
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले क्यानडाका लागि नवनियुक्त राजदूत भरतराज पौड्यालसँग निर्यात प्रवर्धनका लागि पहल गर्न आग्रह गरेको छ।
राजधानीको जमलस्थित चेम्बर भवनमा आज चेम्बर पदाधिकारी र पौड्यालबीच भेट भएको थियो। त्यसक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रवर्धन हुने गरि वातावरण बनाउन आग्रह गरेका हुन्।
त्यसक्रममा उनले नेपाली वस्तुहरुको निर्यातका लागि क्यानडा राम्रो बजार हुन सक्ने बताएका थिए। गरगहना, पस्मिना, कार्पेट, छुर्पी, घिउ लगायतका वस्तुहरुको निर्यात सहजीकरण गर्न सकिए व्यापार घाटालाई न्यूनीकरण गर्न सहयोग पुग्ने उनले बताएका थिए। त्यसका लागि मल्लले ‘नेपाल हाउस’को अवधारणा पनि अघि सारेका थिए।
क्यानडामा नेपालीको संख्या बढिरहेको भन्दै मल्लले त्यहाँ रहेका एक नेपाली मार्फत एक पर्यटक भित्र्याउने वातावरण बनाउन सके नेपालको पर्यटन क्षेत्रमा लाभ पुग्ने पनि धारणा राखेका थिए। यस्तै, उनले क्यानडाका निजी क्षेत्रबाट नेपालमा लगानी भित्र्याउनका लागि समेत भूमिका निर्वाह गर्न पनि पौडेललाई आग्रह गरेका थिए।
त्यसक्रममा नवनियूक्त राजदूत पौड्यालले क्यानडामा आफ्नो मुख्य चोसो व्यापार सहजीकरण र नेपालमा लगानी अभिवृद्धि नै रहेको बताएका थिए। नेपाल र क्यानडाको निजी क्षेत्रबीच ‘बी टु बी’ भेटवार्ताका लागि आफूले पहल गर्ने पनि उनले बताएका थिए।