काठमाडौं। नेपाल विद्युत् प्राधिकरणमा अधिकृत र सहायकस्तर गरी १ हजार ३३ जनाका लागि रोजगारी खुलेको छ। प्राधिकरणले शुक्रबार विभिन्न समूहका तह ७ देखि १० सम्मका अधिकृतस्तरमा १९५ जना र विभिन्न समूहका ५ तह सहायकस्तरमा ८३८ जनाका लागि आवेदन माग गरेको हो।
दरखास्त दिने अन्तिम दिन आगामी पुस २५ गते रहेको छ। दोब्बर दस्तुर तिरेर माघ ३ गतेसम्म आवेदन दिन सकिनेछ।
अधिकृतस्तर तह ८ वा त्यसभन्दा माथिल्लो पदका लागि दरखास्त दिने अन्तिम मितिसम्म्मा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। तह ७ को पदमा आवेदन दिन चाहनेको उमेर २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला र अपांगता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।
यस्तै, सहायक स्तर तह ५ मा १८ वर्ष पूरा भई ३५ ननाघेको हुनुपर्नेछ। महिला र अपांगता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ। प्राधिकरणमा कार्यरत स्थायी कर्मचारीलाई भने उमेरको हद लाग्ने छैन।
अधिकृतस्तरमा सबैभन्दा बढी अर्थात ६२ जना ७ तहको इलेक्ट्रिकल इन्जिनियरमा माग गरिएको छ। इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तह उत्तिर्णले दरखास्त दिन सक्नेछन्। प्रशासनतर्फ ७ तहको प्रशासकीय अधिकृतमा ३८ जना माग गरिएको छ।
कुन कुन पदमा खुल्यो आवेदन ?
७ तहको लेखा अधिकृतमा ३१ जना माग गरिएको छ। प्राविधिकतर्फ ७ तहको कम्प्युटर इन्जिनियर २१ जना माग गरिएको छ। सिभिल इन्जिनियर ९ जना माग गरिएको छ भने ८ जना सहायक प्रबन्धक इलेक्ट्रिकल माग गरिएको छ।
यस्तै, प्रशासनतर्फ ८ जना चार्टर्ड एकाउन्टेन्ट माग गरिएको छ। प्राविधिकतर्फ तह १० प्रबन्धक इलेक्ट्रिकल समूह, प्रशासनतर्फ तह ८ सहायक निर्देशक, लेखातर्फ ८ तह सहायक निर्देशक १-१ जना माग गरिएको छ। प्राविधिकतर्फ तह ७ सर्भे इन्जिनियर, तह ७ वातावरणविद् र तह ७ जियालोजिस्ट २-२ जना माग गरिएको छ।
मिटररिडिङ सुपरभाइजरमा ४१ जना माग गरिएको छ। कोशी प्रदेशमा १२, मधेशमा १६, गण्डकीमा ५, कर्णालीमा ३ र सुदूपश्चिममा ५ जना माग गरिएको छ। यस्तै ३९ जना लेखापालको लागि आवेदन खुलेको छ। कोशीमा ७, मधेशमा १३, लुम्बिनीमा ८ र सुदूरपश्चिममा ६ जना लेखापाल माग गरिएको छ।
इलेक्ट्रिकल सुपरभाइजरतर्फ ७४० जना माग गरिएको छ। कोशी प्रदेशमा १४०, मधेशमा ९५, बागमतीमा १२०, गण्डकीमा ८४, लुम्बिनीमा १४०, कर्णालीमा ७० र सुदूरपश्चिममा ९१ जना माग गरिएको हो। यस्तै, मेकानिलकल सुपरभाइजरमा १९ जनाको लागि आवेदन खुलेको छ।
यससँगै सिभिल सुपरभाइजर ३ जना माग गरिएको छ। सिभिलतर्फ सुदूरपश्चिम प्रदेशमा २ र सर्भेतर्फ बागमती प्रदेशमा १ जना माग गरिएको हो।