
काठमाडौं। गायनको क्षेत्रका प्रतिभालाई अगाडि ल्याउने प्रतिस्पर्धात्मक कार्यक्रम ‘नेपाल आइडल’ पाँचौं संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन्। शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई उनले पछि पारेका हुन्।
दर्शकबाट प्राप्त मतका आधारमा विजेता बनेका परियारले नगद रु २५ लाखसहित अन्य उपहार प्राप्त गरे। प्रतियोगितामा दोस्रो भएकी पोखराकी सलोमी गुरुङले नगद रु १० लाख प्राप्त गरिन्।
यस्तै दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भएर नगद रु पाँच लाख र दार्जिलिङकै मोहित भुजेलले चौथो स्थान हासिल गरेर पुरस्कारमा स्कुटर प्राप्त गरे।
विगत चार महिनादेखि जारी प्रतियोगितामा दर्शकको मतका आधारमा विजेता चयन गरिएको हो। ‘नेपाल आइडल’को पाँचौं संस्करणमा गायक न्हू बज्राचार्य, संगीतकार कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशीले निर्णायक थिए।