धनुषा। जनकपुरधाममा शनिबारदेखि श्रमाधान रोजगार मेला सुरु भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तत्त्वावधानमा आयोजित दुई दिने मेलाको स्थानीय आयोजक मधेस प्रदेश र जनकपुरधाम उपमहानगरपालिका छन्।
मेलाको संयोजन नेपाल उद्योग परिसंघले गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एवं मेलाका मधेस प्रदेश संयोजक दीपेन्द्र पौडेलका अनुसार मेलामा रोजगारीसहितका कक्ष छन्। कामको खोजीमा रहेका युवाको अन्तर्वार्ता रोजगारदाताले मेलामै लिने र आवश्यक परेको जनशक्तिलाई रोजगारीको अवसर दिनेगरी मेलाको तयारी गरिएको उनले बताए।
मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको कक्ष, रोजगारदाता, म्यानपावर व्यवसायी तथा विभिन्न सामाजिक संस्थालगायतका ३५ भन्दा बढी कक्ष छन्। कामको खोजीमा रहेका युवालाई लक्षित गर्दै सीपसँग सम्बन्धित तथा रोजगारीमा जोड्ने रोजगार परामर्श स्टल तथा विभिन्न नेटवर्किङ सत्र, स्थानीय सांस्कृतिक प्रस्तुतिलगायत कार्यक्रम पनि राखिएका छन्।
मेलाबाट रोजगारदाता र श्रमिकमा उत्साह थपिने अपेक्षा गरिएको आयोजकले जनाएका छन्।