काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्दको बहानामा हवाई भाडा अस्वाभाविक रुपमा बढाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण आक्रामक बनेको छ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले शनिबार पर्यटन, श्रम मन्त्रालयका प्रतिनिधि राखेर अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधि बोलाएर हवाई भाडा पुरानै दरमा लागु नगरे उडान बन्द गर्ने चेतावनी दिएका छन्। उनले धेरै भाडा लिने कतारका प्रतिनिधिलाई तत्काल भाडा नघटाए उडाननै बन्द गर्ने चेतावनी दिए।
छलफलमा नेपालमा उडान गरेर मनग्गे आम्दानी गरिरहेका हवाई कम्पनीले विमानस्थल स्तरोन्नति गर्न खोज्दा उल्टै नेपाली नागरिकलाई अचाक्ली भाडा लिएर अन्याय गरेको उनले स्पष्ट भाषामा भनेका थिए। छलफलले भाडादर घटाउन केही महत्त्वपूर्ण निर्णय समेत गरेको छ। त्यो निर्णयमा नेपाल उडान गर्ने सबै वायुसेवा कम्पनीले सहमति जनाएर हस्ताक्षर गरेका छन्।
टु बी एड्भाइस अर्थात ‘टीबीए’ ट्राभल एजेन्सीले टिकट बिक्रीका लागि वायुसेवासँग अग्रिम होल्ड गर्न नपाउने, वायुसेवा कम्पनीले भाडाको मूल्य तोक्ने र सार्वजनिक गर्नुपर्ने निर्णय प्राधिकरणले गराएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सीवे निर्माणका लागि दैनिक १० घण्टा विमानस्थल बन्द भएको अवस्थामा हवाई टिकटको उपलब्धता एवं सहज र सुलभ हवाई यातायात संचालनका विषयमा पाँच बुँदामा निर्णय भएको प्राधिकरणले जनाएको हो।
यस्ता छन् निर्णय
१. सम्पूर्ण वायुसेवा संचालकहरुले ट्राभल एजेन्सीहरुलाई पछि टिकट बिक्री गर्ने गरी एकमुष्ट रुपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था (टीबीए) खारेज गर्ने र सम्पूर्ण वायुसेवा कम्पनीहरुले यसको अनिवार्य पालना गर्ने।
२. सबै वायुसेवा संचालकहरुले द्विपक्षीय हवाई सेवा सम्झौताको प्राइसिङ शीर्षकमा उल्लेख भएअनुसार ‘उपभोक्तालाई मर्का पर्ने गरी अनुचित हवाई भाडा असुल गर्न नहुने’ प्रावधानको पूर्णतः पालना गर्नुपर्ने।
३. सबै वायुसेवा संचालकहरुले उडान वृत्त वमोजिमको हवाई भाडा सूची तोक्ने तथा सार्वजनिक गर्नुपर्ने। ट्राभल एजेन्सीहरुसँग टिकट बिक्रीको सम्झौता गर्दा निश्चित संख्या मात्र बिक्री गर्न सकिने र तोकिएको परिधिमा रही मात्र सेवा शुल्क लिने गरी व्यवस्था मिलाउने जिम्मेवारी वायुसेवा संचालकको हुनेछ।
४. तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्ने जिम्मेवारी वायुसेवा संचालकको हुनेछ। वायुसेवा संचालकहरुले उपभोक्ता अधिकार सुनिश्चित हुने गरी कार्य गर्नुपर्ने।
गुनासो सुन्ने अधिकारी व्यवस्था
शनिबारको बैठकमा भएको निर्णय कार्यान्वयन भए नभएको हेर्न प्राधिकरणले गुनासो सुन्ने अधिकारीको व्यवस्था गरेको छ। बैठकको निर्णयमा भनिएको छ- ‘माथि उल्लेखित प्रावधानहरुको पालनाका सम्बन्धमा कुनै गुनासो भएमा नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयमा वा प्राधिकरणका वरिष्ठ अधिकृत विष्णुप्रसाद पौडेल (मोबाइल नं. ९८४२१७०७२९) सँग सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।’
