
काठमाडौं । धरानका बालकुमार राई केही वर्ष सेनाको जागिरे रहे। उनी २०७१ कात्तिकमा सैनिक सेवा छाडेर होमिए ठेक्कापट्टातिर। व्यवसाय राम्रै चलिरहेको थियो। आम्दानी पनि गरिरहेकै थिए। नाफा घाटा बुझेका उनलाई एकाएक फिल्म क्षेत्रले तान्यो।
‘पूर्णबहादुरको सारङ्गी’ले करिब एक सय करोड रुपैयाँको कारोबार गरेको चर्चापछि कमाउने त फिल्मले पो रहेछ’ भन्ने पर्ने नै भयो। त्यसपछि बालकुमारको मन ठेक्कापट्टामा मात्रै अडिएन।
‘खै के भूत चढ्यो। पूर्णबहादुरको सारङ्गी चल्यो। त्यसैको लेखक समाएँ। कमाउँला भनेर फिल्ममा लगानी गर्ने सोच आयो,’ बालकुमारले सुनाए।
एउटा उमेरमा सिनेमाप्रति जोसुकैको पनि झुकाव हुन्छ नै। बालकुमार अपवाद रहने कुरा भएन। तर, यसरी नै व्यवसायीका रुपमा यस क्षेत्रमा पुग्ने चाहिँ उनले सोचेका थिएनन्। उनी निर्माता रहेको ‘कार्की साँइला’ चैत १५ गतेदेखि सुटिङको तयारीमा छ। निर्माताका रुपमा इन्ड्रस्टीमा डेब्यु गरेका बालकुमारले फिल्ममा जितु नेपाल र सुरक्षा पन्तलाई लिने भएका छन्।
फिल्म निर्माणपछि कसरी पैसा कमाउने भन्ने योजना पनि उनले बुनेका छन्। ‘हामीलाई बाहिरबाट सहयोग हुन्छ। कथा राम्रो छ। बाहिर च्यारिटी सो गरेर नै ९० प्रतिशत लगानी सुरक्षित गर्छु,’ उनी निर्धक्क सुनिए।
फिल्मको लगानी ३ करोड हाराहारी हुने उनको अनुमान छ। बजेट अझै बढ्न सक्नेमा जानकार पनि छन् उनी। फिल्मबाट राम्रो कमाई हुन्छ भनेर उत्साहित पनि।
+++
गोमन सिंह बिक चर्चित नभए पनि नेपाली फिल्म उद्योगमा जोडिएको नाम हो। एक दशकअघि नेपाली फिल्म बनाउने होडबाजी चलिरहँदा उनले पनि साझेदारीमा केही फिल्ममा लगानी गरे।
त्यतिखेर हौसिएर जसरी उनले लगानी गरे, प्रतिफल भने मिलेन। फिल्मले अपेक्षा गरे अनुसार मुनाफा दिएन। त्यसपछि उनले रंगिन दुनियाँबाट आफूलाई टाढा राखे। फर्निचर कारोबारको व्यवसाय सम्हाले। फर्निचर कारोबार उनका लागि फलदायी रह्यो। तर, ठूलो पर्दाको चकाचौध दुनियाँप्रति उनको झुकाव हटिसकेको थिएन। त्यसैको असर हो १० वर्षपछि उनी फिल्म निर्माणमा फर्किँदै छन्।

फिल्मी दुनियाँबाट टाढिएका उनले हालै चलचित्र विकास बोर्डबाट फिल्म निर्माणका लागि इजाजत लिएका छन्। ‘अहिले माहोल बनेको छ। धेरै फिल्मले कमाएका पनि छन्। त्यसले पनि हौस्यायो,’ गोमनले भने।
फिल्मी क्षेत्रमा एउटा भनाई छ, ‘फिल्म र फलाम तातेकै बेला हान्नुपर्छ।’ उनी पनि यसैलाई समाउँदै छन्। उनको फिल्मको फागुन २३ गते मुहूर्त हुँदैछ।
+++
तनहुँका रुपेश आलेमगर मोडलिङमै जम्दै थिए। मोडलिङ र सिनेमा उद्योगको नसा जोडिएकाले पनि उनी फिल्मतिर खिचिए। मोडलको पहिचान बनाइरहेकै बेला उनी फिल्मी व्यवसायमा ‘लगानीकर्ता’का रुपमा डेब्युको तरखरमा छन्।
