निजी कम्पनीले पनि सर्वसाधारणबाट सोझै ऋण उठाउन पाउने, यस्तो बन्दैछ ‘बण्ड मार्केट’ को खाका 

सुदर्शन सापकोटा
२०८१ पुष ११ गते ०९:१२ | Dec 26, 2024
निजी कम्पनीले पनि सर्वसाधारणबाट सोझै ऋण उठाउन पाउने, यस्तो बन्दैछ ‘बण्ड मार्केट’ को खाका 


काठमाडौं। देशकै व्यस्त ‘कर्पोरेट लयर’ हुन् अनुपराज उप्रेती। उनी देश विदेशका कर प्रणाली होस् या कम्पनी कानुन अध्ययन, वैदेशिक लगानी होस् या नीति निर्माण तर्जुमा गर्न दिनको १८ घण्टा सक्रिय हुन्छन्।

Tata
GBIME
NLIC

‘नेपालको वित्तीय बजार अब ठूलो फड्को मार्ने तयारीमा छ,’ उनले बिजमाण्डूसँग भने, ‘र यो फड्को बण्ड बजारको विकासबाट सुरु हुनेछ।’

नेपालले ‘भाइब्रेन्ट बण्ड मार्केट’ को कुरा गरेको धेरै भयो। जब-जब अर्थतन्त्रसँगै पुँजी बजार कमजोर हुन थाल्छ लगानीको नयाँ प्ल्याटफर्मका रुपमा बण्ड मार्केटका बारेमा अर्थशास्त्रीदेखि नीति निर्मातासम्मले सार्वजनिक बहस सुरु गर्छन्।

पायोनियर ल एशोसियट्सका म्यानेजिङ पार्टनर अनुपले परम्परागत बैंकिङ प्रणालीमा मात्र सीमित रहेको नेपालको वित्तीय क्षेत्र अब भाइब्रेन्ट बण्ड मार्केटको विकासले नयाँ आर्थिक युगमा प्रवेश गर्ने कुरा यत्तिकै गरेका होइनन्।

आगामी वर्षहरूमा दर्जनौं ठूला पूर्वाधार परियोजनाहरूले बण्ड मार्फत पुँजी उठाउन सक्नेछन्। यसले परियोजना वित्तीयकरणको पूरै परिदृश्य नै बदल्नेछ।

अनुपराज उप्रेती

पुँजीबजारलाई फराकिलो र गहिरो बनाउनुका साथै लगानीकर्तालाई लगानीका नयाँ-नयाँ विकल्पहरू दिने गरी सरकारले काम गरिरहेको छ। यो काममा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा अनुपले पनि सक्दो योगदान गरिरहेका छन्।

‘आगामी वर्षहरूमा दर्जनौं ठूला पूर्वाधार परियोजनाहरूले बण्ड मार्फत पुँजी उठाउन सक्नेछन्,’ अनुप भन्छन्, ‘यसले परियोजना वित्तीयकरणको पूरै परिदृश्य नै बदल्नेछ।’

पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई सेयरसँगै ऋणमा पनि लगानी गर्ने विकल्प दिने गरी नयाँ नियमावलीको मस्यौदा तयार पारेको छ। विश्व बैंक लगायतको सहयोगमा बोर्डले तयार पारेको मस्यौदामा सरोकारवालाहरूसँग छलफल सुरु भइसकेको छ।

‘सरोकारवालाहरूसँग पनि कुरा गरिरहेका छौं र आन्तरिक छलफलबाट पनि परिस्कृत गरिरहेका छौं,’ बोर्डका एक उच्च अधिकारीले बिजमाण्डूलाई भने, ‘हामीले अन्तिम रुप दिएपछि अर्थमन्त्रालयमा बुझाउँछौं। त्यहाँबाट पारित भएर आएपछि नेपालमा औपचारिक रुपमा बण्ड मार्केट सुरुवात हुने छ।’

अहिले पनि नेपालमा सरकार र बैंक तथा वित्तीय संस्थाहरूले ऋणपत्र जारी गरिरहेका छन्। सरकारले खर्च गर्नका लागि र बैंकहरुले पुँजी कोष पुर्‍याउन मात्र ऋणपत्र जारी गरिरहेका छन्।

कम्पनीहरूले जारी गर्ने ऋणपत्र फरक हुने छ। कम्पनीहरूलाई ठूला परियोजनाहरूमा लगानी जुटाउन बैंक कर्जामा मात्र निर्भर नभइ ऋणपत्र (बण्ड) जारी गरेर पनि पैसा उठाउने विकल्प दिइन लागेको हो।

अहिले कुनै कम्पनीले परियोजना अगाडि बढाउनु पर्दा ७० देखि ७५ प्रतिशत बैंक कर्जा लिन्छन्। बाँकी स्वपुँजी हाल्नु पर्छ। यसरी लिइएको ऋण बैंकहरूको आधार दरभन्दा माथि पर्छ, जुन महँगो हुन सक्छ। त्यही पैसा उनीहरूले सोझै सर्वसाधारणबाट ऋणका रुपमा उठाएर प्रयोग गर्न पाउँछन्।

