दिगो बैंकिङ हुन सक्छ अर्थतन्त्रको एउटा राम्रो अस्त्र, डा. बुद्धि मल्लको लेख

बिजमाण्डू
२०८१ जेठ ३२ गते ०६:०५ | Jun 14, 2024
दिगो बैंकिङ हुन सक्छ अर्थतन्त्रको एउटा राम्रो अस्त्र, डा. बुद्धि मल्लको लेख

अहिले संसारभर दिगो बैंकिङको अवधारणाले महत्त्व पाउन थालेको छ। दिगो बैंकिङ भन्नाले लगानी गर्ने समयमा वातावरणीय, सामाजिक तथा सुशासन जस्ता तत्वहरुलाई ध्यानमा राखिने प्रक्रिया हो, जसले गर्दा दिगो रूपमा आर्थिक क्रियाकलाप सिर्जना गर्ने लगानीहरु र परियोजनाहरु बढ्न मद्दत पुग्छ।

Tata
GBIME

सन् १८८७ को विश्व वातावरणीय तथा विकास आयोगको रिपोर्ट, जसलाई ब्रन्टल्याण्ड रिपोर्ट पनि भनिन्छ, त्यसबाट सुरु भएको दिगो बैंकिङको अवधारणा अहिले आएर द भिजन २०३० अन्तर्गत दिगो विकासका लागि ५ खम्बे नीति अपनाएर आफ्ना कार्यक्रमहरु सञ्चालन गरिरहेको छ, जसले पाँच ‘पी’ (पिपुल, प्लानेट, प्रोस्पेरिटी, पार्टनरसिप र पीस) को हितमा हुने लगानी गर्नुपर्छ भन्ने सिद्धान्त बोकेको छ।

यो अवधारणा कसरी आयो भन्ने जान्नु जरुरी छ। कारण थाहा भयो भने मानव जीवनको भविष्यका लागि महत्त्वपूर्ण भूमिका खेल्न उपयोगी हुन सक्छ। विश्वमा बैंकहरुले लगानी गर्दा दिगो बैंकिङको अवधारणालाई अपनाउँदा त्यसले निम्त्याउन सक्ने ठूलो जोखिम टरेको र नअपनाउँदा जोखिम उत्पन्न भएका धेरै उदाहरणहरु पाइन्छ। तीमध्ये केही उदाहरण तल उल्लेख छन्।

  • संसारकै सबैभन्दा ठूलो जंगल अमेजनको हो। जंगलबीच ९ वटा देश भएर अमेजन नदि बगेको छ। त्यसको किनारवरपर करिब ३ करोड मानिस बस्छन्। तर, त्यहाँ नदि वारपार गर्ने पुल बनाइएको छैन। पुल बनाए भने बस्ती बढेर जंगल फँडानी हुने, संसारकै २० प्रतिशत अक्सिजन र सफा पानी उत्पादन हुने क्षेत्रको पर्यावरणमा नकरात्मक असर पर्ने, पानी प्रदूषित हुने भएकाले अहिलेसम्म यहाँ पुल नबनाइएको हो।
  • केन्यामा एउटा मल उत्पादक कम्पनीले कर्जा माग गरेपछि बैंकले त्यसमा जोखिम देख्यो। किनभने उसको परियोजना एउटा नदि नजिक थियो, फोहरको व्यवस्थापन राम्रोसँग गरेको थिएन। केही समयपछि ठूलो बाढी आयो। ती फोहरहरु बगाएर वातावरण प्रदूषित बनायो, जसको कारणले उक्त कम्पनीको १५ किलोमिटर परसम्मका जनावरले ज्यान गुमाए। दुर्गन्धका कारणले उक्त क्षेत्रमा पर्यटक आवागमन नै बन्द गर्नुपर्यो। त्यसपछि सरकारले कार्बाही गरेर उक्त कम्पनीलाई बन्द नै भएको थियो।
  • एउटा नरिवलबाट चारकोल कार्वन फिल्टर बनाउने कम्पनीले कर्जा माग गर्यो र बैंकले कर्जा पनि दियो। प्रदूषण बढाएकाले स्थानीय बासिन्दा प्रतिकारमा उत्रेपछि उक्त कम्पनी बन्द भएको थियो र बैंकले पत्रिकामार्फत कम्पनी बन्द भएको थाहा पाएको थियो।
dhara