‘४ वटा उडान गर्ने वायुसेवाको एउटा उडान कटौती गर्दा एकैपटक कसरी र किन ४ गुणाले हवाई भाडा वृद्धि गराइयो?’ प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने,’नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सको उडान यथावतै छ। यो अवस्थामा पनि हवाई भाडादर बढ्नु गम्भीर विषय हो। त्यसै कारण आज अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिलाई आकस्मिक बैठक बोलाएका हौं।’
टीआइएको ट्याक्सीवे स्तरोन्नति गर्नका लागि १० घण्टा विमानस्थल सेवा बन्द हुने सूचना प्राधिकरणले ५ महिना अगाडि नै जारी गरेको थियो। टीआइएमा उडान-अवतरणको समय घट्दा असर पर्न नदिन वायुसेवाहरुका लागि भैरहवा र पोखराबाट गर्नका लागि विशेष छुटसहितको विकल्प दिइएको थियो। अहिले उडान कटौती भएर भाडादर महँगिएको तर्क राख्दै वायुसेवा कम्पनीहरुले यात्रुलाई मर्का पार्ने काम गरेका छन्।
हवाई भाडावृद्धि भएको विषयमा शुक्रबार वैदेशिक रोजगार व्यवसायीले परराष्ट्रमन्त्री आरजु राणा, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डे र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई शुक्रबार ज्ञापनपत्र पनि बुझाएका थिए।
टीबीएको अभ्यासले यात्रुलाई मर्का
टु बी एड्भाइस अर्थात ‘टीबीए’ ट्राभल एजेन्सीले टिकट बिक्रीका लागि वायुसेवासँग अग्रिम होल्ड गर्ने अभ्यास हो। अन्तर्राष्ट्रिय वायुसेवाको उडान तालिका महिनौ अगाडि नै ट्राभल एजेन्सीले एउटा मूल्य तोकेर एकमुस्ट टिकट खरिद गरेका हुन्छन्।
उडान मिति नजिकिएसँगै टिकटको मूल्य मागअनुसार माथि पुगेपछि ट्राभल एजेन्सीले बिक्रीमा राख्दै आएका छन्। ‘उदाहरणका लागि आजको १० दिन पछि हुने उडानको टिकट आजै लिइन्छ। जस्तै आज प्रति सिट ४० हजारमा लिइएको हुन्छ। २४ घण्टा अगाडि टिकट बिक्री गर्दा त्यतिखेर भाडादर बढ्यो भने नाफा हुन्छ,’ स्रोतले भन्यो,’घट्यो भने घाटा हुन्छ। यो जुवा जस्तै हो।’
‘अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी भन्दैमा नेपालमा मनपरी गर्न पाइँदैन’
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी कठोर रुपमा प्रस्तुत भएका छन्। अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिलाई उनले प्राधिकरण मुख्यालयमा बोलाइएको बैठकमा महँगो हवाई भाडादर लागू गरे कार्बाही गर्ने चेतावनी दिए।
‘अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हो भन्दैमा नेपाल राज्यमा मनपरी गर्न पाइँदैन। सामान्य अवस्थामा जस्तै भाडादर कायम भएन भने कार्बाही हुन्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय वायुसेवालाई रहरले भैरहवा र पोखरा पठाइएको होइन, बाध्यता भएर हो।’ प्राधिकरणले अन्तर्राष्ट्रियतर्फ कुल ८ वटा उडान मात्रै कटौती गरेको उनले बताए।
