
काठमाडौं। लगातार उच्च भएको सुनको भाउले बढोत्तरीमा फेरि नयाँ रेकर्ड बनाएको छ। बुधबार प्रति तोला १ लाख ७६ हजार रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको भन्दा तोलामा ८ सय रुपैयाँ बढ्दा बुधबार हालसम्मकै उच्च मूल्य कायम गरेको हो।
यसअघि मंगलबार तोलामा १ हजार १०० रुपैयाँ बढ्दा सुन प्रति तोला एक लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। चालु महिनाको प्रारम्भका तुलनामा बुधबारको कारोबार मूल्य १ हजार ५ सय रुपैयाँ बढी हो। गत शुक्रबार प्रति तोला १ लाक ७४ हजार ५ सय रुपैयाँले कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य घटे पनि स्थानीय बजारमा बुधबार सामान्य घटेको छ। ५ रुपैयाँ घट्दै प्रति तोला २ हजार ४५ रुपैयाँ भएको छ। अघिल्लो दिनका तुलनामा १० रुपैयाँ बढ्दा मंगलबार प्रति तोला २ हजार ५० भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढिरहँदा यसको असर मूल्यमा परेको हो। अमेरिकाले ३० भन्दा बढी देशहरुमा भिसा दिन कडाइ गर्ने नियम बनाएपछि सुन मूल्य थप उचाइमा पुगेको महासंघका पदाधिकारीहरुले बताएका छन्।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य बढेर प्रति औंस ३०३५.६७ डलर पुगेको छ। मंगलबार ३०१५.६८ डलर थियो। एक महिनाको अवधिमा सुनको भाउ १०३.२७ डलरले बढिसकेको छ।
चाँदी प्रति औंस ३३.९९ डलरले कारोबार भइरहेको छ। मंगलबार ३३.७ डलर थियो।