जय ट्रफीमा मधेशविरुद्ध नेपाल पुलिसको ४५ रनको लिड, बाग्मती भन्दा आर्मी बलियो अवस्थामा

बिजमाण्डू
२०८१ पुष २४ गते १७:२१ | Jan 8, 2025
जय ट्रफीमा मधेशविरुद्ध नेपाल पुलिसको ४५ रनको लिड, बाग्मती भन्दा आर्मी बलियो अवस्थामा
मधेश प्रदेशविरुद्ध पुलिसको ब्याटिङ। तस्बिर: क्यान

काठमाडौं। जय ट्रफी पुरुष एलिट कपको तेस्रो र चौथो खेलमा क्रमश: नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब बलियो अवस्थामा पुगेका छन्।

Tata
GBIME

चार टोली सहभागी यो प्रतियोगिताको फाइनल खेल तीन दिवसीय र अन्य खेल दुई दिवसीय फर्म्याटमा हुने गर्छ। प्रधानमन्त्री कपका शीर्ष चार टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमी प्रदेश र मधेश प्रदेश प्रतिस्पर्धामा छन्।

प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्बल तथा दोस्रो खेलमा मधेश र बागमी प्रदेश बराबरीमा रोकिएका थिए। बुधबार तेस्रो र चौथो खेल सुरु भएका हुन्।

मधेशविरुद्ध पुलिसलाई ४५ रनको लिड

बीरगंजको नारायणी रंगशालामा बुधबार सुरु भएको खेलमा नेपाल पुलिसले मधेश प्रदेशविरुद्ध ४५ रनको लिड लिएको छ।

टस हारेर फिल्डिङमा उत्रिएको मधेश उत्कृष्ट सुरुवात गरे पनि गुल्सन झाको घातक बलिङमा ४२.४ ओभरमा १२९ रनमा समेटिन पुग्यो।

अघिल्लो खेलमा शतक बनाएका मयन यादवले उत्कृष्ट ब्याटिङलाई निरन्तरता दिंदै सर्वाधिक ५९ रन बनाए। त्यस्तै, निरज यादवले २९ र अभिषेक तिवारीले अविजित १७ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ पुलिसका गुल्सनले सर्वाधिक ५, कुशल भुर्तेलले २ तथा श्रवण यादव र ललित राजवंशीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पुलिसले स्टम्प हुँदासम्म ४० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको छ। योसँगै पहिलो दिन पुलिसले ४५ रनको लिड लिएको छ।

पहिलो विकेटका लागि पुलिसका कुशल भुर्तेल र दिलिप नाथले ९६ रनको साझेदारी गरे। नेपाल प्रिमियर लिगभन्दा अघिबाटै लयमा आउन नसकेका कुशलले ६८ बलमा १० चौकाको सहायतामा ६३ रन बनाए।

ब्याटिङमा नेपाल पुलिसका कुशल भुर्तेल। तस्बिर: क्यान

अर्का ओपनर दिलिपले ४० रन बनाए। गुल्सनले १४ बलमा ३ छक्काको सहायतामा २० रन जोडे।

अमित श्रेष्ठ ३४ र कप्तान आरिफ शेख १३ रनमा अविजित हुँदै क्रिजमा रहँदा पहिलो दिनको खेल सकिएको छ।

बलिङतर्फ मधेशका कप्तान हरिशंकर शाहले २ र अभिषेक तिवारीले १ विकेट लिए।

जनकपुरमा आर्मी बलियो

जनकपुरको रामजानकी स्टेडियममा भने बागमती प्रदेशले टस जितेर त्रिभुवन आर्मीलाई ब्याटिङको निम्ता दिएको थियो।

आर्मीले निर्धारित ६० ओभरमा ५ विकेट गुमाउँदै २७६ रन बनायो। यसक्रममा ओपनर इमरान शेख र तृतराज दासले पहिलो विकेटका लागि १०३ रनको साझेदारी गरे।

बागमतीविरुद्ध आर्मीको फिल्डिङ सेटअप। तस्बिर: क्यान

इमरानले सर्वाधिक ७२ रन बनाउँदा दास ४४ रन बनाएर सन्दीप लामिछानेको बलमा एलबीडब्लु आउट हुन पुगे। त्यस्तै भीम सार्कीले ३२ र सोमपाल कामीले ७ रन बनाउँदा कप्तान विनोद भण्डारी डकआउट हुन पुगे।

बसीर अहमद ५३ र कुशल मल्ल ३५ रनमा अविजित रहे।

जवाफी ब्याटिङमा उत्रिएको बागमतीले राम्रो सुरुवात गर्न सकेन। ४.१ ओभरमै ११ रन बनाएका ओपनर आशुतोष घिरैयालाई सोमपालले बोल्डआउट गरे। अर्का ओपनर रित गौतम २१ रन बनाएर आकाश चन्दको बलमा बोल्डआउट हुन पुगे।

बागमतीका लागि शुभ कंहाकारले सर्वाधिक ३४ रन बनाउँदा उत्तम मगरले २८ रन जोडे। क्रिजमा नन्दन यादव १८ र विपिन आचार्य १ रनसहित अविजित छन्।

आर्मीले दिएको विशाल लक्ष्य पछ्याउन बिहीबार उनीहरु उत्रनेछन्। पहिलो इनिङ्समा आर्मीलाई भेट्टाउन बागमतीले १५२ रन बनाउनु पर्नेछ। बागमती १०० रनभन्दा ठूलो मार्जिनले पछि रहे आर्मीले फलोअन दिन सक्नेछ।