
काठमाडौं। नेपाल पर्यटन बोर्डमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रक्रिया सुरु भएको छ। नियुक्तिका लागि गठित सिफारिस समितिले शनिबार सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन माग गरेको छ।
सीइओ धनन्जय रेग्मीको कार्यकाल सकिएसँगै पद रिक्त छ। उनी २०७६ माघ तेस्रो साता चार वर्षका लागि नियुक्त भएका थिए। रिक्त पदमा नयाँ नियुक्तिको प्रक्रिया अघि बढाइएको हो। आवेदन दिन चाहनेका लागि न्यूनतम ३५ पुगेर ६० वर्ष ननाघेको उमेरको हुनुपर्ने मापदण्ड छ।
शैक्षिक योग्यतामा कम्तिमा स्नातकोत्तर भइ पर्यटनका कुनै क्षेत्रमा काम गरेकालाई प्राथमिकता दिइने सिफारिस समितिको सूचनामा छ। आवेदक प्रक्रिया बोर्डको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ।
मन्त्रिपरिषद् बैठकले पर्यटन बोर्डमा रिक्त तीन सदस्यमा गत साता ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई नियुक्त गरेको थियो। त्यसयता सीइओ नियुक्तिका लागि अध्ययन भइरहेको छ।