‘बर्दिया अल सिजन डेस्टिनेसन, सबै वर्गका पर्यटकलाई वर्षैभरि आतिथ्य सम्भव’, सरोज जोशीको विचार

बिजमाण्डू
२०८० फागुन ११ गते ०६:३६ | Feb 23, 2024
‘बर्दिया अल सिजन डेस्टिनेसन, सबै वर्गका पर्यटकलाई वर्षैभरि आतिथ्य सम्भव’, सरोज जोशीको विचार

काठमाडौंबाट बर्दिया ५६७ किलोमिटर टाढा छ। पहिले पहिले काठमाडौंबाट घुम्न निस्कनेहरुको पहिलो रोजाइ नै पोखरा र चितवन थियो। छोटो समयको बसाईँका आधारमा आन्तरिक तथा बाह्य पर्यटकहरु यी गन्तव्यमा भ्रमणका लागि जाने गर्थे। दुरीका हिसाबले टाढा र धेरै समय लाग्ने भए पनि दुई वर्षयता भने बर्दिया धेरैको रोजाइमा छ।

Tata
GBIME
Nepal Life

यहाँ आन्तरिक र बाह्य पर्यटकको आवागमन राम्रो हुँदै आएको छ। केही ठाउँमा सडक विस्तारका कामले असहजताबाहेक सडक पहिलेभन्दा धेरै सुधारिएको छ। काठमाडौंबाट नेपालगञ्ज फ्लाइट लिएर आउने पर्यटक त छँदैछन्। बुद्ध एयरले पोखरा-नेपालगञ्जतर्फ गर्दै आएको प्रादेशिक उडानले पनि पर्यटकलाई बर्दिया भ्रमणमा अहिले थप सहज बनाइदिएको छ।

बर्दियामा दशकौं अगाडिदेखि नै यहाँका स्थानीयले पाहुनालाई आतिथ्यता गर्दै आएका छन्, जुन आफैंमा ‘अर्गानिक’ छ। जसले यहाँको महत्त्व अझै बढ्‍दै छ। बर्दिया आफैंमा बाघको पर्याय बनेको पर्यटकीय गन्तव्य हो। यहाँ बाघसँगै थारु संस्कृतिको पनि उत्तिकै महत्त्व छ।

५०८ वर्गकिलोमिटरमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्ज मुलुकका संरक्षित क्षेत्रमध्ये जैविक विविधताको अनुपम नमुना हो। यहाँ बाघ र गैंडा छन्। हात्ती लगायत जनावर र चराचुरुरुंगीको बासस्थान हो बर्दिया। संसारभर बाघको संख्या घटिरहँदा यो लोपोन्मुख जनावर जोगाउने चिन्ता एकातिर छ, बर्दियामा भने बाघको संख्या उल्लेख्य बढेको छ। प्राकृतिक बासमा रहेका बाघ हेर्नैका लागि पनि पर्यटकको आवागमन वृद्धि हुँदै आएको छ।

कोभिड-१९ महामारी अगाडि बर्दिया सुनसानजस्तै नै थियो। त्यतिखेर वन्यजन्तुको पारखीबाहेक अरु पर्यटकको आवागमन खासै थिएन। कोभिड-१९पछि आन्तरिक र बाह्य पर्यटकमा प्रकृति र वन्यजन्तु भएकै गन्तव्य पहिलो प्राथमिकतामा पर्दै आएको छ। कोभिड-१९ पछि आन्तरिक र बाह्य पर्यटकको आवागमनका कारण बर्दिया ‘अल सिजन डेस्टिनेसन’ भइसकेको छ। वर्षमा कुनै पनि समय यहाँ आएर आतिथ्य पाउन सकिन्छ।

