वैशाखमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला हुने, सात करोड कारोबारको अनुमान

बिजमाण्डू
२०८० चैत्र ४ गते १४:३१ | Mar 17, 2024
वैशाखमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला हुने, सात करोड कारोबारको अनुमान

काठमाडौं। १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला-२०८१ वैशाख २६ गतेदेखि हुने भएको छ। राजधानीमा आयोजना हुने सो मेलामा उद्देश्य स्वदेशी उत्पादनको प्रवर्धन गर्ने रहेको छ।

Tata
GBIME
Nepal Life

नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष यो मेला आयोजना गर्दै आएको छ। यसपटक अगामी वैशाख २६ देखि ३० गतेसम्म काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा मेला आयोजना हुनेछ। ‘खोजौं नेपाली, रोजौं नेपाली’ र ‘नेपाली वस्तुको प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने मूल नाराका साथ मेला आयोजना हुँदैछ।

देशभर करिब ६ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रदर्शनीले प्रतिविम्बित गर्ने महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले जानकारी दिए। प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनबाट समेत सहभागिता रहने महासंघले जनाएको छ।

प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरि बीटुबी, बीटुसी, बीटुजी विषयमा अन्तरक्रिया गरिनेछ। साथै, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव पनि हुनेछ।

प्रदर्शनीमा २५० वटा स्टल रहने र दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अनुमान आयोजकको छ। मेलाबाट ७ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको अध्यक्ष सिंहले बताए।