सरकारी समितिको सुझाव : निजगढ विमानस्थल बनाउनेलाई त्रिभुवन विमानस्थल व्यवस्थापनको जिम्मा

वसन्तराज उप्रेती
२०८० चैत्र ६ गते १२:३७ | Mar 19, 2024
सरकारी समितिको सुझाव : निजगढ विमानस्थल बनाउनेलाई त्रिभुवन विमानस्थल व्यवस्थापनको जिम्मा

काठमाडौं । सरकारी समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा विदेशी कम्पनी भित्र्याउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मा दिनुपर्ने निष्कर्ष निकालेको छ।

Tata
GBIME
Nepal Life

पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा गठित समिति निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि मात्र विदेशी कम्पनी आउने सम्भावना नभएकाले सरकारले लगानी आकर्षित गर्नका लागि निजगढ विमानस्थल बनाउन चाहनेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मा दिनुपर्ने निष्कर्षमा पुगेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भने निजगढ विमानस्थल निर्माणमा विदेशी कम्पनी भित्र्याउन सबै अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मा दिनुपर्ने प्रस्ताव गरेको थियो।

क्यानको यो प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सकारात्मक भएका थिए। दाहाल सकारात्मक भएकै कारण मन्त्रिपरिषद्ले यसबारे सुझाव दिन पूर्वसचिव अधिकारीको संयोजकत्वमा गत माघ १८ गते ५ सदस्यीय समिति गठन गरेको थियो।

समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मा एउटै कम्पनीलाई दिनुपर्ने सुझाव राखेर प्रतिवेदन तयार पारेको स्रोतले जानकारी दियो।

करिब दुई वर्ष अगाडि संचालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले सातामा एउटा उडान गर्दै आएको छ भने १५ महिना अगाडि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म एउटै नियमित व्यावसायिक उडान हुन सकेको छैन।

उडान संचालनका लागि ती दुवै विमानस्थल विदेशी कम्पनीलाई व्यवस्थापन गर्न दिनुपर्ने समितिको सुझावमा उल्लेख छ। समिति केही दिनभित्र प्रतिवेदन बुझाउने तयारीमा छ।

समितिमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका नागरिक उड्डयन महाशाखा प्रमुख बुद्धिसागर लामिछाने, लगानी विज्ञ घनश्याम ओझा, लगानी बोर्डका सहसचिव र क्यानका उपनिर्देशक दीपेन्द्र श्रेष्ठ सदस्य छन्।

क्यानको प्रस्ताव बाहिरिए लगत्तै भारतीय अर्बपति व्यापारी गौतम अडानीको स्वामित्वमा रहेको अडानी समूहले निजगढ विमानस्थल निर्माणमा चासो देखाएको थियो। अडानी समूहका प्रतिनिधि अनिल पटानीले पुस अन्तिम साता काठमाडौं आएर क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई भेटी निजगढ विमानस्थल निर्माणको योजनाबारे सोधेका थिए।

अडानी समूहले भारतमा ७ वटा विमानस्थलको संचालन र व्यवस्थापन हेर्दै आइरहेको छ।

मन्त्रिपरिषद्को गत कात्तिक २३ गतेको बैठकले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने निर्णय गर्दै आवश्यक प्रक्रिया अघि बढाउन पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएपछि क्यानले निर्माणको खाका तयार पारेको थियो। क्यानका महानिर्देशक अधिकारीले खाकाबारे प्रधानमन्त्री दाहाललाई ब्रिफिङ गरेका थिए।

क्यानले तयार पारेको मोडालिटीमा ३ हजार ८४५ हेक्टरमा विमानस्थल बनाउने प्रस्ताव गरिएको छ। मोडालिटी अनुसार पहिलो चरणमा १ हजार ९३३ हेक्टरमा मात्र विमानस्थल बनाइनेछ। यसका लागि सवा १ खर्ब रुपैयाँ लाग्ने अनुमान छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरु

यो रकम सरकारले जुटाउन सक्ने अवस्था नरहेकाले विदेशी कम्पनीलाई व्यवस्थापनको जिम्मा दिने गरि निर्माण गर्न लगाउनुपर्ने प्रस्ताव क्यानले गरेकामा अध्ययन समितिले पनि त्यही प्रकृतिको सुझाव प्रतिवेदन तयार पारेको हो।