काठमाडौं। असोज दोस्रो साता आएको बाढीले १२ सयभन्दा बढी सवारीसाधन डुबानमा परे। ती डुबानमा परेका धेरै सवारी साधन कामै नलाग्ने भए। कामै नलाग्ने हुँदा सवारीधनीले पूरै क्षतिपूर्ति पाए त?
अन्य देशमा जस्तै नेपालमा पनि यसरी आइपर्ने समस्याको क्षतिपूर्ति बेहोर्नका लागि बीमा कम्पनीहरू छन्। जसले जीवन तथा निर्जीवन बीमामा काम गर्छ। अहिले प्रायः सबैले बीमा गर्ने चलन छ।
नेपालको निर्जीवन बीमामध्ये करिब ३३ प्रतिशत मोटर बीमाको हिस्सा छ। यो वर्ष अपार्टमेन्टदेखि धेरै संख्यामा सवारीसाधनहरू पनि डुबानमा परे। जसले गर्दा कतिपय सवारीसाधनहरू ड्यामेज भएका छन्। यसरी ड्यामेज भएका सवारीसाधनको सेग्मेन्ट अनुसार मर्मतको लागि खर्च आउने हुन्छ।
उक्त मर्मत गर्न लाग्ने खर्च बीमा कम्पनीले तिरिदिन्छ। तर सवारीधनीले बीमा भने गरेको हुनुपर्ने छ। त्यसका लागि पनि नेपालमा भएका बीमा कम्पनीहरूले विभिन्न प्रोडक्ट र योजनाहरू ल्याउने गरेका छन्। त्यही अनुसार आफ्नो गाडीको मर्मत खर्च कतिसम्म बीमा कम्पनीले बेहोर्छन् भनेर बीमा पोलिसी अनुसार थाहा हुन्छ।
त्यसमा सवारीसाधन बीमाका लागि एउटा ‘भेहिकल बीमा’ र अर्को ‘अटो प्लस’ बीमा छन्। जसमा भेहिकल बीमा धेरै पहिलेदेखि नै थियो भने निर्जीवन बीमा कम्पनीहरूले अटो प्लस बीमा योजनाको सुरुवात गरेको केही वर्ष मात्रै भएको छ।
‘अटो प्लस’ नामको बीमा प्रडक्ट र पोलिसी हो। जसलाई लिने ग्राहकहरूले आफ्नो सवारीसाधानको सबै प्रकारको सबै क्षति कभर पाउने छन्। तर ‘भेहिकल बीमा’ले सबै कभर गर्दैन। निश्चित प्रतिशत मात्रै कभर हुन्छ। अझ इभीको हकमा अटो प्लस राम्रो बीमा पोलिसी हो। जसले ब्याट्री फुल कष्ट बेहोर्ने हुन्छ।
‘मोटर ट्यारिफ डाइरेक्टिभ, २०७१’ बमोजिम ‘मोटर भेहिकल बीमा’अन्तर्गत सबै प्रकारका सवारी साधन हाल बीमा गरिएको छ।
कस्तो बीमा लिने?