कोभिड-१९ पछि अझै बढी आन्तरिक पर्यटकको आवागमन वृद्धि भइरहेको अवस्था छ। नेपालभित्रैको भूगोल नहेरेका नेपाली पर्यटक कोरोनाकालअघि थाइल्याण्ड, इण्डोनेसिया, दुबई लगायतका गन्तव्यतर्फ भ्रमणमा जाने क्रम बढेको थियो। नेपाल आफैंमा पर्यटनका लागि भर्जिन ल्याण्ड हो।

पहिला होमस्टे मात्र रहेको बर्दियामा अब पर्यटकका लागि आवश्यक पूर्वाधार छन्। होटल, रिसोर्ट खुलेका छन्। बेलायतका राजा चार्ल्स राजकुमार हुँदा बर्दिया आएका थिए। यस्तै, कलाकार लियोनार्दो डिकाप्रियो लगायत विश्व प्रख्यात व्यक्तित्व यहाँ आएपछि लक्जरियस बसोबास, खानपिनको सेवा विस्तार भइसकेको छ। यहाँको रैथाने संस्कृतिसहित बस्ने र खाने सुविधा विस्तार भइसकेको छ। अहिले पर्यटकले यहाँ प्रकृति, संस्कृति र अत्याधुनिक प्रविधिसहितको आतिथ्यता पाउन सक्छन्।

यहाँका होटल, रिसोर्ट बाह्यरुपमा सामान्य देखिए पनि प्रकृतिलाई पहिलो प्राथमिकता दिइएर अत्याधुनिक सेवा दिइरहेका छन्। संरचना कंक्रिट नै भए पछि हामी प्रकृति केन्द्रित छौं। पाहुनाको सुरक्षाका लागि साना-साना संरचना बनाइएको छ। माटोयुक्त जमिनमा माटोकै संरचना बनाइएको छ।

पहिलाको तुलनामा अहिले प्रविधिको विकास भएसँगै बजारीकरणका लागि निकै सहज भएको छ। यो सँगै यहाँ एक पटक आउनुभएका पर्यटकको मौखिक प्रचार प्रसारले बर्दियालाई थप उजागर गरिदिएको छ। जसले यहाँको प्रत्यक्ष अनुभव लिनुभएको उही अनुभवको आधारमा विश्वास गरेर आउनुहुने पर्यटकको संख्या पनि बढ्दै गएको छ।

कोरोना महामारी पछि मानिसहरु घुम्न निस्कने क्रम बढेको छ। त्यसमा पनि टिकटक, इन्स्टाग्राम, फेसबुक लगायत सोसल मिडियाहरुले बर्दियाको पर्यटन प्रवर्धनमा विशेष टेवा दिएको छ। यहाँ आएर घुमेको, बाघ र अन्य वन्यजन्तु देखिएका फोटो, भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको भेटिनु त्यसको पुष्टिका आधार हुन्।

यहाँ पर्यटक आवागमन बढ्न थालेको दुई दशक भयो। तर, आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको कोरोनाकालपछि नै हो। आन्तरिकसँगै युरोपेली पर्यटकको आवागमन हाल उल्लेख्य छ। अब विस्तारै चीन, थाइल्याण्ड, अस्ट्रेलिया लगायत मुलुकका पर्यटकको आवागमन पनि बढिरहेको छ।

दुई वर्षयता ट्राभल एजेन्सी पनि बर्दिया केन्द्रित हुन थालेका छन्। विदेशी पर्यटकले आइटिनरीमै बर्दियामा बाघ देखाउने माग गर्न थालिसकेका छन्। यसैअन्तर्गत ट्राभल एजेन्टहरु आफैं आएर पनि इन्क्वाइरी गरिरहेका भेटिन्छन्। बाघ देखाउन सम्भव भएकाले बुकिङ सहज छ।

पहिला बर्दिया ‘ब्याक प्याकर’ गन्तव्यको नामले चिनिन्थ्यो। युरोपियन पर्यटकलाई सन्तुष्ट पार्न सकिन्छ/सकिन्न भन्ने कुरामै अलमल हुन्थे ट्राभल एजेन्ट। तर, अहिले यहाँको पूर्वाधार विस्तारसँगै उहाँहरुको हेराइ नै परिवर्तन भइसकेको छ।

