
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले साना, मझौला र अन्य सबै खाले व्यवसायलाई सहयोग पुर्याउने उद्देश्यले ‘व्यवसाय विकास सेवा’ (बिडिएस)–सम्बन्धी दुईवटा सम्झौतामा हस्ताक्षर गरेको छ।
महासंघले शुक्रबार विराटनगरमा आध्यान्त फन्ड मेनेजमेन्ट र उपाय बिजनेस सोलुसनसँग एउटा तथा आध्यान्त फन्ड र डाइनो टेक प्रा.लि.सँग बेग्ला–बेग्लै सम्झौता गरेको हो।
सम्झौतापत्रमा महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत, आध्यान्त फन्डका कार्यक्रम तथा साझेदारी प्रमुख निश्चलसिंह भण्डारी, उपाय बिजनसेका प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठ र डाइनोटेकका अध्यक्ष प्रदीप सिग्देलले हस्ताक्षर गरेका थिए।
कार्यक्रममा अध्यक्ष राउतले कोशी प्रदेशमा १२ हजार २२५ उद्योग प्रतिष्ठान संचालनमा रहेको र तिनमा ७३ हजार ९१८ जनाले रोजगारी पाएको तथ्यांक प्रस्तुत गरेका गिए। राउतले उक्त तथ्यांक औपचारिक रूपमा संचालनमा रहेका उद्योग, प्रतिष्ठानको भएको उल्लेख गर्दै अनौपचारिक रूपमा यस्ता धेरै उद्योग संचालनमा रहेको बताएका थिए।
उनले यसरी अनौपचारिक रूपमा संचालित व्यवसाय र उद्योग प्रतिष्ठानलाई औपचारिक रूपमा संचालनमा ल्याउन चुनौती भइरहेका बेला व्यवसाय विकास सेवाले महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
भण्डारीले आध्यान्तले महासंघ कोशीसँग दुई वर्षदेखि सहकार्य गरिरहेको र अबका दिनमा बिडिएस मार्फत् सेवा केन्द्र स्थापना गरेर काम अघि बढाउने जानकारी दिए। उनले व्यवसाय संचालन, ऋण लिनेदेखि अन्य प्रक्रियामा उद्योग तथा व्यवसायलाई सहयोग पुर्याउन यो कार्यक्रम महत्वपूर्ण रहेको बताए। यस्तै, यस सेवाबाट आगामी तीन वर्षमा एक हजारभन्दा बढी व्यवसायीलाई सहयोग गर्ने लक्ष्य राखिएको उनले बताएका थिए।
उदय परियोजनाका विष्णु काफ्लेले उद्योगीले ब्यहोर्नु परेका समस्या समाधान गर्न बिडिएस सुरु हुन लागेको र यसबाट धेरैभन्दा धेरै उद्योगी–व्यवसायीले लाभ लिनसक्ने धारणा व्यक्त गरेका थिए।
सहज परियोजनाका टिम लिडर रिमा श्रेष्ठले नेपालको विकास गर्न साना तथा मझौला उद्योगको संरक्षण र विकासलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिएकी थिइन्।।
उपाय परियोजनाका सिइओ शोभा श्रेष्ठले व्यावसायिक व्यक्ति, साना र मझौला उद्योग एवम् व्यापार संगठनका आवश्यकता सम्बोधन गर्न बिडिएस कार्यक्रम प्रभावकारी रहेको विचार राखेकी थिइन्।
महासंघ कोशीका कार्यकारी निर्देशक राधारमण भण्डारी (साम)ले हस्ताक्षर गरिएका सम्झौतापत्र एकअर्को संस्थाबिच आदानप्रदान गरिएको बताएका थिए।