
विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले ढाका महोत्सव गर्ने भएको छ। महिला उद्यमीको क्षमता अभिवृद्धिका साथै प्रदेशको ढाका उद्योगलाई प्रवर्धन गर्न भन्दै चैत ७ देखि ९ गतेसम्म महोत्सव गर्न लागिएको हो।
महासंघका कार्यकारी निर्देशक राधारमण (साम) भण्डारीले ढाका कपडाको बजार विस्तारका साथै स्थानीयस्तरमा महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न महोत्सव गर्न लागेको बताए।
महोत्सवमा महिलाद्वारा निर्मित मौलिक ढाका सामग्री प्रदर्शनीमा राखिनेछ। त्यस्तै परम्परागत र आधुनिक ढाका पोशाकसहित फेसन सो आयोजना हुनेछ। महिला उद्यमीसँग अन्तरक्रिया गरेर लगानीका समस्या, सम्भावना र चुनौतीको पहिचान गरिने महासंघले जनाएको छ।
पूर्वको पहाडी जिल्ला तेह्रथुम ढाका कपडाका लागि प्रसिद्ध मानिन्छ। १० वर्षयता मोरङ, सुनसरी र झापामा पनि ढाका उद्योग विस्तार भएको छ। तीन जिल्लामा साना ठूला गरी ४० भन्दा बढी ढाका उद्योग छन्।
महोत्सवमा ढाका कपडाका डिजाइन, हस्तकला र नवीनतम प्रयोगसम्बन्धी प्रतियोगिता पनि गराइने छ। ‘नेपालको पहिचानः ढाका कपडा, ढाका संस्कृति’ भन्ने थिमसहित गर्न लागिएको महोत्सवमा पाल्पा र पोखराका महिला उद्यमीलाई पनि आमन्त्रण गरिएको कार्यकारी निर्देशक भण्डारीले जानकारी दिए।