यी तीन उदाहरण जस्तै अन्य विभिन्न घटनाले आज दिगो बैंकिङको महत्त्वलाई ह्वात्तै बढाएको छ। भनिन्छ, ‘वातावरणलाई संरक्षण गर्ने होइन, हामीले त्यस्तो संसार निर्माण गर्नुपर्छ जहाँ वातावरणलाई संरक्षण गर्नुपर्ने आवश्यकता  नै हुँदैन।’ दिगो विकासको अवधारणा पनि यस्तै नै हो।

दिगो बैंकिङका ५ वटा खम्बाहरुमा पर्ने कार्यक्रमहरुलाई सहयोग गर्ने खालका लगानीहरु दिगो बैंकिङको क्षेत्रभित्र पर्दछन् जुन निम्नानुसार छन्-

  • मानिस (पिपुल)‐ यस अन्तर्गत मानिसहरुको वित्तीय सशक्तिकरणका लागि दिइने सहुलियत, अनुदान तथा विभिन्न कार्यक्रमहरु, दिगो खाद्यान्न उत्पादनका लागि गरिने कार्यक्रमहरु, विभिन्न स्वास्थ सेवा तथा सर्वसुलभ औषधिहरुको उपलब्धताकाब लागि गरिने कार्यक्रम, सर्वसुलभ शिक्षाका लागि गरिने कार्यक्रमहरु, लैंगिक अधिकार तथा महिला सशक्तिकरणका विभिन्न कार्यक्रमहरु यसमा पर्दछन्।
  • ग्रह (प्लानेट) ‐ यसमा पानीको प्रदूषण नियन्त्रण तथा दिगो पानी व्यवस्थापनका लागि गरिने कार्यहरु, दिगो खरिद अभ्यास तथा प्रदूषण नियन्त्रणका लागि गरिने विभिन्न कार्यहरु, वातावरणीय शिक्षा, जलवायु परिवर्तन सम्बन्धी शिक्षा तथा नियन्त्रणको लागि गरिने कार्यहरु, समुद्री प्रदूषण तथा जैविक विविधता र महासागरको संरक्षणको लागि गरिने कार्यहरु र पृथ्वीको चक्रीय प्रणाली, जैविक विविधताका लागि गरिने कार्यहरु यस अन्तर्गत पर्दछन्।
  • समृद्धि (प्रोस्पेरिटी) ‐ यस अन्तर्गत दिगो तथा स्वच्छ ऊर्जा सम्बन्धी कार्यहरु, आर्थिक विकासका लागि गरिने कार्यहरु, भौतिक पूर्वाधार तथा अनुसन्धान सम्बन्धि कार्यहरु, समानता लागि गरिने कार्यहरु तथा पिछडिएका वर्गलाई समेट्न गरिने कार्यहरु र दिगो निर्माण तथा स्मार्ट सहर बनाउनका लागि गरिने कार्यहरु यसमा पर्दछन्।
  • साझेदारी (पार्टनरसिप) ‐ यसअन्तर्गत दिगो विकासको लक्ष्य प्राप्तिका लागि गरिने विभिन्न संघसंस्था तथा विभिन्न निकायहरुसँग गरिने साझेदारीहरु पर्दछन्। दिगो विकासको मापनका लागि गरिने कार्यहरु, न्यायसंगत व्यापार प्रणाली विकास गर्नका लागि गरिने काम र विश्वको आर्थिक स्थिरताका लागि गरिने कार्य यसमा पर्दछन्।
  • शान्ति (पीस) ‐ यसअन्तर्गत शान्ति, न्याय र बलियो संस्था निर्माण गर्नका लागि गरिने कार्यहरु पर्दछन्। विश्वमा सुशासन, कानुनी शासनको वातावरण तथा नैतिकता स्थापना गर्नका लागि गरिने कार्यहरु यो खम्बामा पर्दछन्।