अहिले कम्पनीहरूले सेयरका रुपमा सर्वसाधारणबाट पैसा उठाइरहेका छन्। अब त्यो विकल्पमा जानै पर्छ भन्ने हुँदैन। निश्चित समयका लागि ऋणपत्र जारी गर्ने। लगानीकर्तालाई निश्चित अवधिमा ब्याज भुक्तानी गर्ने र परिपक्व समयपछि मूलधन फिर्ता गर्न सक्छन्। त्यसो हुँदा प्रवर्धकहरूले दीर्घकालसम्म कसैलाई सेयरधनी बनाएर प्रतिफल बाँडिरहनु पर्दैन।

छिमेकी भारतमा पछिल्ला दिनमा बण्ड बजारको विस्तार भएर गएको छ। भारतमा कर्पोरेट र हरित बण्डको विस्तारले  पुँजी बजारलाई निकै गतिशील बनाएको छ।

नवीकरणीय ऊर्जा र पूर्वाधार परियोजनाहरूको विकासबाट बण्ड बजारले अर्थतन्त्रमा नयाँ गतिशीलता ल्याएको त्यहाँका सञ्चारमाध्यमहरूले उल्लेखसमेत गरेका छन्।

‘नेपालको सन्दर्भमा बण्ड बजारलाई सुधार र विस्तार गरेर जलविद्युत्, पूर्वाधार विकास र ठूला परियोजनाहरूमा लगानीका लागि परिचालन गर्न सकिन्छ,’ बोर्डले तयार पारेको मस्यौदामा प्राविधिक सहयोग गरेका एक अधिवक्ताले भने, ‘यसले पुँजी बजारलाई मात्रै नभई समग्र अर्थतन्त्रलाई पनि उचाइमा पुर्‍याउँछ।’

कस्तो हुन्छ बण्ड मार्केट?

विभिन्न सर्त र विकल्पसहित कम्पनीहरूले सर्वसाधारणबाट ऋणका रुपमा पुँजी जुटाउने छन्। अहिले सरकारले वा बैंकहरूले जारी गरेजस्तै सामान्य सर्तको ऋणपत्र पनि हुने छ। र विशेष प्रकार र सर्त भएको पनि हुने छ।

ती ऋणपत्रहरू निश्चित व्यक्ति वा समूहलाई मात्र पनि बिक्री गर्न सकिने छ भने अधिकांश अवस्थामा आम सर्वसाधारणलाई पनि बिक्री गरिने छ।

बोर्डले सरकारीसँगै कम्पनीहरूले पुँजी जुटाउन जारी गर्ने कर्पोरेट बण्डदेखि परियोजना बण्डसम्मका व्यवस्था गर्न लागेको छ। ठूला निर्माण परियोजना, ऊर्जा उत्पादन या पूर्वाधार विकासका लागि परियोजना बण्ड जारी गर्ने बाटो खुल्ने छ। यससँगै हरित बण्डको पनि बाटो खोलिने छ। वातावरणमैत्री परियोजनाहरूको लागि जारी गरिन्छ। खासगरी सौर्य ऊर्जा, हावाबाट बिजुली उत्पादन, फोहोर व्यवस्थापनका लागि यी बण्ड जारी हुने छन्।

रूपान्तरणीय बण्ड (कन्भर्टिबल) पनि जारी गर्ने बाटो खोलिने छ। यो बण्डधारकले बण्डलाई कम्पनीको शेयरमा परिवर्तन गर्न सक्ने अधिकार पाउँछन्।

बण्ड बजारमा कानुनी मान्यताप्राप्त र राज्यले प्राथमिकीकरण गरेको जुनसुकै कम्पनी आउन सक्छन्। उनीहरूले ऋणपत्रको परिपक्वता अवधि, ब्याज दर र अन्य सर्तहरू तोक्छन्। बण्ड प्राथमिक बजारमा जारी हुन्छ।

बोर्डको योजना अनुसार, आम सर्वसाधारण र प्राइभेट प्लेसमेन्टमा ऋणपत्र बिक्री गरिने छ। प्राइभेट प्लेसमेन्टमा बढीमा ५० जनासम्मलाई बिक्री गर्न सकिने योजना छ।

लगानीकर्ताहरूले परिपक्वता अवधि पूरा हुनुभन्दा पहिले पनि बण्ड बेच्न वा किन्न सक्छन्। त्यसका लागि दोस्रो बजारमा पनि यसलाई सूचीकरण गरिन्छ। यद्यपि कतिपय बण्ड सूचीकरण नगर्न पनि सकिन्छ।

‘अहिले नै धेरै कुराले अन्तिम रुप पाइसकेको छैन,’ बोर्डका एक अधिकारीले भने।