
काठमाडौं। बैंकिङ कसुरका आधाभन्दा धेरै मुद्दा काठमाडौं उपत्यकाभित्र दर्ता हुने गरेका छन्। पछिल्लो पाँच वर्षमा मुद्दा ह्वातै बढेका समेत छन्। उपत्यकाभित्र मात्र कूल मुद्दाको हिस्सा आधाभन्दा धेरै छ।
चालु आर्थिक वर्षको १० महिनामा मात्र काठमाडौं उपत्यकाभित्र ६ हजार ७५ वटा मुद्दा दायर भएका छन्। जबकि देशभर यस्ता मुद्दा दर्ताको सङ्ख्या १० हजार ५ सय ३८ रहेको छ। देशभरको तुलनामा उपत्यकाभित्र मात्र ५७ प्रतिशत हो। लुम्बिनी र मधेस प्रदेशमा पनि अघिल्ला वर्षको तुलनामा घटना बढेका छन्। चालु आर्थिक वर्षको १० महिनामा लुम्बिनीमा ९४० र गण्डकीमा ९३९ मुद्दा दायर भएको प्रहरीको तथ्याङ्कले देखाएको छ।
‘आर्थिक कारोबार काठमाडौं उपत्यकाभित्र सबैभन्दा बढी हुन्छ। जसले गर्दा पनि काठमाडौंमा बढी मुद्दा भएको हो,’ काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले भने।
काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०७५/७६ मा जम्मा २ हजार ५ सय ६६ वटा मुद्दा दायर भएका थिए। जबकि आर्थिक वर्ष २०७९/८० मा आइपुग्दा यो सङ्ख्या बढेर ८ हजार २ सय ७५ पुगेको हो। आर्थिक वर्ष २०७८/७९ मा ४ हजार १ सय ४९ वटा मुद्दा दायर भए। जुन आर्थिक वर्ष २०७७/७८ को तुलनामा दोब्बरले बढी हो। आर्थिक वर्ष २०७७/७८ मा १ हजार ९४७ वटा मुद्दा दायर भएका थिए। आर्थिक वर्ष २०७६/७७ मा २ हजार ९१० वटा मुद्दा दायर भएका हुन्।
देशभर बैंकिङ कसुरका मुद्दा समस्या
काठमाडौं मात्र नभएर पछिल्ला वर्ष देशभर नै मुद्दा बढेर गएको छ। चालु आर्थिक वर्षको १० महिनामा मात्र देशभर १० हजार ५३८ वटा मुद्दा दायर भएका छन्। प्रहरीले उजुरीको आधारमा ८९३ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको छ।
गएको आर्थिक वर्षमा प्रहरीले १२ हजार १३५ वटा मुद्दा दायर गरेको थियो। यस वर्ष ८७५ जनाले कसुरमा सजाय भोगेका थिए। आर्थिक वर्ष २०७८/०७९ मा ५ हजार ३८३ वटा मुद्दा दायर भएका थिए। प्रत्येक आर्थिक वर्ष मुद्दा थपिँदै गएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीले जानकारी दिए।
आर्थिक वर्ष २०७७/७८ मा २ हजार २७३ वटा मुद्दा दायर भएका थिए। आर्थिक वर्ष २०७६/७७ मा यो सङ्ख्या ३ हजार ३०९ रहेको थियो।