स्वास्थ्य बीमामा सुधार गर्न कार्ययोजना बनाइँदै, मन्त्री पौडेलले गठन गरे कार्यदल

बिजमाण्डू
२०८१ माघ ७ गते १८:५१ | Jan 20, 2025
स्वास्थ्य बीमामा सुधार गर्न कार्ययोजना बनाइँदै, मन्त्री पौडेलले गठन गरे कार्यदल

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनअनुसार सुधारको योजना अघि बढाएका छन्।

Tata
GBIME

प्रतिवेदनका आधारमा तत्काल गर्न सकिने र दीर्घकालीन सुधारका लागि आन्तरिक गृहकार्य अघि बढाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

मन्त्री पौडेलले सुधारको कार्ययोजना बनाउन मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहको संयोजकत्वमा कार्यदल गठन गरेका छन्।

कार्यदलमा मन्त्रालयका गुणस्तर मापन तथा नियन्त्रण महाशाखा प्रमुख डा. सरोज शर्मा, निर्देशक डा. अनुप बास्तोला र कानुन उपसचिव गोपीकृष्ण रेग्मी सदस्य छन्। मन्त्रालयका उपसचिव शालिकराम दाहाल सदस्यसचिव तोकिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सात दिनभित्र कार्ययोजना तयार पार्न मन्त्री पौडेललाई निर्देशन दिएका थिए। प्रतिवेदनका आधारमा सुधारको योजना अगाडि बढाउन प्रधानमन्त्री ओली सहमत भएपछि मन्त्री पौडेलले कार्ययोजना तयार पार्न कार्यदल गठन गरेको उनको सचिवालयले जनाएको छ।

‘स्वास्थ्य बीमामा सुधार भए मात्र यसले राम्रोसँग नागरिकको चाहनाअनुसार सेवा सुविधा दिनसक्छ,’ मन्त्री पौडेललाई उद्यृत गर्दै उनको सचिवालयले भनेको छ, ‘प्रधानमन्त्रीज्यूले समेत सुधारका लागि सकारात्मक हौसला दिनुभएकाले हामीलाई अघि बढ्न सजिलो भएको छ।’