गार्टनरको सूचीमा छन् २० विदेशी कम्पनी, नेपाल टेलिकमको बिलिङ ठेक्का कसले हात पार्ला?

बिजमाण्डू
२०८१ चैत्र ६ गते १६:०८ | Mar 19, 2025
गार्टनरको सूचीमा छन् २० विदेशी कम्पनी, नेपाल टेलिकमको बिलिङ ठेक्का कसले हात पार्ला?


काठमाडौं। नेपाल टेलिकमको बिलिङ प्रणाली खरिदको ठेक्कामा भाग लिन चाहने कम्पनी गार्टनरको सूचीमा रहेको हुनुपर्ने सर्तका कारण कति र कुन देशका कम्पनीले प्रतिस्पर्धा गर्लान् भन्ने चासो बढेको छ। गार्टनरको सूचीमा २० कम्पनी छन्।

Tata
GBIME
NLIC

टेलिकमले झण्डै साढे ५ अर्ब रुपैयाँको बिलिङ प्रणाली खरिदका लागि गार्टनरको सूचीमा रहेका कम्पनीले प्रतिस्पर्धा गर्न पाउने गरी मंगलबार पुन: टेन्डर आह्वान गरेको थियो।

ठेक्कामा भाग लिने कम्पनी गार्टनरको सीएसपी रेभिन्यू म्यानेजमेन्ट एण्ड मनिटाइजेसन (आरएम एण्ड एम) सोलुसन्स् र सीएसपी कस्टमर म्यानेजमेन्ट एण्ड एक्सपेरियन्स (सीएम एण्ड एक्स) मार्केट गाइडमा अनिवार्य सूचीकृत हुनुपर्ने सर्त तोकिएको छ। सन् २०२१ यता कम्तीमा दुईपटक सूचीकृत भएको हुनुपर्ने छ।

विश्वभर बिलिङ प्रणालीसहितको काम गरिरहेका २० कम्पनी गार्टनरको सूचीमा रहेको पाइएको छ। गार्टनरले आइटी क्षेत्रमा क्रियाशिल संस्थाहरुलाई वर्गीकरण गरेर सूची निकाल्छ।

गार्टनरको सूचीमा रहेकामध्ये अधिकांश अमेरिकी कम्पनी हुन्। अमेरिकाको एमडक्स, सीएसजी, एरिया सिस्टम्स्, बिलिङ प्ल्याटफर्म, कनभिभा, म्याट्रिक्स सफ्टवेयर, नेटक्र्याकर र ओराकल गार्टनरमा सूचीकृत छन्।

गत वर्ष चैतमा टेलिकमले निकालेको टेन्डरको समय चार पटकसम्म थप्दा अमेरिकी कम्पनी सीएसजीले मात्रै प्रस्ताव हालेको थियो। यो पटक पनि सीएसजीलाई दाबेदारको रुपमा हेरिएको छ।

भारतको स्टरलाइट टेक्नोलोजिज र टाटा कन्सल्टेन्सी तथा चीनको हुवावे र ह्वेल क्लाउड पनि गार्टनरको सूचीकरणमा छन्। हुवावेलाई सर्वोच्च अदालतको फैसलाका कारण बिलिङ प्रणालीको ठेक्कामा हात पार्न सहज छैन।

सर्वोच्चले बिलिङ प्रणालीको उत्पादक वा बिक्रेता कम्पनीको मुख्य सञ्चार प्रणाली अन्तर्गत रहनुपर्ने व्यक्तिको वैयक्तिक सूचना तथा तथ्यांकमा पहुँच नपुग्ने अवस्थाको सुनिश्चतता तथा यससम्बन्धी खरिद प्रक्रियामा स्वार्थको द्वन्द्व नहुने सुनिश्चितत गर्न आदेश दिएको छ। हुवावेले अहिले टेलिकमको कोर प्रणालीमा काम गरिरहेको छ। हुवावेसामु बिलिङको ठेक्कामा प्रतिस्पर्धा गर्न स्वार्थको द्वन्द्व नहुने सुनिश्चितता गर्नुपर्ने चुनौती छ।

त्यसैगरी, अस्ट्रियाको बियोन्ड नाउ, पोल्यान्डको कोमार्च, स्वीडेनको एरिक्सन, फिनल्यान्डको नोकिया, क्यूभ्यान्टल र टेक्नो ट्री तथा जर्मनीको एसएपी गार्टनरको सूचीमा छन्।

नेपाल टेलिकमको बिलिङ प्रणालीमा काम गर्न अमेरिकाको सीएसजी इन्टरनेसनल, ओर्‍याकल, नेटक्र्याकर टेक्नोलोजी (पहिलाको एन्डक्स नेटक्र्याकर), बेलायतको सेरेलियन, आयरल्यान्डको बियरिङ पोइन्टलगायत कम्पनी इच्छुक छन्।

टेलिकमको बिलिङमा अहिले हालीमुहाली गरिरहेको एसिया इन्फो पनि गार्टनरको सूचीमा छ। एसिया इन्फो सीएसपी रेभिन्यू म्यानेजमेन्ट एण्ड मनिटाइजेसन (आरएम एण्ड एम) सोलुसन्स् र सीएसपी कस्टमर म्यानेजमेन्ट एण्ड एक्सपेरियन्स (सीएम&एक्स) मार्केट गाइडमा सूचीकृत छ। एसिया इन्फोकै भेरिस क्लाउड स्वीइट सीएम एण्ड एक्समा सूचीकृत छ।

यी कम्पनीले विभिन्न देशका दूरसञ्चार कम्पनीलाई आवश्यक पर्ने सफ्टवेयर सलुसनदेखि रेभिन्यू अप्टिमाइजेसन सम्बन्धी सेवा प्रदान गर्दै आएका छन्। जसमध्ये बिलिङ प्रणालीसमेत यी कम्पनीको कोर पोर्टफोलियोभित्र पर्छ।

टेलिकमले स्पेसिफिकेसन हेरफेर गरेर नयाँ ठेक्का निकालेपछि विभिन्न कम्पनीहरुले प्रस्ताव पेस गर्ने तयारी थालेका छन्।

टेलिकमले बिलिङ प्रणाली खरिदका लागि गत चैत १८ गते ठेक्का आह्वान गरेको थियो। अमेरिकी डलरको चार वर्षअघिको पुरानो भाउदेखि विवादित हुन सक्ने अन्य विषय राखेर टेलिकमले ठेक्का निकालेपछि भेन्डरहरु प्रस्ताव हाल्नै हच्किएका थिए। चार पटकसम्म ठेक्काको म्याद थप्दा अमेरिकी कम्पनी सीएसजीले मात्रै प्रस्ताव हालेको थियो।

बिलिङ प्रणालीमा नयाँ प्लेयर छिर्न नदिन जानाजान विवादित बनाइएको ठेक्का टेलिकमले अन्तत: असोज २२ गते रद्द गरेको थियो।