
काठमाडौं। गत असोजमा १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियमसहित २३७.५८ रुपैयाँ प्रति कित्ताका दरले आइपीओ बिक्री गरेको सोनापुर मिनरल्स एण्ड आयल कम्पनी यो आर्थिक वर्ष ६ महिनामै १४ करोड ७८ लाख रुपैयाँ नोक्सानीमा गएको छ।
कम्पनीको प्रति सेयर आम्दानी ४.८१ रुपैयाँ ऋणात्मक छ। अन्य वित्तीय अवस्था पनि नाजुक छ। कम्पनीले एकैपटक दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो।
अब एकपटक आइपीओ निष्कासन अघि कम्पनीले नै सार्वजनिक गरेको वित्तीय विवरण हेरौं। कम्पनीले आइपीओ निष्कासनअघि लगानीकर्तामाझ गत आर्थिक वर्ष २०७९/८० मा १४ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको र प्रति सेयर आम्दानी ७.८ रुपैयाँ रहेको विवरण देखाएको थियो।
त्यतिखेर यो आर्थिक वर्ष ५४ करोड रुपैयाँ नाफा आर्जन गर्ने तथा प्रति सेयर आम्दानी १७.५८ रुपैयाँ पुग्ने प्रक्षेपण देखाइएको थियो। त्यसलाई पत्याएर वैदेशिक रोजगारीमा गएकासहित पौने १२ लाखले आवेदन दिएका थिए। तीमध्ये साढे १० लाखले आइपीओ पाएका थिए।
कम्पनीले त्यतिखेर वित्तीय विवरणमा म्यानुपुलेसन गरेको अहिलेको विवरणले देखाएको छ। त्यति मात्र होइन, नेपाल धितोपत्र बोर्डमाथि पनि प्रश्न उठेको छ। बोर्डले के आधारमा प्रिमियम मूल्यमा आइपीओ निष्कासनको अनुमति दिएको थियो भन्ने प्रश्न पेचिलो बनेको छ।
त्यसो त आइपीओ निष्कासनअघि मुनाफा देखाएर अहिले नोक्सानीमा गएको सोनापुर मिनरल्स एक्लो कम्पनी होइन। गत जेठमा आइपीओ निष्कासन गरेको नेपाल रिपब्लिक मिडिया ६ महिनामा ४२ लाख ६४ हजार रुपैयाँ नोक्सानीमा गएको छ। कम्पनीको प्रति सेयर आम्दानी ०.४४ रुपैयाँ ऋणात्मक छ।
जबकि कम्पनीले आइपीओ निष्कासनअघि गत आर्थिक वर्ष २०७९/८० मा १३ लाख २४ हजार रुपैयाँ नाफा देखाएको थियो। कम्पनी २०७८/७९ मा ४ करोड ८२ लाख रुपैयाँ नोक्सानीमा थियो।
नोक्सानीबाट नाफामा गएको र २०८०/८१ मा ५ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपणका कारण लगानीकर्ता नेपाल रिपब्लिक मिडियाको आइपीओमा झुम्मिएका थिए। तर, ती लगानीकर्ताले यतिखेर कम्पनीले झुक्याएको अनुभव गरेका छन्।
कात्तिकमा आइपीओ निष्कासन गरेको नेपाल वायरहाउस कम्पनी चालु वर्ष ६ महिनामा ९ करोड २१ लाख रुपैयाँ घाटामा गएको छ।
कम्पनीको प्रति सेयर आम्दानी १३.४ रुपैयाँ ऋणात्मक छ। आइपीओ निष्कासनअघि कम्पनीले २०८०/८१ मा ३ करोड ७९ लाख खुद नाफा कमाउने र प्रति सेयर आम्दानी ५.५२ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको थियो।
गत वैशाखमा आइपीओ निष्कासन गरेको सिटी होटल चालु आर्थिक वर्ष पुससम्म ११ करोड ७९ लाख रुपैयाँ नोक्सानीमा छ। कम्पनीको प्रति सेयर आम्दानी ७.०५ रुपैयाँ ऋणात्मक छ। कम्पनीले आइपीओ निष्कासन अघि यो वर्ष ९८ लाख रुपैयाँ खुद नाफा हुने प्रक्षेपण गरेको थियो।
पछिल्लो समय आइपीओ निष्कासन गरेका अधिकांश कम्पनी घाटामा रहेको उनीहरुले नै सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ।
