
काठमाडौं। पेसाले इन्जिनियर काठमाडौंकी कविता लोहला एटीएम पुगेर कट्कटिएको नोट नझिकेको महिनौं भयो। बिहानै दूध लिन डेरी जाँदा होस्, तरकारी किन्न मण्डी पुग्दा वा ब्युटी पार्लरमा हेयर ट्रिटमेन्ट गर्नै पुग्दा नै किन नहोस् नगद नभए पनि उनको कारोबार सजिलै चल्छ। मोबाइल रिचार्ज गर्न उनलाई कहीँ जानै पर्दैन। इन्टरनेट, खानेपानी, बत्ती होस् वा हवाई टिकटको बिल केही क्लिककै भरमा स्मार्टफोनबाटै भुक्तानी गरेर उनले फत्ते गर्छिन्।
लोहलाकाअनुसार मोबाइल बैंकिङ, डिजिटल वालेट र क्यूआर कोड सुविधाले एटीएम पुगेर नगदै झिक्नुपर्ने बाध्यता हटेको छ। महिनाभरि नगद लेनदेन गर्नेपर्ने कारोबारको ९० प्रतिशत हाराहारी विद्युतीय भुक्तानीबाटै सल्टाउने गरेको उनले बताइन।
‘मेरो ९० प्रतिशत कारोबार त स्मार्टफोनबाटै डिजिटल्ली हुन्छ। नगद पैसा गोजीमा नभए पनि केही रोकिँदैन। मोबाइल बैंकिङले निकै सहज बनाएको छ,’ उनी भन्छिन्, ‘अहिले मैले जुनसुकै कारोबार गर्नुपर्दा विद्युतीय माध्यम नै उपयोग गरिरहेको हुन्छु। कहिलेकाहीँ केही समस्याले मात्रै हो नगदै चाहिने, नभए त सधैं फोनबाटै भुक्तानी गर्ने गर्छु।’
उनीजस्तै अचेल सहरीदेखि ग्रामीण भेगका नेपालीहरु नोटरहित भुक्तानी कारोबारमा छिटो-छिटो अभ्यस्त भइरहेका छन्। भुक्तानी कारोबारसम्बन्धी नेपाल राष्ट्र बैंकको तथ्यांकले यसको पुष्टि गर्छ। गत वर्षको फागुनको तुलनामा चालु वर्षको सोही महिना प्रमुख विद्युतीय कारोबारको संख्या र रकम ३२ प्रतिशतले बढेको छ।
नेपाली उपभोक्ताले प्रयोग गर्ने प्रमुख ६ वटा विद्युतीय भुक्तानीका माध्यमको तुलना गर्दा गत फागुनको तुलनामा यो वर्षको फागुनमा कारोबार संख्यात्मकरुपमा ४६.४७ प्रतिशतले बढ्दा रकम ४७.५ प्रतिशतले वृद्धि भएको देखिन्छ।
कारोबार संख्या र मूल्यका हिसाबले मोबाइल बैंकिङ शीर्ष स्थानमा रहँदा बढी उछाल भने क्यूआर कोड भुक्तानीमा देखिएको छ।
गत वर्षको फागुनमा मोबाइल बैंकिङ प्रयोग गरेर ३ करोड २४ लाख ६२ हजार ९५४ वटा कारोबारमार्फत २ खर्ब ९१ अर्ब रुपैयाँ भुक्तानी भएको थियो। अघिल्लो महिना फागुनमा मोबाइल बैंकिङबाट हुने कारोबार संख्या ५७.८१ प्रतिशतले बढ्दा भुक्तानी रकम ४२.४१ प्रतिशतले बढेको छ। अर्थात्, चालु वर्षको फागुनमा मोबाइल बैंकिङ प्रयोगकर्ताले ५ करोड १२ लाख ३२ हजार ७४८ वटा कारोबारमार्फत ४ खर्ब १५ अर्ब रुपैयाँ भुक्तानी भएको छ।
यस्तै, गत वर्ष फागुनमा क्यूआर कोड प्रयोग गरेर १ करोड ४२ लाख ९१ हजार ८७७ वटा भुक्तानी भएकामा चालु वर्षको फागुनमा त्यो संख्या ८९ प्रतिशतले बढेको छ। अघिल्लो महिना फागुनमा क्यूआर कोडमा आधारित २ करोड ७० लाख २२ हजार ७१५ वटा कारोबार भएका छन्।