गरिबी उन्मुलनको प्राथमिकताप्राप्त क्षेत्र र तिनको प्रवर्धनका लागि गरिने पूर्वाधार, शिक्षा, स्वास्थ्यमा गरिने लगानीको साथै देशको आर्थिक विकासमा टेवा पुर्‍याउने, यहाँको सम्भावित क्षेत्र कृषि, ऊर्जा, पर्यटन, लघुवित्त तथा लघु तथा साना उद्यम एवं महिला उद्यमी दिगो बैंकिङका मुख्य क्षेत्रहरु हुन्।

तस्वीर : रासस

पृथ्वीको बढ्दो तापमान अहिले विश्वकै टाउको दुखाइको विषय छ। यसले मानिसको दैनिक जीवन तथा स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको छ। बढ्दो औद्योगिकीकरणसँगै कार्वन उत्सर्जनको मात्रा बढेको छ। विकसित देशहरुमा कार्वन उत्सर्जनको मात्रा उच्च छ। यद्यपि, हाम्रो देशको कार्वन उत्सर्जन ०.०२ देखि ०.०३ प्रतिशत मात्रै रहेकाले यस मापनमा स्थिति राम्रै भए तापनि भविष्यमा बढ्न सक्ने मात्रालाई नियन्त्रण गर्नु भने जरुरी छ।

देशको आर्थिक वृद्धि, सामाजिक विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्नु, वातावरणीय स्वच्छता कायम राख्दै प्राकृतिक स्रोतको उपयोग गर्नु, प्रदूषण घटाउनु र वर्तमान तथा भावी पुस्ताका आवश्यकता सुनिश्चित गर्नु नै दिगो बैंकिङको मुख्य उद्देश्य हो। नेपालजस्तो देशका लागि गरिबी निवारण, खाद्य सुरक्षा, खाद्यान्न संकटको अन्त्य, स्वास्थ्य, शिक्षा, लैंगिक समानता, नवीकरणीय ऊर्जाको प्रवर्धन, जलवायु परिवर्तनको जोखिम न्यूनीकरण, कृषि तथा पूर्वाधार, आर्थिक असमानताको कम गर्नु, सुशासनको विकास गर्नु जस्ता कार्यहरु गर्नु अति नै आवश्यक देखिन्छ।

समग्रमा माथिका ५ वटा खम्बाहरुको हितलाई मुख्य प्राथमितामा राखेर परियोजनाहरुमा गरिने लगानी नै दिगो बैंकिङ हो। नेपालजस्ता देशका लागि गरिबी उन्मुलनको प्राथमिकताप्राप्त क्षेत्र र तिनको प्रवर्धनका लागि गरिने पूर्वाधार, शिक्षा, स्वास्थ्यमा गरिने लगानीको साथै देशको आर्थिक विकासमा टेवा पुर्‍याउने, यहाँको सम्भावित क्षेत्र कृषि, ऊर्जा, पर्यटन, लघुवित्त तथा लघु तथा साना उद्यम एवं महिला उद्यमी दिगो बैंकिङका मुख्य क्षेत्रहरु हुन्।

बैंकले लगानी गर्दा सामाजिक तथा वातावरणीय जोखिमहरुको राम्रोसँग अध्ययन गरेर लगानी गर्दै दिगो बैंकिङलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्छ। दिगो बैंकिङ देशको अर्थतन्त्रको एउटा राम्रो अस्त्र हुनसक्छ।

लेखक मल्ल बैंकर हुन् ।