आइपीओ निष्कासन अघि नाफामा रहेको भनिएका कम्पनी एकाएक किन घाटामा गएका हुन् त? यसलाई सेयर बजारका जानकार सुवासचन्द्र ढुंगाना आइपीओमा लगानीकर्तालाई आकर्षित गर्न वित्तीय विवरण नै म्यानुपुलेट गरेको रुपमा अर्थ्याउँछन्।

‘आइपीओ निष्कासनपछि कम्पनी एकाएक घाटामा जानु भनेको त्यसअघि वित्तीय विवरण नै म्यानुपुलेट गरेको थियो भनेर बुझ्नुपर्छ,’ उनले भने, ‘आइपीओमा लगानीकर्तालाई आकर्षित गर्न रिजर्भमा भएको सबै रकमलाई नाफामा देखाएर म्यानुपुलेट गरेको कुरा अहिलेको वित्तीय विवरणबाट छर्लंग हुन्छ।’
सर्वसाधारणबाट पुँजी उठाएर त्यस अनुसारको व्यवसाय गर्न नसक्दा पनि कम्पनी घाटामा गएका हुन्। ‘पब्लिकबाट रकम उठ्ने वित्तिक्कै लगानी हुँदैन। त्यस्तो भएपछि सुरुमा कम्पनी घाटामा जान्छन्। तर, कम्पनीको रिजर्भमा कति रकम छ भन्ने पनि हुन्छ,’ ढुंगानाले भने, ‘पुँजी उठाएर त्यो अनुसारको व्यवसाय गर्न नसक्दा स्वाभाविक रुपमा कम्पनी घाटामा जान्छ नै।’
उनको भनाइमा बैंक तथा वित्तीय क्षेत्रका अर्का एक विज्ञ पनि सहमत छन्। उनी कम्पनीहरुले आइपीओ निष्कासनअघि वित्तीय विवरणमा जानाजान म्यानुपुलेसन गर्ने गरेको तर नेपाल धितोपत्र बोर्डले आँखा चिम्लिने गरेको बताउँछन्।
‘कम्पनीहरुले आइपीओ निष्कासनका लागि गलत वित्तीय विवरण पेस गर्दा समेत धितोपत्र बोर्डले भेरिफाइ नगरि पैसा उठाउन अनुमति दिने काम भइरहेको छ। अझ कतिपय कम्पनीलाई त प्रिमियममा आइपीओ बिक्री गर्न दिइयो,’ उनले भने, ‘प्रिमियममा आइपीओ बिक्रीको अनुमति दिंदा चलखेल हुने गरेको आरोपमा सत्यता भएको अहिलेको वित्तीय विवरणबाट स्पष्ट हुन्छ।’
आइपीओ निष्कासनअघि कम्पनीहरुले गरेको मुनाफाको प्रक्षेपण विवरण
कम्पनी | यो आर्थिक वर्षका लागि प्रक्षेपित खुद नाफा |
सोनापुर मिनरल्स एण्ड आयल | ५४,०६,७७,००० |
नेपाल वायरहाउस कम्पनी | ३,७९,५६,००० |
नेपाल रिपब्लिक मिडिया | ५,३६,५४,४३० |
पिपुल्स हाइड्रोपावर | ६०,९५,०२,००० |
बाराही हाइड्रोपावर | १,३६,५४,००० |
एशियन हाइड्रोपावर | ४,८१,२१,००० |
मायाखोला हाइड्रोपावर | १,४६,२२,७१० |
सुभम पावर | २९,९३,००० |
सानिमा मध्य तमोर हाइड्रोपावर | २,३६,६०,४८,००० |
मेन्छियम हाइड्रोपावर | ६,२७,४६,०१६ |
इन्ग्वा हाइड्रोपावर | ९,६१,६८,००० |
मोदी इनर्जी | ४४,३४,००० |
रावा इनर्जी | ३,६२,१५,००० |
सिटी होटल | ९८,४९,००० |
थ्री स्टार हाइड्रोपावर | ५,९९,३३,००० |
अप्पर स्याङ्गे हाइड्रोपावर | १,४६,७९,८७० |
मनकामना इन्जिनियरिङ हाइड्रोपावर | १३,९८,५९,९२० |
हाथवे इन्भेष्टमेन्ट | १३,५१,६९,००० |
माथिल्लो मैलुङ खोला जलविद्युत | ८,२२,८३,००० |
आइपीओमा अन्डरराइटिङले गर्दा लगानीकर्ताको लगानी नै जोखिममा पर्ने अवस्था देखिएको ती विज्ञको भनाइ छ। ‘बैंकबाट ऋण लिंदा ब्याज महँगो पर्ने भएपछि कम्पनीले पुँजी जुटाउन आइपीओ निष्कासन गर्छन्। तर, अन्डरराइटिङले गर्दा लगानीकर्ताको लगानी नै जोखिममा पर्ने गरेको छ। कम्पनीको वित्तीय अवस्थामा लगानीकर्ता पनि सचेत हुनुपर्छ,’ नाम उल्लेख गर्न नचाहने ती विज्ञले भने।