कारोबार रकममा पनि क्यूआर कोडकै दबदबा छ। गत वर्षको फागुनमा ४२ अर्ब ५६ करोड रुपैयाँबराबरको भुक्तानी क्यूआरबाट भएकामा यो वर्षको फागुनमा ८८.४२ प्रतिशतले बढेर ८० अर्ब १९ करोड ४० लाख रुपैयाँ भुक्तानी भएको छ।

विद्युतीय भुक्तानीमा क्यूआर कोडपछि सर्वाधिक वृद्धि भएको माध्यम हो मोबाइल वालेट। गत वर्षको फागुनको तुलनामा चालु वर्षको सोही महिना वालेटबाट हुने कारोबार संख्या ४९.७२ प्रतिशतले बढ्दा मूल्यका हिसाबले ७३.७६ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको फागुनमा वालेट प्रयोग गरेर २ करोड २४ लाख १० हजार ३२१ वटा कारोबारबाट २४ अर्ब रुपैयाँ भुक्तानी भएको छ। चालु वर्षको फागुनमा भने ३ करोड ३५ लाख ५४ हजार २३९ वटा कारोबारबाट ४१ अर्ब ७३ करोड ९० लाख रुपैयाँ भुक्तानी भएको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार कार्ड प्रयोग गरिने इ-कमर्समा हुने भुक्तानी पनि बढेको छ। गत वर्ष फागुनमा १ लाख २१ हजार ४९९ वटा कारोबारबाट ६० करोड ६० लाख रुपैयाँ भुक्तानी भएको थियो। चालु वर्षको फागुनमा भने १ लाख ६६ हजार ५०३ वटा कारोबारमार्फत ८७ करोड ५० लाख रुपैयाँ भुक्तानी भएको छ। कारोबार संख्यामा ३७ प्रतिशतको वृद्धि हुँदा कारोबार रकम ४४.३८ प्रतिशतले बढेको देखिन्छ।
यस्तै, इन्टरनेट बैंकिङबाट हुने कारोबारमा पनि वृद्धि भएको छ। गत वर्षको फागुनको तुलनामा इन्टरनेट बैंकिङबाट हुने कारोबार संख्या ४४.५४ प्रतिशतले बढ्दा मूल्यका हिसाबले २७.४२ प्रतिशतको वृद्धि भएको छ।
गत वर्षको फागुनमा २ लाख ८४ हजार १४१ वटा कारोबारमार्फत १४ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी भएको छ। जबकि चालु वर्षको सोही महिना ४ लाख १० हजार ७२४ वटा कारोबारबाट १८ अर्ब २६ करोड रुपैयाँ भुक्तानी भएको छ।
नेपाली उपभोक्ताले पोइन्ट अफ सेल उपयोग गरेर गर्ने भुक्तानी पनि बढेको छ। गत वर्ष फागुनमा ९ लाख ६९ हजार १४५ वटा कारोबारमार्फत ५ अर्ब १८ करोड रुपैयाँ भुक्तानी भएको थियो। अघिल्लो महिना फागुनमा भने कारोबार संख्या ९ लाख ७६ हजार २४१ वटामार्फत ५ अर्ब ६३ करोड रुपैंयाँ भुक्तानी भएको छ।
यस्तै, राष्ट्र बैंकले केही महिनादेखि निकाल्न थालेको क्रमबोर्डर क्यूआर एक्वायरिङमार्फत चालू वर्षको फागुनमा मात्रै ८१ हजार १७९ वटा कारोबारमार्फत २० करोड ५० लाख रुपैयाँ भुक्तानी भएको छ।
नेपाल आएका भारतीय पर्यटकले एक वर्षमा १ अर्ब ६० करोड रुपैयाँभन्दा बढी रकम क्यूआरमार्फत भुक्तानी गरेको तथ्यांक सार्वजनिक भएको छ। ५ लाख ६० हजारभन्दा बढी कारोबारबाट एकै वर्ष डेढ अर्ब रुपैयाँभन्दा बढी फोनपे क्यूआरबाट भुक्तानी भएको छ।
नेपाल र भारत अन्तरदेशीय (क्रसबोर्डर) क्यूआर भुक्तानी सञ्चालन गर्न नेपालको फोन पे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)बीच २०८० भदौमा सम्झौता भएको थियो।