हुन २४ मिनेटको मात्रै समय लाग्छ। यो गाडी ४.८ मिटर लामो रियल ह्वील र अल ह्वील दुबै ड्राइभ प्याटर्नमा आउछ। जसमा २० इन्चको एलोय ह्वील टायर प्रदान गरिएको छ।

गत जनवरीमा भारतीय बजारमा बुकिङ खुलाइएको यो गाडी छिट्टै नेपाल ल्याउने बिक्रेता कम्पनी साइमेक्स इंकका प्रतिनिधिहरुले बताएका छन्। भारतीय बजारमा यो गाडी अहिले पपुलर एसयूभीमा पर्न थालेको छ। मोटर पावर १०० किलोवाट क्षमताको भएमा गाडी सोचेभन्दा धेरै कम मूल्यमा आउनेछ। उनीहरुका अनुसार यो गाडीको मूल्य ८० देखि ९० लाखको बीचमा हुनेछ।
आकर्षक डिजाइन रहेको सिलायन-७ लाई स्लिक लाइन र एलईडी लाइटले प्रिमियम लुक प्रदान गरेको छ। अत्याधुनिक प्रविधि प्रयोग गरिएको गाडीको अगाडिको भाग निकै आकर्षक र पछाडिको भाग स्टाइलिस छ।
गाडीमा ठूलो टचस्क्रीन इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल ड्राइभर डिस्प्ले, अटोनोमस ड्राइभिङ फिचर र धेरै उपयोगी सुविधा उपलब्ध छन्।