दाजु पर्ने थमप्रकाश पुनसँग मिलेर संयुक्त लगानीको फिल्ममा ‘निर्माता’ बन्दैछन् उनी। फागुन १३ गते चलचित्र विकास बोर्ड पुगेर ‘लाहुर’ फिल्म निर्माणको इजाजत पनि लिइसकेका छन्।
‘मेरो त थोरै लगानी हो। यसले राम्रो गर्यो भने अर्कोमा पनि लगानी गरौंला भन्ने छ। हाम्रो फिल्म कल्चर बेस्ड भएकाले चल्छ,’ रुपेशले बिजमाण्डूसँगको कुराकानीमा सुनाए।
उनका अनुसार अहिले फिल्मको कथामा काम भइरहेको छ। फिल्ममा ३० प्रतिशत लगानी उनको हुनेछ।
सय करोड कलेक्सनले लोभ्याएको लगानी
कात्तिक १५ गते रिलिज भएको फिल्म पूर्णबहादुरको सारङ्गी अझै पनि सिनेमा हलबाट पूरै उत्रिसकेको छैन। चार महिनासम्म पनि क्यूएफएक्समा हरेक दिन केही शो चलिरहेको छ यो फिल्म। नेपाली रजतपटमा फराकिलो अन्तरसहित सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड बनाइसकेको छ यसले।
‘सर्वकालीन हिट’ कायम भएका नेपाली फिल्मले पूर्णबहादुरको सारङ्गीले कमाएको एक चौथाई पनि ‘अल टाइम कलेक्सन’ गर्न सकेका छैनन्। व्यापारको मामिलामा फिल्मले अप्रत्यासित प्रतिफलमात्र निकालेन, सुपर हिटको नयाँ मानक नै खडा गर्यो।
त्यसो त २०८१ को सुरुमै रिलिज भएको ‘बोक्सीको घर’ र ‘बेहुली फ्रम मेघौली’ले पनि राम्रै कलेक्सन गरेका थिए। त्यस्तै, दसैँको छेकोमा रिलिज भएका तीन चलचित्र छक्कापञ्जा-५, १२ गाउँ र ज्वाइँ साहेबको कलेक्सन पनि आधा अर्ब माथि नै भयो। तीनवटा फिल्म एकैसाथ रिलिज हुँदा पनि दर्शकको साथ पाए। लगानीकर्ताका लागि सबै फिल्म सुखद् सावित भए।

नेपाली चलचित्रको व्यापारका लागि २०८१ साल फाप्यो भन्दा फरक नपर्ला। त्यसैको प्रभाव हो- बालकुमार, गोमन र रुपेशलाई ठूलो पर्दाको कारोबारले लोभ्याएको।
फिल्मबाट कमाइ हुन्छ भन्ने भाष्य स्थापित भएसँगै यस उद्योगमा नयाँ नयाँ निर्माता भित्रने क्रम बढेको छ। चलचित्र विकास बोर्डमा फिल्म निर्माणको इजाजत लिने संख्या पनि बढ्दो छ। यस आर्थिक वर्षको सुरुदेखि फागुन १३ गतेसम्म १२४ वटा फिल्मले निर्माणका लागि इजाजत लिइसकेका छन्।
सारङ्गीको सफलतापछि अर्थात् कात्तिकयता फिल्मको इजाजत लिनेको सङ्ख्या अझ बढेको देखिन्छ। कात्तिकदेखि फागुनको बीचमा मात्रै ८२ वटा फिल्मले इजाजत लिएका छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा बढी हो। गएको वर्ष यही अवधिमा ६० वटा फिल्मले इजाजत लिएका थिए।
एउटा फिल्म सफल भएपछि निर्माण संख्या थपिनु नेपाली चलचित्र उद्योगको चरित्र नै बनेको बताउँछन् चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी। ‘उद्योगको व्यावसायिक चरित्र यही हो। पहिलेदेखिकै ट्रेन्ड। तर, पछि निर्माण भएका चलचित्रले उत्तिकै व्यापार गर्छ भन्ने चाहिँ छैन,’ उनले भने।
एकै फिल्ममा १२ करोडसम्म लगानी !
