जम्मा चार मिटर छिचोल्न बाँकी नागढुंगा सुरुङ मार्गमा के भइरहेको छ अहिले?

शुक्र गिरी, सहयोग रञ्जित
२०८० चैत्र २० गते २१:५३ | Apr 2, 2024
जम्मा चार मिटर छिचोल्न बाँकी नागढुंगा सुरुङ मार्गमा के भइरहेको छ अहिले?

काठमाडौं। ‘सधैं सम्झिनुस्, उपकरण र मेसिनको दिमाग हुँदैन, आफ्नै प्रयोग गर्नुस्।’ दहचोकमुनि निर्माण भइरहेको सुरुङमार्गको प्रवेश विन्दुमै सुरक्षाका लागि झकझक्याउने गरी अंग्रेजीमा लेखिएको माथिको भावानुवादले प्रस्ट देखाउँछ – सुरुङ निर्माणमा जोखिम र कामदारको सुरक्षाप्रतिको संवेदनशीलता।  

Tata
GBIME
Nepal Life

टनेलभित्र जापानी प्रविधिका मेसिन सञ्चालन गर्दै हेलमेट, रिफ्लेक्टर र गमबुट लगाएर काम गरिरहेका छन् कामदार। प्राविधिकको आउजाउ उत्तिकै छ।

अबको केही समयमा नै मुलुककै राजमार्गमा आधारित पहिलो सुरुङमार्ग छिचोलिने (ब्रेकथ्रु) हुनेछ। र, बीचमा कुनै अवरोध उत्पन्न नभए एक वर्षभित्र टनेल हुँदै रफ्तारमा गाडी वारपार हुनेछन्। बलम्बुबाट होस् या सिस्ने खोलाबाट, नागढुंगा छिचोल्न घण्टौँ ट्राफिक जाममा फस्नेहरूका लागि जहिले पनि प्रतीक्षाको विषय बनेको छ यो सुरुङमार्ग। त्यसैले हाइवेमा यात्रा गर्नेहरूको नजर यसमा बारम्बार परिरहन्छ।

सुरुङमार्गको प्रवेशविन्दु

यसको ‘ब्रेकथ्रु’सँगै हाइवेमा आधारित सुरुङमा नेपाली दक्षता पनि ‘ब्रेकथ्रु’ हुने भएकाले नागढुंगा सुरुङ अरूभन्दा विशेष हुनेवाला छ। ‘जलविद्युत् आयोजनाका सुरुङमा दक्षता हासिल गरे पनि हाइवेमा यो पहिलो हो,’ बिजमाण्डू टोलीलाई टनेलमा भइरहेको कामबारे ब्रिफिङ गर्दै इन्जिनियर सुजन लुइँटेलले सुनाए।

राजधानी जोड्ने प्रमुख लाइफलाइन भएकाले मात्र होइन, ‘नलेज ट्रान्सफर’का हिसाबले पनि यस आयोजनालाई महत्वका साथ हेरिएको छ। ‘प्रविधिको प्रयोग मात्र होइन, सुरक्षा संवेदनशील भएर कसरी काम गर्नुपर्ने रहेछ भन्ने पनि सिकाइ भएको छ,’ लुइँटेलले भने।

प्रवेशविन्दु बाहिरको संरचना
प्रवेशविन्दु आउन कालोपत्र गरिँदै सडक

सुरुङमार्ग कुनै पनि दिन छिचोल्न प्राविधिक टोली तयार छ। राष्ट्रिय महत्त्वको आयोजना भएकाले यससँग जोडिएर आउने सांस्कृतिक र अर्थ राजनीतिक ‘रिचुअल्स’ले ‘ब्रेकथ्रु’को मिति कुनै पनि दिन निर्धारण हुनसक्छ। त्यसैले कामदार र प्राविधिक अलर्ट अवस्थामा छन्।

सोमबार बिजमाण्डूको टिम यहाँ पुग्दा सुरुङमार्गको डिजाइनदेखि नै कार्यरत कृष्ण व्यञ्जनकार आयोजना सम्पन्न हुने अवस्थामा आइपुगेको देख्दा खुसी देखिन्थे। आयोजनाबाट नेपाली इन्जिनियरिङ क्षेत्रले नयाँ आयाम लिने उनको बुझाइ छ।

