प्रस्तावित निर्वाचन आयुक्त प्रधानले १ करोड २५ लाख दिएर मुद्दा मिलाएको खुलासा, सुनुवाइ स्थगित

बिजमाण्डू
२०८१ असार २० गते १३:५५ | Jul 4, 2024
प्रस्तावित निर्वाचन आयुक्त प्रधानले १ करोड २५ लाख दिएर मुद्दा मिलाएको खुलासा, सुनुवाइ स्थगित
कृष्णमान प्रधान


काठमाडौं। प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइ स्थगित भएको छ। प्रधानले यौन दुर्व्यवहार गरेको भनिएकी महिलासँग बिहीबारको छलफलपछि संसदीय सुनुवाइ समितिले विषय निकै गम्भीर रहेको भन्दै सुनुवाइ स्थगित गरेको हो।

Tata
GBIME

प्रधानविरुद्ध समितिमा पीडित महिलासहित चार जनाले उजुरी दिएका छन्। सबै उजुरीमा यौन दुर्व्यवहार गरेको आरोप छ। पीडित महिलासँगको छलफलका क्रममा प्रधानले १ करोड २५ लाख रुपैयाँ दिएर यौन दुर्व्यवहारको मुद्दा मिलाएको खुलेको छ। पीडित महिलाले प्रधानले दिएको बैंक चेकको फोटोकपी प्रमाणका रुपमा पेस गरेकी छन्।

प्रधानविरुद्ध गत वर्ष भदौमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएकामा त्यसको एक सातामा उनले पीडित महिलालाई १ करोड २५ लाख रुपैयाँ दिएर मिलापत्र गरेको बताइएको छ। पीडितले प्रधानको दबाबमा मिलापत्र गरेको समितिका सदस्यसामु बताएकी छन्।

समितिले पीडित महिलासँगको छलफलपछि यस विषयमा तथ्य जाँचबुझ गर्न आवश्यक रहेको निष्कर्ष निकाल्दै शुक्रबारका लागि तय प्रधानको सुनुवाइ स्थगित गरेको छ। आयोगको आयुक्तमा नियुक्तिका लागि उच्च नैतिक चरित्र भएको हुनुपर्ने योग्यता तोकिएको छ।

तर यौनजन्य दुर्व्यवहारको मुद्दा पैसा दिएर मिलाएको खुलेपछि समिति तत्कालका लागि प्रधानको सुनुवाइ नगर्ने निर्णयमा पुगेको हो। संवैधानिक परिषद्को असार २ गते बसेको बैठकले प्रधानलाई निर्वाचन आयुक्त नियुक्त गर्न सिफारिस गरेको थियो।