यहाँ घुम्न आउनेका लागि न्यूनतम ३ रात ४ दिनको प्याकेजको माग राम्रो रहेको छ। अलिकति चुनौती भनेको सडक पूर्वाधार नै हो। तर अहिले विभिन्न वायुसेवामार्फत हुँदै आएको हवाई सञ्जाल विस्तार भइसकेका कारण अधिकांश पर्यटकलाई सहज हुँदै आएको छ।

यहाँ आउने पर्यटकले हाल कस्टमाइज प्याकेज अन्तर्गत सेवा लिन सक्छन्। खाना, बास र घुमघाममा पर्यटकले आफूले चाहे अनुसारको आतिथ्यता उपलब्ध छ। हिजोआज अधिकांश पर्यटक आफ्नै निजी सवारीसाधन लिएर घुमघाममा निस्केको भेटिन्छ। सडक खण्ड राम्रो भइदिएको अवस्थामा त्यस्ता पर्यटकलाई थप सहज हुने थियो।

नजिकै रहेको नेपालगञ्जको पर्यटकीय गतिविधिको आफ्नै मौलिकता छ र बर्दियाको आफ्नै। बर्दिया भारतको लखनउबाट पनि नजिकै छ। गर्मीयाममा शीतलताका लागि आउने भारतीय पर्यटकको आवागमन दर राम्रो हुने गरेको छ।

यो सँगै राजापुरमा काम गर्दै आएका मानिस आराम गर्नकै लागि पनि बर्दिया आइरहने क्रम वृद्धि हुँदै गएको छ। बर्दियाको पर्यटन गतिविधिमा आएको रुपान्तरणले होटलमात्र चलेको छैन, यहाँ भएका स्थानीय उत्पादन खपतसँगै प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पनि सँगसँगै सिर्जना भइरहेको छ। पछिल्लो समय रोजगारीका लागि विदेश जान लालायित हुँदै आएका स्थानीयले घरमै बसेर काम पाएको अवस्था छ।

यहाँ आदिवासी थारु बहुल बस्ती छन्। आआफ्नै संस्कृति र खानपान छ। आतिथ्यता सेवामा अग्रसर थारु समुदायका नयाँ पुस्ताले पर्यटन गतिविधिको लाभबारे बुझेका छन्। अघिल्ला पुस्ता पर्यटनको सम्भावनाबारे जानकार थिए तर पर्यटक आवागमन कम थियो। अहिले युवा पुस्ता यहीँ बसेर काम गर्न उत्साहित छन्। होटल रिसोर्ट व्यवसाय त चल्ने नै भयो, सँगै जोडिएको खाद्य सामाग्री, सवारीसाधन सुविधा लगायतको माग पनि वृद्धि हुँदै आएको छ।

पर्यावरण पर्यटनको मागअनुसार यहाँ अहिले विभिन्न होटल तथा रिसोर्टले विद्युतीय गाडीको प्रयोग गर्न थालिसकेका छन्। जंगल सफारी पुरानै पाराको छ। यसमा सुधार आवश्यक देखिन्छ। जंगल सफारीमा विद्युतीय गाडी चलाउन दिइयो भने त्यो व्यवस्थापन गर्न व्यवसायी तयार छन्। यसले वन्यजन्तुलाई पर्न आउने बाधा व्यवधान कम हुन सक्छ।

अहिले बर्दियाको उत्कृष्ट रिसोर्ट भनेको कर्णाली टाइगर टप हो। जुन यहाँको पुरानो अन्तर्राष्ट्रिय ब्राण्‍ड हो। यो सँगै अहिले बर्दियामा आधा दर्जन रिसोर्ट अत्याधुनिक प्रविधियुक्त छन्। एक दर्जन बढी होमस्टे सञ्चालित छन्। सबै वर्गका पर्यटकका होमस्टे, होटल रिसोर्ट विस्तार भइसकेको अवस्था छ।

