काठमाडौं। नेपाल पुलिस क्लब मधेश प्रदेशमाथि इनिङ्स र ३५ रनको रवाफिलो जित निकालेको छ। जय ट्रफी एलिट कप अन्तर्गत तेस्रो खेलअन्तर्गत दोस्रो दिनको खेलमा पुलिसले आफ्नो दोस्रो इनिङ्स बाँकी छँदै खेल जितेको हो।
वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा नेपाल पुलिसका कप्तान आरिफ शेखले टस जितेर फिल्डिङ रोजेका थिए। सुरुवाती ब्याटिङमा उत्रिएको मधेश प्रदेशले पहिलो इनिङ्समा १२९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पुलिसले कुशल भुर्तेलको अर्धशतकको सहायतामा २५८ रन बनायो।
पहिलो इनिङ्समा १२९ रनले पछि परेको मधेश प्रदेशको दोस्रो इनिङ्समा ब्याटिङ कोल्याप्स्ड हुन पुग्यो। ३२.२ ओभरमा मधेश अलआउट हुँदै ९४ रनमा समेटियो। अर्थात पहिलो र दोस्रो इनिङ्समा गरि मधेशले कुल २२३ रन बनायो। जवकी पुलिसले पहिलो इनिङ्समै २५८ रन बनाएको थियो।
सम्बन्धित समाचार: जय ट्रफीमा मधेशविरुद्ध नेपाल पुलिसको ४५ रनको लिड, बाग्मती भन्दा आर्मी बलियो अवस्थामा
पुलिसलाई जित दिलाउन ब्याटिङ र बलिङ दुबैमा कुशल भुर्तेलको भूमिका महत्वपूर्ण रह्यो। म्यानअफदी म्याचसमेत बनेका उनले ब्याटिङमा सर्वाधिक ६३ रन बनाउँदा बलिङमा पहिलो इनिङ्समा २ र दोस्रो इनिङ्समा ५ गरी महत्वपूर्ण ७ विकेट लिए। पुलिसका लागि कन्सिस्टेन्ट प्रदर्शन गरिरहेका गुल्सन झाले पहिलो इनिङ्समा ५ र दोस्रो इनिङ्समा ३ गरी ८ विकेट लिए।
मधेशको ब्याटिङमा मयन यादवले पहिलो इनिङ्समा ५९ र दोस्रो इनिङ्समा २२ रन बनाउँदा अन्य ब्याटरले प्रभावशाली ब्याटिङ गर्न सकेनन्। प्रतियोगिताको चौथो खेलको दोस्रो दिनको खेल जनकपुरमा जारी छ। जहाँ वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धामा छन्।
योसँगै ४० अंकसहित पुलिस शीर्षस्थानमा रहँदा २१ अंकसहित मधेश दोस्रो, १५ अंकसहित वाग्मती तेस्रो र १४ अंकसहित आर्मी चौथो स्थानमा छन्। प्रधानमन्त्री कपमा शीर्ष चारमा रहेका नेपाल पुलिस, त्रिभुवन आर्मी, वाग्मती प्रदेश र मधेश प्रदेश यो प्रतियोगितामा प्रतिस्पर्धामा छन्। प्रतियोगिताको फाइनल खेल तीन दिवसीय र बाँकी खेल दुई दिवसीय फर्म्याटमा हुँदैछ।