एमाले-माओवादी नजिकिँदा कांग्रेस सशंकित, मन्त्रीले नै टिआरसी विधेयक रोकेपछि प्रचण्ड फायर

नेत्र तामाङ
२०८० फागुन २० गते २२:४१ | Mar 3, 2024
एमाले-माओवादी नजिकिँदा कांग्रेस सशंकित, मन्त्रीले नै टिआरसी विधेयक रोकेपछि प्रचण्ड फायर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ सम्बन्धी विध्यक पारित हुनेमा ढुक्क थिए। प्रचण्डले बिहानै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा भेटेका थिए। प्रतिपक्ष एमाले समेत विधेयक पारितका लागि तयार भएपछि १७ वर्षदेखिको कानुनी किचलो एक तहबाट पार लाग्नेमा प्रचण्ड करिब ढुक्क थिए।

Tata
GBIME
NLIC

आइतबार दिउँसो कानुन, न्याय तथा मानव अधिकार समितिमा टीआरसी विधेयकमा दलहरुबीच छलफल भयो। बैठकअघि नै ओलीको सन्देश लिएर आएका संसदीय दलका सचेतक महेश बर्तौलाले नै सरकारलाई सहजीकरण हुनेगरि प्रस्ताव राखे। जसको समर्थन धमाधम माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले गरे। कांग्रेस सांसद रमेश लेखकले पनि सरकारको धारणा अन्तिम भए पनि विषय आइतबार नै टुंग्याएर जानुपर्ने धारणा राखे।

तर बैठकको अन्त्यतिर रोचक भयो। सधैं किचलो गर्ने एमाले विधेयकको पक्षमा उभिँदा सरकारकै मन्त्रीले समय मागे। कानुन न्याय तथा संसदीय मामिला मन्त्रीले दुई विषयमा थप छलफल र समय माग गरे।

आफ्नो कार्यकालमा विधेयक समितिबाट पारित हुन लाग्दा कानुनमन्त्री गुरुङ खुसी हुनुपर्ने हो तर उल्टै उनैले विधेयक पारित गर्नका लागि समय मागे। सबैको सुझाव समेटेर मस्यौदा तयार गरेपछि समितिमा छलफलका लागि फेरि ल्याउने मन्त्रीको मत थियो। सरकारी विधेयकमा मन्त्रीले नै समय माग गरेपछि अन्यले पारितको जोडबल गर्ने त अवस्था नै बनेन। बैठक अर्को सूचना जारी नभएसम्मका लागि रोकियो। समिति सचावलयले सोमबार बिहानका लागि बैठकको सूचना आइतबार अबेर सार्वजनिक गरेको छ।

कानुन समितिको आइतबारको बैठक । तस्बिर : प्रदीपराज वन्त/रासस

यो बेलासम्ममा खबर प्रधानमन्त्री निवास बालुवाटार पुगिसकेको थियो। ‘त्यसपछि प्रधानमन्त्री दाहाल फायर हुनुभयो। माओवादीकै नेतासँग उहाँ असन्तुष्ट हुनुहुन्थ्यो,’ बालुवाटार स्रोतले भन्यो। त्यसपछि दाहालले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग कुराकानी गरे।

लगत्तै देउवाले मन्त्रीहरुलाई आफ्नो निवास बुढानिलकण्ठ डाके। साँझ ५ बजेतिर सुरु भएको बैठकमा कांग्रेसका दुई मन्त्री भने उपस्थित भएनन्। परराष्ट्रमन्त्री एनपी साउद फिनल्यान्ड जाने तयारीका कारण बैठक निस्कन पाएनन्। तर अन्तिममा उनको फिनल्यान्ड भ्रमण रद्द भयो। यता खेलकुद मन्त्री डिगबहादुर लिम्बु परीक्षाका कारण भन्दै उपस्थित भएनन्।

देउवाले कांग्रेसका मन्त्रीलाई प्रचण्ड निकै रिसाएको भन्दै ब्रिफ गरे। त्यसपछि के गर्दा ठिक हुन्छ भनी सुझावसमेत मागे देउवाले। मन्त्रीहरुको सुझावपछि देउवाले मन्त्रीमण्डल हेरफेर हुनसक्छ तयार रहनु भन्ने निर्देशन दिए। एक जनालाई मात्र हटाउँदा कारबाही हुने देखिएकोले सबै मन्त्री फेर्न कांग्रेस लगभग तयार रहेको स्रोतले जनायो।

‘मोहन बस्नेतको केसमा पार्टी सिरियस हो। तर उहाँलाई मात्र हटाउँदा कारबाही गरेजस्तो देखिन्छ। त्यसैले सबैजना फेरिन सक्छ भनेर सभापतिले निर्देशन दिनुभएको छ,’ स्रोतले भन्यो।

देउवाका स्वकीय सचिव भानु देउवाले भने बैठकमा टिआरसी विधेयकमा कसरी जाने भन्ने विषयमा मात्र छलफल भएको दाबी गरे।

‘टिआरसीको विषयमा छलफल गर्न मन्त्रीहरुलाई बोलाउनुभएको हो। भोलि बैठक छ समितिमा। यसलाई भोटिङमा लाने कि सहमतिमा लाने भन्ने विषयमा छलफल भएको हो,’ सभापति देउवाका स्वकीय सचिव देउवाले भने।

सकेसम्म सहमतिमा जाने नभए भोटिङमा पारित गर्ने भन्ने निर्णय बैठकको रहेको उनले बताए।

माओवादी अध्यक्षसमेत रहेका दाहाल टिआरसी आफ्नै पालामा पारित भएको जस लिन गठबन्धन नै फेरबदलको बार्गेनिङमा लागेको बताइन्छ। विधेयक शीर्ष नेताहरु ओली र देउवा पनि आफ्नो नेतृत्वमा पारित गर्न चाहन्छन्।

राष्ट्रिय सभा अध्यक्ष र मन्त्री फेरबदलको निहुँ बनाएर दाहालले आफ्नो पालामा टिआरसी विधेयक पारित गर्न खोजेको माओवादी नेताहरु बताउँछन्। यसका लागि प्रधानमन्त्री दाहालले आइतबार बिहानै प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेका थिए। एमाले अध्यक्ष ओली भेट्न शर्मा बालकोटसमेत पुगेका थिए। त्यसपछि भने ओली लचिलो बनेको बताइन्छ।