‘प्रविधि नयाँ हो। यसले हाम्रो जनशक्तिलाई थप बलियो बनाएको छ,’ उनले भने, ‘अबका दिनमा हाइवे टनेलका लागि हामीले विदेशी प्राविधिक टोलीलाई पर्खेर बस्नुपर्दैन।’

सुरुङमार्गभित्र निर्माणकार्य हुँदै

सुरुङमार्गमा ‘ल्याब टेक्सिसियन’ रहेका व्यञ्जनकारका अनुसार अहिले आयोजनामा काम गर्नेमा धेरैजसो नेपाली नै छन्। प्रोजेक्टका लागि केही इन्जिनियर सडक विभागबाट खटिएका छन् भने केही परामर्शदाता कम्पनीबाट।

‘ब्रेकथ्रु’को मुखैमा पाँच सयभन्दा धेरै कामदार खटिएका छन्। सुरुङभित्र विभिन्न काम चलिरहेकै छ। बाहिर फ्लाइओभर र सडक निर्माणले पनि गति लिइरहेको छ। यस आयोजनाले २०० भन्दा धेरै नेपाली इन्जिनियरलाई तालिम उपलब्ध पनि गराएको छ।

आयोजना निर्माण स्थलको फेदीमा खेत र माथि डाँडामात्रै थियो। फाट्टफुट्ट मात्रै घर थिए। सुरुङमार्ग बनाउन थालेसँगै यहाँ घडेरी किनबेच बढ्यो। घरहरू थपिए। बीचमा पटक पटक स्थानीयको अवरोध पनि खेप्यो आयोजनाले। अब चार मिटर खनेपछि सिस्नेखोलाबाट सोझै काठमाडौं वारपार हुन्छ।

यसरी हुँदैछ काम

सोमबार यहाँ पुग्दा सुरुङको मुखैमा रहने स्थायी संरचनाको अन्तिम चरणको काममा कामदारहरू व्यस्त देखिन्थे। सुरुङमार्ग बाहिर दमकल, रेस्क्यु तथा अन्य गतिविधि सञ्चालन हुने कार्यालय बनिसकेको छ। सँगै टोल शुल्क उठाउने संरचना बनिरहेको छ। काठमाडौंको बलम्बुबाट फ्लाइओभर हुँदै २.३ किलोमिटर सडक पार गरेपछि सुरुङमार्गको यात्रा सुरु हुन्छ। यतिखेर बलम्बुबाट टनेल पुग्ने सडक कालोपत्रे भइरहेको छ भने फ्लाइओभरको पनि काम तीव्र गतिमा चलिरहेको छ।

फ्लाइओभर निर्माणस्थल

छिचोल्न बाँकी रहेको मुख्य टनेल ९.५ मिटर चौडा छ जसमा दोहोरो गाडी वारपार हुनेछ। त्यसको समानान्तर रूपमा बनेको ‘इभ्याकुएसन टनेल’ पहिले नै ब्रेकथ्रु भइसकेको छ। यस हिसाबले दहचोक डाँडामुनिबाट दुई वटा सुरुङमार्ग बनेको छ। आपत्कालीन समयमा प्रयोग गर्नका लागि ७ वटा ‘इभ्याकुएसन टनेल’ तयार पारिएको हो। साउनमा वारपार भइसकेको यो टनेलमा पनि फिनिसिङ चलिरहेको छ।

२.६८८ किलोमिटर लामो मुख्य टनेलबाट दुई तर्फी नै गाडी गुड्नेछन्। सुरुङभित्र मुख्य सडक ९.५ मिटर फराकिलो छ। त्यससँगै ‘ड्रेनेज’ पनि बनिरहेको छ।

कंक्रिट लाइनिङ मेसिनको प्रयोगमा भित्र काम चलिरहेको छ। एक ठाउँमा काम सकेपछि मेसिनलाई सार्दै अर्को ठाउँमा लाइनिङ गर्ने क्रम जारी छ।

आपत्तकालीन अवस्थामा प्रयोग गर्न निर्माण गरिएको ‘इभ्याकुएसन टनेल’। यसको ब्रेकथ्रु भइसकेको छ।