अहिले यहाँ बीबीसीअन्तर्गतको एउटा टिम आएर डकुमेन्ट्री तयार गर्दैछ। दुई महिनाअघि आएका बीबीसी प्रतिनिधिले बर्दियाको वाइल्डलाइफ छायांकन गरिरहेका छन्। लेजर ट्राभलका लागि यहाँ करिब एक महिना भ्रमणका लागि पर्यटक आउन थालेका छन्।

हामी यहाँका व्यवसायीले पर्यटकको मागलाई मध्यनजर गर्दै बर्दिया मात्र नभइ यहाँबाट खप्तड, रारा भ्रमण सेवा पनि दिँदै आएका छौं। हामी यो ठाउँलाई ‘बेस’ बनाउने अभियानमा छौं। हाम्रो मूल उद्देश्य भनेकै पाहुनालाई लामो समयसम्म राखेर ‘लाइफ टाइम एक्सपेरियन्स’ दिनु हो। जसले गर्दा एकै ठाउँमा मात्र नभइ बर्दियासँग जोडिएका अरु पर्यटकीय गन्तव्यमा पनि आर्थिक गतिविधि चलायमान होस्।

एक भीआइपी गेस्टले लक्जरियस रिसोर्टमा बसे पनि होमस्टेको अनुभव लिन चाहन्छ। यो ट्रेन्ड पनि बढ्दै छ।

खोला वारी होटल रिसोर्ट छन्, पारि राष्ट्रिय निकुञ्ज। हामी निकुञ्जनजिकै छौं। यहाँ हामीले सनसेट पोइन्ट, सामुदायिक वनले करिब आधा दर्जन मचान बनाएका छन्। बर्दिया घुम्न आउँदा राष्ट्रिय निकुञ्जभित्र जानै पर्छ भन्ने पनि छैन। विभिन्न सामुदायिक वनले बनाएको मचानमा पनि बसेर पनि यहाँको अवलोकन गर्न सकिने व्यवस्था छ।   

सिजन र अफ सिजनलाई लिएर पर्यटकको गन्तव्यमा आवागमनको अवस्था तोकिँदै आइएको छ। यो गाँठो कसरी लगाइएको छ भने हामीले समग्र पर्यटनलाई हिमाल आरोहणसँग जोडेका छौँ। हिमाल चढ्ने सिजनलाई पर्यटक आगमन याम मानिएको छ। अवधारणा नै त्यही छ तर त्यो होइन।

हिमालको आफ्नै पर्यटन महत्त्व छ भने वाइल्डलाइफ, कल्चर लगायतको आफ्नै। एकै दिनमा विभिन्न थरीको मौसम अनुभूति गर्न सकिने गन्तव्य हो नेपाल। हिमाल मात्रै होइन वन्यजन्तु, संस्कार संस्कृति सबै मौसममा हेर्न सकिन्छ।

अब बर्दियाको कुरा गर्ने हो भने काठमाडौंकै जाडो छल्न पनि आउन सकिन्छ। जाडो महिनामा बाघहरु घाम ताप्न गाँसे मैदानमा निस्कन्छन्। त्यतिखेर मचानमा बसेर उनीहरुलाई हेर्न सकिन्छ। वर्षा यामको दुई महिनाबाहेक बर्दिया आन्तरिक र बाह्य पर्यटकका लागि अद्भुत पर्यटकिय गन्तव्य हो।

६ वर्ष अगाडि बर्दियामा पुल थिएन। वर्षामा जलमय हुँदा राष्ट्रिय निकुञ्ज टापुजस्तै हुन्थ्यो। अहिले पुल बनिसकेपछि वर्षायाममा पनि पर्यटकको आवागमन भइरहेको छ।                    

(पर्यटन उद्यमी जोशी बर्दिया फरेष्ट रिसोर्टका सञ्चालक हुन्)