सौर्य एयरलाइन्सका क्याप्टेन शाक्यलाई इमर्जेन्सीबाट आइसीयूमा सारियो, कस्तो छ अवस्था ?

बिजमाण्डू
२०८१ साउन ९ गते १४:३० | Jul 24, 2024
सौर्य एयरलाइन्सका क्याप्टेन शाक्यलाई इमर्जेन्सीबाट आइसीयूमा सारियो, कस्तो छ अवस्था ?


काठमाडौं। सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भइ उपचाररत क्याप्टेन मनिषरत्न शाक्यलाई आइसीयूमा सारिएको छ।

Tata
GBIME

दुर्घटनापछि शाक्यलाई सुरक्षाकर्मीले उद्धार गरी ११ बजेर ३४ मिनेटमा काठमाडौं मेडिकल कलेज पुर्‍याएका थिए। सुरुमा इमर्जेन्सीमा लगिएका शाक्यलाई केहीबेरअघि आइसीयूमा सारिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

क्याप्टेन शाक्यले इमर्जेन्सीमा उपचारका क्रममा चिकित्सक विनिता प्रधान र उनको टिमसँग सामान्य कुराकानी गरेका छन्।उनको आँखा र अनुहारका अन्य भागमा चोट लागेको छ।

‘सामान्य बोल्ने अवस्थामा छन्। तर, विभिन्न भागमा चोट लागेकाले हामीले आइसीयूमा सारेका छौं,’ अस्पताल स्रोतले भन्यो।

मर्मतका लागि एयरलाइन्सका कर्मचारी बोकेर उडेको विमान बुधबार बिहान ११:११ बजे दुर्घटना भएको थियो। विमान दुर्घटनामा बाँच्ने शाक्य एक्ला हुन्। अरु १८ जनाको मृत्यु भएको छ।

कोपाइलट एस कटुवाल तथा यात्रुहरु अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैन, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडाको मृत्यु भएको हो। रेडा यमनका नागरिक हुन्।

जहाजमा सवार सबै सौर्य एयरलाइन्सकै हुन्। उनीहरु जहाजको मर्मतका लागि पोखरा जाने क्रममा थिए। २/३ दिनदेखि नै इन्जिनमा समस्या देखिएको जहाज कम्पनीले त्रिभुवन विमानस्थलमा आफ्नो ह्याङ्गर नभएका कारण मर्मतका लागि पोखरा लान खोजेको थियो।

तर, त्रिभुवन विमानस्थलबाट उडान गर्ने क्रममा जहाज दाहिनेतिर मोडिन गइ रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।