बनेपामा ‘इन्डोर सुटिङ स्टुडियो’का लागि बोलपत्र आह्वान, वैशाखदेखि ‘रियल टाइम बक्स अफिस’

बिजमाण्डू
२०८१ माघ २७ गते १२:५५ | Feb 9, 2025
बनेपामा ‘इन्डोर सुटिङ स्टुडियो’का लागि बोलपत्र आह्वान, वैशाखदेखि ‘रियल टाइम बक्स अफिस’


काठमाडौं । चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि बोलपत्र आह्वान गरेको छ।

Tata
GBIME
NLIC

आज बोर्डले सूचना सार्वजनिक गर्दै निर्माणका लागि इच्छुक कम्पनीले आगामी ३० दिनभित्र ‘इ–बिडिङ’मार्फत आवेदन दिन सक्ने जनाएको छ।

बोर्डका अध्यक्ष दिनेश डिसीले धेरै वर्षदेखि देखिएको चलचित्रकर्मीले ‘इनडोर सुटिङ स्टुडियो’को माग गर्दै आएको र अब त्यो सपना छिट्टै पूरा हुने जानकारी दिए।

उनले भने, ‘नेपाली चलचित्र छायांकनका लागि यो नेपालीकै भव्य स्टुडियो बन्नेछ। यो परियोजनाले स्वदेशी चलचित्र उद्योगलाई अत्याधुनिक प्रविधिसहित सहज ढंगको सुटिङस्थल प्रदान गर्नेछ।’

बनेपाको ४२ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त स्टुडियो विगत केही वर्षदेखि योजनामा रहे पनि कार्यान्वयनमा जान सकेको थिएन। स्टुडियोको शिलान्यास दुई महिनाभित्रै गर्ने योजना रहेको अध्यक्ष डिसीले बताए।

‘मैले बोर्डमा अध्यक्षका रुपमा पद सम्हालेदेखि नै गरिरहेको कार्यले अहिले मूर्तरुप पाउँदै छ। स्टुडियोसँगै अहिले आवश्यक रहेको नयाँ चलचित्र नीति पनि छिट्टै पाउने छौं,’ डिसीले भने।

उनले २०८२ साल वैशाख १ गतेदेखि ‘रियल टाइम बक्स अफिस’ लागू गर्ने तयारी भइरहेको पनि जानकारी दिए। यसले चलचित्र भवनमा भएको व्यापार छिटोभन्दा छोटो चलचित्र निर्मातासम्म पुर्‍याउन सहयोग पुग्ने उनको अपेक्षा छ।