काठमाडौं। चालु आर्थिक वर्ष ८ महिनामा पोहोरको तुलनामा स्मार्टफोनको आयात बढेपनि व्यापारी खुशी छैनन्। सरकारी तथ्यांकमा स्मार्टफोन आयातको आँकडा बढेपनि यथार्थमा व्यापार बढ्न नसकेको भन्दै व्यापारी तनावमा छन्।
नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याद्योले आयातको तथ्यांक बढेपनि व्यापार सन्तोषजनक नरहेको बताए। उनले गत वर्षको तुलनामा यो वर्ष व्यापार ४० प्रतिशतभन्दा बढीले खस्किएको बताए।
‘नयाँ नयाँ मोडल बजारमा आएको छ, नयाँ नयाँ ब्राण्ड बजार भित्रिरहेका छन्। त्यो कारण आयातको तथ्यांक बढेको देखिन्छ। तर, बेच्न नसकेर तीनवटा कम्पनी त टाट पल्टिने स्थितिमा पुगेका छन्। अब एक दुई महिनामा व्यापार राम्रो भएन भने धेरै नाम चलेका ब्राण्डलाई असर पर्ने देखिन्छ,’ चुल्याद्योले भने।
उनले स्मार्टफोनको बिक्रीमा सुधार नदेखिएकाले कम्पनी नै बन्द गर्नुपर्ने जोखिम रहेको भन्दै कतिपय ब्राण्डले स्टाफलाई पारिश्रमिक दिनसमेत नसक्ने अवस्था आएको बताए।
‘धेरै स्मार्टफोन ब्राण्डले स्टाफ कटौती गरिरहेका छन्। आयातको तथ्यांकले ग्राउन्ड लेभलको व्यापार झल्काउँदैन। किनकि आयातको डेटामा व्यक्तिगतरुपमा भित्रिएका फोन पनि हुन्छन्। सँगै भारतसँगको खुला सीमानाले गर्दा अवैध आयातले समस्या थपेको छ,’ उनले भने।
गत वर्षको ८ महिनाको तुलनामा चालु वर्ष सोही अवधिमा झण्डै पौने ३ अर्ब रुपैयाँ बढी मूल्यको स्मार्टफोन भित्रिएको छ।
आर्थिक वर्ष २०७९/८० को ८ महिनामा १६ अर्ब ६० करोड रुपैयाँबराबरको १० लाख ९४ हजार थान स्मार्टफोन आयात भएकामा चालु वर्ष फागुनसम्म आयात संख्या डेढ लाखले बढेको भन्सार विभागको तथ्यांक छ। यो वर्ष ८ महिनामा १९ अर्ब ३७ करोड रुपैयाँ बराबर १२ लाख ४९ हजार थान फोन आयात भएको छ।
स्मार्टफोन आयातबाट सरकारले पोहोर ८ महिनाको तुलनामा यसपालि झण्डै ५१ करोड रुपैयाँ बढी भन्सार संकलन गरेको छ। सरकारले यो वर्ष ८ महिनामा ३ अर्ब ६० करोड रुपैयाँ भन्सार उठाएको हो।