सर्वाधिक सफल भएको फिल्म सारङ्गीमा १ करोड ३० लाख रुपैयाँ हाराहारी मात्र लगानी भएको थियो। त्यसले गरेको नाफा देखेपछि कमाइ हुन्छ भने किन लगानी नगर्ने भन्दै हौसिनेहरु कम छैनन्।
‘डल्लेले इन्ट्री मार्यो’ नामको चलचित्रमा कलाकार सागर लम्साल ‘बले’ले ३५ लाख रुपैयाँ लिएर साइन गरेको समाचार बाहिरियो। हाँस्य कलाकार ‘बले’लाई ब्रान्ड भ्यालुकै आधारमा यति ठूलो रकम दिन निर्माण पक्ष तयार भयो। यदि यो ‘फिल्मी गसिप’मात्र होइन भने प्रश्न उठ्न सक्छ- एउटै कलाकारलाई त्यति धेरै पारिश्रमिक दिने हो भने फिल्मको कूल बजेट कति पुग्ला?
त्यसो त एक दशकअघिको तुलना गर्ने हो भने नेपाली फिल्मको बजेट पछिल्ला दिनमा बढ्दै गएको पाइन्छ। प्रि-प्रडक्सन र पोस्ट-प्रडक्सनमा खर्च गर्नेहरु बढेका छन्। भीएफएक्स लगायत प्रविधिको प्रयोगले खर्च बढाउने नै भयो। कलाकारको ‘भाउ’ पनि पछिल्ला दिन बढ्दै गएको छ।
दशकअघि २०-३० लाखमा फिल्म बन्ने गरे पनि अहिले औसतमा नै एउटा फिल्ममा साढे १ करोड रुपैयाँ खर्च हुन्छ। झन् नयाँ निर्माताहरु हौसिंदै बजेट बढाउन तयार हुने गरेको देखिन्छ।
चलचित्र विकास बोर्डमा निर्माणका लागि इजाजत लिएका अधिकांश चलचित्र डेढ करोडभन्दा माथिका देखिन्छन्। कात्तिकदेखि फागुनसम्म दर्ता भएमध्ये सबैभन्दा महँगो फिल्म हो- राइमती। यस फिल्मको बजेट १२ करोड रहेको निर्माण पक्षले उल्लेख गरेको छ।
बोर्ड अध्यक्ष डिसी भने रिलिजसम्म एउटा फिल्ममा सरदर ३ करोड रुपैयाँ लगानी पुग्ने गरेको बताउँछन्। त्यस आधारमा वर्षमा ८० वटा फिल्म निर्माण हुँदा २ अर्ब ४० करोडभन्दा माथिको लगानी हुने आँकलन गर्न सकिन्छ।
‘नेपाली फिल्म निर्माणको कूल बजेट साढे २ अर्बसम्म देखिन्छ। तीन करोड लगानी गरेका कतिपय फिल्मले त ३० लाख पनि नउठाउने अवस्था छ। त्यसका लागि हामी केही गर्न सक्दैनौं,’ अध्यक्ष डिसीले भने।
कर्पोरेट घरानाको लगानी कस्तो?
फिल्म क्षेत्रले नेपालको राजस्वमा दिने योगदान कति? एउटै फिल्म साइन गर्दा आर्टिस्टले ५० लाख रुपैयाँसम्म लिएको मार्केटमा ‘हल्ला’ हुन्छ। के ती कलाकारले तिर्ने करले त्यसको पुष्टि गर्छ? निर्माण पक्षको दाबीबाहेक फिल्मको कमाइलाई कसरी हेर्ने?