महानिर्देशक अधिकारीले दैनिक ४-४ वटा उडान गर्दै आएका कतार, एयर इण्डिगो, एयर इण्डिया, फ्लाइ दुबइको १-१ वटा उडान मात्र घटाएको जानकारी दिए। नेपाल वायुसेवा निगम राष्ट्रिय ध्वजावाहक भएका कारण उडना संख्या यथावत राख्दा पनि भाडादर महँगिनु अस्वाभाविक रहेको तर्क गरे। ‘उडान संख्या कुल ८ वटा मात्र भएको छ। नेपाल वायुसेवा निगमको उडान कटौती गरिएको छैन। तर पनि भाडादार आकासिएको छ। ६ गुणासम्म भाडादर वृद्धि गर्ने यो कालाबजारी हो,’ वायुसेवा कम्पनी प्रतिनिधिसँगको बैठकमा उनले भने,’कतारले ४ वटा उडानमार्फत १२ सय वटा टिकट काट्थ्यो। अब ३ वटा आएपछि ९ सय जनाको टिकट बिक्री गर्नुपर्यो।
कतार एयरवेजलाई चेतावनी : सामान्य भाडादर लागू नगर्ने हो भने उडान बन्द गर्नु
दोहा-बाकु टिकट ३ लाख ६४ हजार रुपैयाँमा बिक्री गर्नुको कारण सोध्दा बैठकमा नेपालका लागि कतार एयरवेजका कमर्सियल म्यानेजर सारिक बोगटीले एउटै उडान हुँदा महँगो हुन पुगेको बताएका छन्। तर यही रुटमा इण्डिगोले ७६ हजार रुपैयाँ भाडादर लागू गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्रष्ट पारेका छन्।
बोगटीले यही नै कतारको हाइफेयर रहेको र राष्ट्रपतिलाई पनि यही भाडादर लागू हुने बताएका छन्।
‘कतार ठूलो वायुसेवा कम्पनी हो। यसो भन्दैमा ६ गुणा बढी हवाई भाडादर लागू गर्न मिल्छ?,’ महानिर्देशक अधिकारीले प्रश्न गरेका छन्, ’हामीले ५ महिना अगाडि नै विमानस्थल बन्द हुने जानकारी गराएका थियौं। अनि ६ गुणा भाडादर लागू गरेर यात्रुमा ह्यावोक क्रिएट गर्ने?’ कतार एयरवेजको यतिखेर ३ वटा उडान काठमाडौंबाट र एउटा उडान भैरहवाबाट हुने भएपछि नेपालतर्फ दैनिक ४ वटा उडान हुने उनले बताए।
उनका अनुसार गत वर्ष यही समय टीआइएमा दैनिक ३ वटा उडान गरेको थियो। टीआइएबाट उडान गर्न नदिने भएपछि कतार यसपटक भैरहवा जान लागेको महानिर्देशक अधिकारीले कतारका कमर्सियल म्यानेजर बोगटीलाई जानकारी गराए। बोगटीले भने गत वर्ष जहाज कम भएका कारण भैरहवाबाट उडान गर्न नसकेको बताएका छन्।
‘भैरहवामा कतारलाई एउटा उडान दिइएको छ। घटेको उडान संख्या जम्मा एउटा हो। पोहोर साल यो सिजनमा ३ वटा मात्र उडान थियो। डेटामा जानुपर्यो नि,’महानिर्देशक अधिकारीले भने,’अहिले आएर कतारले गरेको गल्तीको भागीदार हामी हुनुपर्ने?’
बोगटीले ८५ प्रतिशत उडान बुक भइसकेको बताउँदै गर्दा महानिर्देशक अधिकारीले ५ महिना अगडि नै गराएको जानकारी किन पालना नभएको भन्दै प्रश्न गरेका छन्। यसको जवाफमा कतारका कमर्सियल म्यानेजर बोगटीले गत ५ जुनकै अप्लाइ गरेको र अक्टोबरमा पर्मिसन पाएको बताए। १० घण्टा विमानस्थल बन्द हुने जानकारी गराउँदा पनि कतारले मनलागी टिकट बिक्री गर्नु अस्वाभाविक रहेको महानिर्देशक अधिकारीले बताए।
उनले कतारलाई कि त सामान्य भाडादर लागू गर्ने कि उडान बन्द गर्ने विकल्प दिएका छन्। कतारले उडान नगर्ने हो भने स्लट अर्को वायुसेवालाई दिने चेतावनी उनले दिए।
यसको जवाफमा कतारका कमर्सियल म्यानेजर बोगटीले आफ्नो मुख्यालयमा यो विषयमा पत्राचार गर्ने बताए। ‘प्रिमियर एयरलाइनले ६ गुणा भाडादर लिन नहुने’ विषयमा कतारका कमर्सियल म्यानेजर बोगटीले कम्पनीको व्यावसायिक रणनीति अनुसार भाडादर लिएको दाबी गरेका छन्। ‘कस्ट हाम्रो हातमा हुँदैन। हामी ग्लोबल हौं। बीड प्राइस हुन्छ। जुन कम्पनीले बढी पैसा दिन्छ उसैलाई सिट दिन्छौं,’बोगटीले भने।‘