
काठमाडौं। आर्थिक शिथिलताबीच लाइफ इन्स्योरेन्स कम्पनीहरुले व्यापार बढाएका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार पुससम्म तीन वटा लघुसहित १७ वटा लाइफ इन्स्योरेन्सले ८१ अर्ब १७ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।
इन्स्योरेन्सले आर्जन गरेको प्रिमियम पोहोर दोस्रो त्रैमासको तुलनामा ९.३४ प्रतिशतले धेरै हो। कम्पनीहरुले गत वर्ष ६ महिनामा ७४ अर्ब २४ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए।
प्राधिकरणका अनुसार कम्पनीहरुले नयाँ व्यापार १६.६९ प्रतिशतले वृद्धि गरेका छन्। गत वर्ष ६ महिनामा १३ अर्ब ८१ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका इन्स्योरेन्सले यस वर्ष सोही अवधिमा १६ अर्ब १२ करोड आर्जन गरेका हुन्।
दुई आर्थिक वर्षको पहिलो ६ महिनामा लाइफ इन्स्योरेन्सले आर्जन गरेको प्रिमियम रु लाखमा
जीवन बीमा कम्पनी | २०८१/८२ | २०८०/८१ | फरक % |
नेपाल | २२४५७७.६१ | २००२३१.८४ | १२.१६ |
नेसनल | ९६०८०.८६ | ८५६७९.०० | १२.१४ |
लाइफ इन्स्योरेन्स कर्पोरेसन | ९४६००.५६ | ८६२६३.३० | ९.६६ |
हिमालयन | ८३३०८.९० | ८०९३६.२८ | २.९३ |
सूर्यज्योति | ५०६५७.३२ | ४२८३५.९८ | १८.२६ |
एसियन | ४२१८६.२१ | ३७२८८.३३ | १३.१४ |
सिटिजन | ३३८३६.०२ | २७३७६.२९ | २३.६ |
सानिमा रिलायन्स | ३२४०४.४६ | २८५५२.४९ | १३.४९ |
मेट | २८६८५.२६ | २६८६४.९६ | ६.७८ |
राष्ट्रिय जीवन बीमा कम्पनी | २७७४५.०९ | ४७५८२.०१ | -४१.६९ |
आइएमई | २४४०१.२० | २१०८५.७७ | १५.७२ |
प्रभु महालक्ष्मी | २४२७३.१७ | २०३८२.६२ | १९.०९ |
रिलायबल नेपाल | २३८५०.१३ | १९३२५.३१ | २३.४१ |
सन नेपाल | २००३१.६८ | १७८०१.९९ | १२.५२ |
६ महिनामा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीबाहेक सबैको प्रिमियम बढेको छ। कम्पनीहरुको बीमा लेख संख्या पनि बढेको छ। पोहोर पुसम्म कुल सक्रिय बीमा लेख संख्या १ करोड ३७ लाख ४१ हजार रहेकामा यस वर्ष सोही अवधिमा १ करोड ४० लाख ४१ हजार पुगेको छ।
नेपाल लाइफले सर्वाधिक २२ अर्ब ४५ करोड रुपैयाँको व्यापार गरेको छ। सन नेपालले सबैभन्दा कम २ अर्ब रुपैयाँको पोलिसी बिक्री गरेको छ।