नेपालको सिनेमा नगरीमा अहिलेसम्म यस्ता अनगिन्ती प्रश्न उठ्छन् जसको जवाफ भेटिँदैन। लगानी गर्नसक्ने कर्पोरेट हाउस ‘कर प्रतिवद्धता’लाई आधार बनाउँदै यसबाट पन्छिन खोजेको पाइन्छ।
चलचित्र विकास बोर्डले ‘रियल टाइम बक्स अफिस कलेक्सन’ लागू गर्ने घोषणालाई कार्यान्वयनमा ल्याउन सकेको छैन। ‘रियल टाइममा रियल फिगर’ आउने हो भने रजतपटको रहस्यको पर्दा खुल्ने नै छ। त्यसैले घोषणा गरिसकेको विषयलाई ‘परदे मे रहने दो, परदा ना उठाओ…’ भने गरिन्छ।
अहिले कतिपय निर्माता त फिल्म हलमा टिकाउन जस्तोसुकै स्टन्ट गर्न पनि पछि पर्दैनन्। दर्शकमाझ फिल्म बिकाउन ‘गोजी मिडिया’को हल्लाखल्ला गराइन्छ। प्रचारका लागि इन्फ्लुएन्सरको सहारा बढेको छ। कतिपय फिल्ममा टिकट ‘सोल्ड आउट’ देखाएर दर्शक तान्न निर्माताले नै प्रोपागान्डा पनि गरिरहेका हुन्छन्।
‘पारदर्शीरूपमा कमाई देखिएको छैन। आउँदो वैशाखबाट हामी बक्स अफिस लागू गर्छौं। यसले कर्पोरेट घरानालाई फिल्म निर्माणमा आकर्षित गर्नेछ,’ अध्यक्ष डिसीले भने।

उद्योगपति विनोद चौधरी, व्यवसायी दीपक मल्होत्रा लगायतले फिल्ममा यसअघि लगानी गरे। तर, सोचेजस्तो प्रतिफल पाएनन्। करोड लगानीको प्रतिफल सयमा आएपछि उनीहरु क्रमश: फिल्म क्षेत्रबाट टाढिए।
तर, पूर्णबहादुरको सारङ्गीले उनीहरुलाई एकपटक फेरि सोच्न बाध्य बनाएको छ। उदाहरणका लागि केही अघिमात्रै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले फिल्म निर्माणको घोषणा गरेका छन्।
नेपालमा फिल्म प्रदर्शनको सबैभन्दा ठूलो नेटवर्क क्यूएफएक्सका संचालक तथा फिल्म निर्माता भाष्कर ढुंगाना अझै नेपाली चलचित्रको मार्केट बढि नसकेको तर्क गर्छन्। पूर्णबहादुरको सारङ्गीलाई मात्र हेरेर बजार विस्तार भएको तर्क गर्न नमिल्ने उनको भनाइ छ।
‘नेपाली फिल्मको मार्केट बढाउन हल संख्या र कन्टेन्टको क्वालिटी बढाउनुपर्ने हुन्छ,’ ढुंगानाले भने, ‘एउटा नेपाली फिल्मले राम्रोसँग चलेको अवस्थामा दुई महिनामा ५० देखि ६० करोडसम्म उठाउने मार्केट छ। त्यसैले फिल्मको संख्या थपिनु सकारात्मक हो। तर लगानी सुरक्षित गर्न फिल्म राम्रो बन्नुपर्छ।’
सिनेमाका सन्दर्भमा ‘कन्टेन्ट’लाई ‘किङ्ग’ मानिन्छ। ‘मार्केटिङ’ त्यसलाई प्रवर्द्धन गर्ने अनिवार्य अवयव। पूर्णबहादुरको सारङ्गीले कमाएकै देखेर फिल्म क्षेत्रमा दश वर्षपछि फर्किन लागेका छन् गोमन, निर्माताका रुपमा डेब्यु गर्दै गरेका बालकुमार र रुपेशसामु अनुत्तरित प्रश्न भने छ – के यिनीहरु रंगीन दुनियाँको उद्योगमा टिक्न सक्लान्?