स्ट्यान्डर्ड चार्टर्डको नेपाल रणनीति फेरियो, व्यापार बढाउन सञ्जाल फैलाउँदै

बिजमाण्डू
२०८० चैत्र २५ गते १५:३८ | Apr 7, 2024
स्ट्यान्डर्ड चार्टर्डको नेपाल रणनीति फेरियो, व्यापार बढाउन सञ्जाल फैलाउँदै

काठमाडौं। ठूला शहरहरुको शाखा बन्द गरेर खुम्चिएको स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले रणनीति परिवर्तन गरेको छ। खुम्चिँदै १२ वटा शाखामा झरेको चार्टर्डले दशकपछि पहिलो पटक शाखा विस्तार गरेको हो।

Tata
GBIME
NLIC

विदेशी संयुक्त लगानीको चार्टर्डले धरानमा नयाँ शाखा खोलेको छ। 

सरकारले स्थानीय तहमा बैंकहरुको शाखा अनिवार्य रुपमा खोल्ने निर्णय गर्दा चार्टर्डले छुट पाएको थियो। उसको भागमा पनि १७ वटा शाखा परेको थियो। 

तर, सरकार र नेपाल राष्ट्र बैंक दाहिना भएकाले उसको भागको शाखा बाँकी बैंकहरुमा बाँडियो। शाखा घटाउने र प्रिमियम सुविधा दिने भन्दै बैंकले काठमाडौंलाई प्रमुख बजार बनाएको थियो।

बैंकले पोखरा, विराटनगर, दुहबीजस्ता शहरहरुमा रहेका शाखा बन्द गरेको थियो। बैंकले आइतबार तामझामसहित धरानमा शाखा खोलेको हो। बैंकले मुकुमलुङ कम्प्लेक्स रमाइलो चोकमा शाखा सञ्चालनमा ल्याएको हो।

बैंकको शाखा १८०० वर्गफुटमा छ। राष्ट्र बैंकका कोशी प्रदेश प्रमुख इन्द्र चम्लागाइ मैनाली, ब्रिटिस गोर्खा नेपालका मेजर मनबहादुर गुरुङ र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गोरख राणाले संयुक्तरुपमा शाखा उद्‍घाटन गरेका छन्। शाखाबाट नियमित सेवाबाहेक मोबाइल बैंकिङ र डिजिटल सेवा प्राप्त हुने छ।

स्टान्डर्ड चार्टर्ड बैंकको शाखा उद्‍घाटन गरिंदै

बैंकले रणनीति परिवर्तन गरेको अनिरभन घोष दस्तिदार प्रमुख कार्यकारी अधिकृत भएर आएपछि हो। त्यसअघिका प्रमुख कार्यकारीहरुले बैंकको व्यापारसँगै सञ्जाल पनि खुम्च्याउँदै आएका थिए। छानिएको व्यवसाय गर्ने र कम ग्राहक आधारमा रमाउँदै आएको बैंकलाई दस्तिदारले फैलाउन खोजेका हुन्।

उनी २०७५ माघदेखि प्रमुख कार्यका छन्। उनी आएपछि बैंकको रणनीति परिवर्तन हुँदै आएको थियो।

उनले व्यापार सञ्चालन, आन्तरिक निर्णय प्रकृया र कर्पोरेट कल्चरमा परिवर्तन गर्दै आएका थिए। नेपालमा ५ वर्षसहित उनको बैंकिङ अनुभव ३० वर्ष पुगिसकेको छ। सार्वजनिक कार्यक्रमहरुमा कम पुग्ने उनले नेपालका कर्मचारीहरुलाई नै अगाडि बढाउने गरेका थिए।

‘वर्कस्टेसन नै परिवर्तन भएको छ नि। पहिले सबै बन्द कोठाभित्र हुन्थे। अहिले सबै ओपन एरियामा काम गर्छन्,’ बैंकका एक कर्मचारीले भने, ‘सीइओको कोठा नै बन्द हुन्थ्यो हमेशा। अहिले त्यो छैन।’

कर्मचारीमा पनि विविधिकरणको रणनीति लिइएको छ। फरक बैंकहरुबाट व्यवस्थापन तहमा कर्मचारी तान्न थालिएको छ। बैंकले केही समयभित्र काठमाडौंमा शाखा थप्ने योजना बनाएको छ। राष्ट्र बैंकको नियम अनुसार काठमाडौंमा शाखा खोल्न पहिले बाहिर खोलेको हुनु पर्छ।

स्टान्डर्ड चार्टर्ड बैंकको धरानस्थित शाखा

‘अहिले शहरहरु विस्तार भए। सानो ठाउँ पनि ठूलो भएको छ। अरुले घरघरमै गएर सेवा दिइरहँदा चार्टर्डको सेवा केन्द्र सीमित ठाउँमा मात्र छ,’ चार्टर्डका एक कर्मचारीले भने, ‘नेपालमै बस्ने हो, व्वयसाय गर्ने हो भने लचकता अपनाउनै पर्छ। व्यवहारिक पनि हुनु पर्छ। त्यसै अन्तर्गत धरानमा शाखा खुलेको हो। विस्तारै केही अरु शाखा पनि थपिने छन्।’

राष्ट्र बैंकले पुँजी वृद्धिको योजना ल्याएपछि नेपालमा व्यवसाय गर्न गाह्रो हुन्छ भन्दै बाहिरिन छलफल गरेको चार्टर्ड राष्ट्र बैंकले एफपीओको विकल्प दिएपछि रोकिएको थियो। राष्ट्र बैंकले उपभोक्ता कर्जामा ‘स्थिर ब्याजदर’ को नीति लिएपछि पनि चार्टर्डले असहमति राखेको थियो। त्यसमा पनि राष्ट्र बैंकले केही लचकता अपनाएको थियो। स्थानीय तहमा शाखा खोल्ने कुरामा पनि उसको असहमति थियो। त्यसमा पनि उसले सुविधा पायो।

प्रिमियममा जारी गरेको एफओपोको पैसाबाट बोनस सेयर दिएपछि सरकारले त्यसमा कर लगाएको थियो। त्यसमा पनि उसले ठूलो असहमति राखेको बैंक अदालतले पैसा तिर्नु पर्छ भनिदिएपछि शान्त भएको थियो।