नेपालमा अहिले तेस्रो पक्ष बीमा नीति र दोस्रो व्यापक बीमा नीति गरी दुई प्रकारका सवारीसाधन बीमा परिचालित छन्। त्यही प्रकारको बीमाभित्र रहेर बीमा कम्पनीहरूले बीमा पोलिसी र प्रोडक्ट ल्याउने गरेका छन्।
त्यही अनुसार सरकारले तेस्रो पक्ष बीमा मात्रै गरेका सवारीसाधन नवीकरण गर्न दिने गरेको छ। यो नेपालमा अनिवार्य गरिएको छ। तेस्रो पक्ष बीमामा कुनै पनि सवारीसाधन दुर्घटनामा पर्दा प्यासेन्जरलाई हानी नोक्सानी हुँदा बीमा कम्पनीले क्षतिपूर्ति दिने व्यवस्था हुन्छ। जुन प्रायः दुई पाङ्ग्रे सवारी धनीहरूले गर्ने गरेका छन्। यसमा बाइक र आफूलाई केही भएमा बीमा कम्पनीहरूले कभर गर्ने व्यवस्था हुँदैन।
सवारीसाधनको आंशिक नोक्सान दाबीमा सिसाबाट बनाइएको पार्ट्स बाहेक सबै भागहरूमा मूल्यह्रासका कारण केही रकम कटौती गरिन्छ। यस प्रयोजनका लागि रबर, टायर, ट्युब, बत्तीका लागि ५० प्रतिशत, फाइबर ग्लासबाट बनेका पार्टपुर्जाहरूमा ३० प्रतिशत र अन्य मेकानिकल पार्टपुर्जाहरूका लागि उमेर अनुसार ५० प्रतिशतसम्म मूल्यह्रास दर निर्धारण गरिएको हुन्छ। मूल्यह्रासको कारणले दाबी रकमको महत्त्वपूर्ण कटौती हुन सक्छ र सवारी साधनको मर्मत खर्च सवारी धनीहरूले व्यहोर्नुपर्ने हुन्छ।
गाडी हराए वा चोरी भएमा, दावी भुक्तानी गाडीको बीमा रकमसम्म हुनेछ। सवारीसाधन बीमाका गर्नका लागि बीमा रकमको आधार भनेको सामान, ब्रान्ड, नयाँ गाडीको मूल्य, उमेर अनुसार कम मूल्यह्रास हो। कुल घाटा दाबीमा सवारी मालिकले नयाँ गाडी खरिद गर्दा महत्त्वपूर्ण रकम बहन गर्नुपर्छ।
व्यापक बीमाअन्तर्गत भने सवारी साधन चोरी भएमा, कतै ठोक्किएर सवारी साधनमा क्षति भएमा, आगजनी भएमा वा अन्य कुनै कारणले क्षति भएमा समेत क्षतिपूर्ति पाउन सकिन्छ। यस कारण बाढी, पहिरो लगायतका प्रकोपबाट इभी वा कुनै पनि सवारी साधनमा पुगेको क्षतिलाई समेट्न सवारीधनीले व्यापक बीमा नीति लिएको हुनुपर्छ।
अटो प्लस बीमाको फाइदा
मूल्यह्रास छूट- कम्प्रिहेन्सिभ मोटर भेहिकल इन्स्योरेन्सअन्तर्गत पार्टपुर्जा परिवर्तनको हकमा सर्भेयरको नोक्सान मूल्याङ्कन प्रतिवेदन अनुसार पार्टपुर्जा प्रतिस्थापन गर्दा मूल्यह्रासको रकम भुक्तानी गरिनेछ। दावी आवश्यक मानिने स्पेयर पार्ट्सहरूको लागि मात्रै भुक्तानी गरिनेछ।
नयाँ सवारी साधन प्रतिस्थापन- सवारी साधनमा क्षति भई पार्टपुर्जा फेर्नुपर्ने अवस्थामा सर्भेयरको प्रतिवेदन वा क्षतिको मूल्याङ्कन अनुसार भएको ह्रासकट्टीको रकम मात्र कम्पनीले भुक्तानी दिन्छ। यस्तै, अटो प्लस बीमा गर्दा सवारी साधन पुनर्स्थापना अन्तर्गत सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँछ।
दैनिक भाडा/ ट्रान्सपोर्टेसन लागत- कम्प्रिहेन्सिभ मोटर भेहिकल इन्स्योरेन्स अन्तर्गत बीमित सवारी साधनको हानी वा नोक्सान भएमा नीतिमा उल्लेख भएबमोजिम दैनिक भाडा/ढुवानी लागत बीमा कम्पनीले भुक्तानी गर्ने हुन्छ। धेरै क्षति दाबीको मामलामा अधिकतम ३० दिन र आंशिक क्षतिको दाबीको मामलामा अधिकतम १४ दिनको दैनिक भाडा तथा ट्रान्सपोर्टेसन कस्ट बीमा कम्पनीले बेहोर्ने हुन्छ। तर यो कष्ट दुई पाङ्ग्रे र चारपाङ्ग्रेको फरक-फरक हुनेछन्।
इभीको हकमा भने यो पोलिसीले ब्याट्री ड्यामेज भएमा ब्याट्री फेर्न बीमाले कभर गर्छ। सामान्य भेहिकल बीमाले ब्याट्रीको ५० प्रतिशत मात्रै कभर गर्छ भने यसले पूर्ण ब्याट्री परिवर्तन गर्न पनि खर्च बेहोर्छ।
‘अटो प्लस’ बीमामा बीमितले प्रत्येक लाभका लागि ०.१० प्रतिशतदेखि ०.५१ प्रतिशतसम्मको बीमा शुल्क भुक्तानी गर्नुपर्छ।
कसले पाउछन् अटो प्लस बीमा?