मुख्य टनेलभित्रको करिब ३०० मिटरको दुरीमा ‘इभ्याकुएसन टनेल’ तर्फ वारपार गर्ने सेक्सन बनाइएका छन्। अर्थात् दुई सुरुङलाई जोड्ने सुरुङ छोटो छोटो दुरीमै उपलब्ध हुनेछन्। यसले सडक सुरक्षाप्रतिको तयारी कति छ भन्ने देखाउँछ। दुर्घटना वा गाडी बिग्रिएको खण्डमा त्यही सेक्सनबाट क्लियर गरेर बाटो निर्बाध हुनेछ।

सुरुङका अधिकांश भित्तामा मल्टिपल लेयरमा प्लास्टिक राखेर ‘वाटर प्रुफिङ’ सकिएको छ। थोरै ठाउँमा भने काम भइरहेको छ। भित्ताबाट रसाउने पानीलाई ड्रेनबाट मुख्य ढलमा पठाइएको छ।

टनेलभित्र पर्याप्त ट्युबलाइट, अक्सिजन फ्लो गर्ने व्यवस्था, धुलो हटाउने मेसिन मात्र होइन ठाउँ ठाउँमा टेलिफोन बुथ पनि राखिएको छ। साथै सुरक्षा सजगताका सन्देशसहितका बोर्ड पनि टनेलभित्र देखिन्छन्।

‘यहाँभित्र मोबाइल नेटवर्क हुने कुरा भएन। तत्काल सम्पर्क गर्नुपर्ने परिस्थिति आयो भने टेलिफोनबाट हुने हो,’ इन्जिनियर लुइँटेलले टनेलभित्रको टेलिफोनबारे प्रस्ट्याए। त्यसबाहेक भित्र वाइफाइ पनि छाडिएको छ।

टनेल बनिसकेपछि पनि सुरक्षाका लागि भित्र ठाउँ ठाउँमा ‘फायर एक्स्ट्रिमग्युसर’ रहने छ। टेलिफोन बुथ त स्वाभाविक नै भइहाल्यो।

आयोजनाको म्याद २०८१ वैशाख १३ गतेसम्म छ। बीचमा भएका अवरोध लगायतका विषयका आधारमा सुरुङमार्ग हस्तान्तरणको म्याद थपिने नै छ।

सुरुङमार्ग काठमाडौंतर्फ उचाइमा छ भने धादिङको सिस्ने खोलामा गहिराइतिर। त्यसैले बलम्बुबाट सिस्ने खोलातिर ३.५ प्रतिशत ग्रेड (४५ डिग्रीलाई १०० प्रतिशत ग्रेड मानिन्छ) का दरले ओरालो हुन्छ। नौबिसेदेखि थानकोटसम्म अहिलेको सडक ११ प्रतिशत ग्रेडको छ। यस खाले उकालोमा गाडीले इन्धन बढी खपत गर्छ। सुरुङमार्ग सञ्चालन भएपछि अहिले सञ्चालन भइरहेको सडकभन्दा ५ किलोमिटर दूरी घट्छ।

अहिले बलम्बूबाट सिस्ने खोला पुग्न वा आउन साढे १० किलोमिटर पार हुनुपर्छ। सडकको प्रतिशत ग्रेड र दुरी दुवै कम हुँदा यात्रा खर्च कटौती हुन्छ। त्यसमाथि समयको बचत त हुने नै भइहाल्यो। साठी किलोमिटर प्रतिघण्टा दरमा यात्रा गर्दा तीन किलोमिटर दुरी ३ मिनेटमै पार गर्न सकिन्छ। सुरुङ ३ किलोमिटरभन्दा कम छ।

फ्लाइओभरबाट सुरङमार्ग आउने सडक
बलम्बुमा बन्दै गरेको फ्लाइओभर

सुरुङ निर्माणको रफ्तारमा पटक-पटक स्पिड ब्रेकर लागेर आयोजनाको म्याद थपिँदै गए पनि ब्रेकथ्रुको स्थितिमा पुग्नु सुखद पक्ष बनेको छ। तर, एक वर्षभित्र यही मार्गबाट गाडी कुदाउन भने बीचमा अवरोध नहुने अवस्था आउनुपर्छ। अन्यथा सुरुङ मार्गको भोग चलनका लागि थप प्रतीक्षा गर्नुपर्ने हुनसक्छ।