गार्डियनको आइपीओमा मागभन्दा १३.६५ गुणा आवेदन, १७ लाख २२ हजारको हात रित्तो हुने

बिजमाण्डू
२०८१ पुष २४ गते १७:३१ | Jan 8, 2025
गार्डियनको आइपीओमा मागभन्दा १३.६५ गुणा आवेदन, १७ लाख २२ हजारको हात रित्तो हुने

काठमाडौं। गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको आइपीओमा मागभन्दा १३.६५ गुणा आवेदन परेको छ।

Tata
GBIME

इन्स्योरेन्सले सर्वसाधारणलाई १८ लाख ४५ हजार कित्ता आइपी‌ओ बिक्री खुलाएकामा २ करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि आवेदन परेको हो।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार १९ लाख ६ हजार ८४७ आवेदनबाट २ अर्ब ५१ करोड ९० लाख ३६ हजार रुपैयाँ बराबरको आइपीओ माग भएको छ। इन्स्योरेन्सको आइपीओ १ लाख ८४ हजार ५०० आवेदकले मात्र पाउनेछन्। अर्थात १७ लाख २२ हजार ३४७ जनाको हात रित्तै हुनेछ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइतबारदेखि अंकित मूल्य १०० रुपैयाँमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर खुलाएको थियो।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीका लागि आइपीओ बिक्री गरिसकेको छ।

इन्स्योरेन्सले कूल सार्वजनिक निष्कासनको १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका श्रमिक र १ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानीकोषलाई बाँडफाँट गरिसकेको छ।

यस्तै, निष्कासनको ३ प्रतिशतले हुन आउने ६७ लाख ५० हजार बराबरको ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरिएको छ।

२०७९ मा नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स पाएको यो कम्पनीले व्यवसाय विस्तार गरिरहेको छ। कम्पनीले गत वर्ष २७ लाख ५० हजार नाफा कमाएको थियो।

चालु वर्षमा ८४ लाख १४ हजार नाफा कमाउने प्रक्षेपण गरिएको छ। कम्पनीको प्रति सेयर आम्दानी ०.२५ रुपैयाँ र प्रति सेयर नेटवर्थ १००.५९ रुपैयाँ छ।