१० महिनापछि खुल्यो आइपीओ, गार्डियन माइक्रोलाइफको १८.४५ लाख कित्ता निष्कासन

बिजमाण्डू
२०८१ पुष २१ गते ०९:५० | Jan 5, 2025
१० महिनापछि खुल्यो आइपीओ, गार्डियन माइक्रोलाइफको १८.४५ लाख कित्ता निष्कासन

काठमाडौं । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आइपीओ बिक्री खुलाएको छ। इन्स्योरेन्सले दोस्रो चरणमा सर्वसाधारणका लागि १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो।

Tata
GBIME

१० महिनापछि सर्वसाधारणका लागि आइपीओ निष्कासन भएको हो। गत वर्ष फागुनमा सर्वोत्तम सिमेन्टको आइपीओ निष्कासन पछि अन्य कुनै आइपीओ सर्वसाधारणका लागि खुला गरिएको थिएन।

लगानीकर्ताले अंकित मूल्य १०० रुपैयाँमा पुस २४ गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम १० देखि अधिकतम् १ हजार कित्ताका लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीका लागि आइपीओ बिक्री गरिसकेको छ।

इन्स्योरेन्सले कूल सार्वजनिक निष्कासनको १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका श्रमिक र १ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानीकोषलाई बाँडफाँट गरिसकेको छ।

यस्तै, निष्कासनको ३ प्रतिशतले हुन आउने ६७ लाख ५० हजार बराबरको ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ।

२०७९ सालमा नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स पाएको यो कम्पनीले व्यवसाय विस्तार गरिरहेको छ। कम्पनीले गत वर्ष २७ लाख ५० हजार नाफा कमाएको थियो। चालु वर्षमा ८४ लाख १४ हजार नाफा कमाउने प्रक्षेपण गरिएको छ।

कम्पनीको प्रति सेयर आम्दानी ०.२५ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १००.५९ रुपैयाँ छ।