यो बीमा निजी चार पाङ्ग्रे (कार, जिप) र २ पाङ्ग्रे (मोटरसाइकल, स्कुटर) का लागि मात्र उपलब्ध छ। यो बीमा १० वर्षसम्मका सवारी साधनका लागि उपलब्ध छ। नेपालमा दर्ताको मितिदेखि गाडीको उमेर गणना हुन्छ।
यो बीमा मोटर भेहिकल बीमाअन्तर्गत व्यापक कभरसहितको बीमा गरिएको सवारीलाई मात्र दिइन्छ। कुनै पनि एक वा बढी अतिरिक्त लाभहरू बीमा गर्न सकिन्छ, जसमा प्रत्येक लाभका लागि छुट्टै प्रिमियम आवश्यक हुनेछ। यी अतिरिक्त लाभहरूको बीमाका लागि प्रिमियम व्यापक मोटर भेहिकल बीमामा थप प्रिमियम आवश्यक पर्छ।
कसरी गर्ने बीमा दाबी?
बीमा कम्पनीहरूका अनुसार डुबानले क्षति पुर्याएका सबै सवारी साधनको बीमा दाबी गर्नुपर्ने अवस्था सुरुमा सवारीधनीले आफूले बीमा गरेको कम्पनीको शाखामा गई फोटोसहित निवेदन दिँदा राम्रो हुन्छ। साथै फोनबाट पनि बीमा कम्पनीलाई आफ्नो सवारीसाधनको स्थितिबारे जानकारी गराउन सकिन्छ।
अर्को भनेको प्रहरी रिपोर्ट पनि आवश्यक पर्छ। आफू नजिकैको प्रहरी चौकीबाट आफ्नो गाडी कसरी क्षति भएको सबै कुरा खुलाएर प्रहरीको पत्रका आधारमा मात्रै बीमा दाबीका लागि प्रक्रिया अगाडि बढाउन सकिन्छ।
त्यही निवेदनको आधारमा बीमा कम्पनीले क्षतिपूर्ति दाबी फारम (क्लेम फर्म) भर्न लगाउँछ। उक्त फारममा बीमा पोलिसीमा भए अनुसारको सवारीसाधनको विस्तृत विवरण राख्नुपर्छ।
त्यसपछि बीमा कम्पनीले आफ्नो कम्पनीबाट फिल्डमा सर्भेयर पठाउँछ। त्यही आधारमा सावरीसाधनमा कति के-के क्षति पुग्यो भन्ने पूर्व ‘कोटेसन’ तयार पार्छ।
त्यसपछि दोस्रोमा सर्भिस सेन्टरले गाडीको कुन-कुन भागमा कति क्षति पुग्यो र सोको मर्मत गर्न कति खर्च लाग्छ भन्ने विवरणसहित कोटेसन तयार पार्छ। यसलाई आधार मानेर बीमा कम्पनीहरूले बीमा दाबीको प्रक्रिया अगाडि बढाउँछन्। यसरी गाडी मर्मत गर्दा खर्च भएको रकम बीमा कम्पनीले ग्राहकलाई दिने गर्छ।