
काठमाडौं । २०७८ भदौ २ गते ३१९९ विन्दुमा पुगेर नेप्से परिसूचकले कीर्तिमानी बनायो। त्यतिखेर आर्थिक वर्षको सुरुदेखि नै उकालो लागेको बजार त्यसपछि निरन्तर घट्न थाल्यो। असोज मसान्तसम्म आइपुग्दा नेप्से २६५७ अंकमा झर्यो।
तीन वर्षअघिको विन्दुबाट घट्न थालेको सूचक गत वर्ष मंसिरसम्म आउँदा ६ पटक १८०० अंकसम्म तल झर्यो। २०७८ असोज, मंसिर सोही आर्थिक वर्षको वैशाख र २०८० असोज कात्तिक, मंसिर गरेर १८०० विन्दुमा ओर्लियो।
पछिल्लो तीन वर्षको नेप्से ट्रेन्ड हेर्दा असोज र कात्तिकमा सर्वाधिक वर्षकै न्यून अंकमा झरेको तथ्यांकले देखाउँछ।
चालु आर्थिक वर्षमा पनि नेप्सेले यही लय समातेको छ। असार १७ पछि बढ्न थालेको नेप्से साउन ३१ गते ३००० विन्दुमा पुग्यो।
त्यसदिन २९ अर्ब ९५ करोड सहित कारोबार रकममा रेकर्ड बनायो। आर्थिक वर्षको सुरुमा उच्च अंकले बढेको बजार असोजसम्म आइपुग्दा ५०० अंकले घटेर २५०० विन्दुमा झरेको छ।
यसपटक पनि दसैंमा बजारको बियरिस ट्रेन्डले निरन्तरता पाउने देखिएको जानकारहरु बताउँछन्।
‘विगतको ट्रेन्ड हेर्दा दसैंमा कारोबार र सूचक बढेको देखिंदैन। बजारबाट रकम चाहिँ बाहिरिन्छ,’ एक मर्चेन्ट बैंकरले भने, ‘बैंकमा लगानीयोग्य रकम छ। तर, ऋणको माग भएर बजारमा गएको देखिँदैन। केही समय अझै यसले निरन्तरता पाउने देखिन्छ।’

तीन वर्षअघि बजार उच्च विन्दुमा पुग्दा सेयर बजारमा ठूलो तरलता गएको भन्दै नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहको बाटो साँघुरो बनायो।
सेयर धितो कर्जामा लगाएको सीमा, बैंक तथा वित्तीय संस्थाका लागि सेयर किनबेचको अंकुश र जोखिमभार वृद्धिले थप तरलता जान पाएको थिएन।
कोभिड-१९ पछि घरजग्गा, सेयर धितो र उपभोगमा उच्च कर्जा गएका कारण बैंकिङ प्रणालीमा तरलताको अभाव देखियो। प्रतिकूल सूचकका कारण यही विन्दुबाट बजारमा शिथिलता सुरु भयो।
तर, यसपटक वित्तीय सूचकहरु बजारको ‘फेबर’मा छन्। राष्ट्र बैंकले संस्थागत लगानीकर्तालाई सेयर धितोमा लगाएको सीमा हटाएको छ।
गत वर्षदेखि राष्ट्र बैंकले ऋणको माग बढ्ने खाल र सेयर बजारमा तरलता प्रवाह सहज हुने गरि नीति लिएको छ। बैंकिङ प्रणालीमा तरलता उच्च छ। ब्याजदर एकल अंकमा आएको छ।
बजारका लागि ब्याजदर र तरलता अनुकुल सूचक हुन। तैपनि नेप्से किन बियरिस ट्रेन्डमा लाग्यो? बजारका सूचकमा आधारभूत सुधार नआइ एकाएक उलटफेर देखिएका कारण नेप्से सूचक दियो हुन नसकेको विश्लेषकहरु बताउँछन्।

असार १७ पछि बढेको बजारमा खराब वित्तीय अवस्था भएकै कम्पनीको सर्वाधिक मूल्य बढेको देखिन्छ। बजार घट्दा तिनै कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाइरहेका छन्।
राजनीतिक कोर्स फेरिएपछि कम्पनीको मूल्य बढ्यो तर तीन वर्षअघिदेखि शिथिल भएको व्यापार बढ्न सकेन। त्यही भएर केही समय उच्च रफ्तारमा बढेको बजार घट्न थालेको विश्लेषक बताउँछन्।
नेप्सेको ओरालो यात्राले दसैंअघि बुलिस ट्रेन्ड समात्ने देखिएन।
‘मानिसहरु चाडपर्वमा व्यस्त हुने भएका कारण सेयर कारोबारमा ध्यान कम हुन्छ,’ स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका महासचिव फणिन्द्र दाहालले दसैं बिदा सुरु हुनु अघि भने, ‘त्यसैले बजार ठूलो अंकले तलमाथि जाने देखिंदैन। पूरानो ट्रेन्ड हेर्दा दसैंमा धेरै बढेको देखिँदैन घटेको छ।’
आर्थिक वर्ष | अंक | रु १० लाखमा |
महिना | नेप्से परिसूचक | बजार पुँजीकरण |
२०७८ भदौ २ | ३१९९ | ४४६८५०५ |
असोज मसान्त | २६५७ | ३७१९७१९ |
कात्तिक | २७८५ | ३९१६४४८ |
मंसिर | २४१५ | ३३९४६९७ |
पुस | २८५८ | ४०३७१२७ |
माघ | २८०२ | ३९५९६४९ |
फागुन | २६६८ | ३७८२७९२ |
चैत | २४१५ | ३४२६१०९ |
वैशाख | २३५० | ३३४३५५७ |
जेठ | १९९६ | २८४४१०९ |
असार | २०१० | २८६९३४४ |
२०७९ साउन | २०४१ | २९१४६८१ |
भदौ | १९१० | २७४४८८४ |
असोज | १८५८ | २६७२७९१ |
कात्तिक | १९११ | २७४९२३६ |
मंसिर | १८८३ | २७२१११२ |
पुस | २१४९ | ३१०३१५७ |
माघ | २१२२ | ३०६१९६२ |
फागुन | १९५३ | २८२३६७९ |
चैत | १९३४ | २८१३५५४ |
वैशाख | १८२२ | २६५७७५७ |
जेठ | २०४२ | २९८६१९६ |
असार | २०९७ | ३०८२५२० |
२०८० साउन | २०३३ | ३०४३००९ |
भदौ | १९६५ | २९६१३३६ |
असोज | १८६५ | २८६१५२४ |
कात्तिक | १८५२ | २८५३०१४ |
मंसिर | १८८३ | २७२१११२ |
पुस | २१२१ | ३३३०७५० |
माघ | २१०१ | ३३०२८४२ |
फागुन | २१०९ | ३३१४६३० |
चैत | २०२६ | ३२१२००८ |
वैशाख | १९६६ | ३११७७०२ |
जेठ | २११२ | ३३४९४८० |
असार | २२४० | ३५५३६८० |
२०८१ साउन | ३००० | ४७६५९०९ |
भदौ | २५८० | ४१०३६१९ |