
काठमाडौं। पुरानो बानेश्वर चोकबाट मैतीदेवीतर्फ लाग्दा बाटैछेउ फ्रन्टलाइन हस्पिटल खुलेको धेरै भएको छैन। पोहोरदेखि सेवा सुरु गरेको उक्त अस्पतालमा पूर्वाधार निर्माणका अझै कतिपय काम बाँकी नै छन्।
सहरको बीचमा रहेको अस्पताल भने खासै चलेको छैन- खाली छ। वरिष्ठ अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेको ब्राण्डलाई अस्पतालमा प्रयोग गरिएको थियो। तर, उनी १० दिनअघि बाहिरिइसकेका छन्।
करिब ५ अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएको भनिएको अस्पताल सञ्चालनको पहिलो वर्षमै संकटमा परेको छ। अस्पतालको निश्चित सेयर बिक्रीका लागि नयाँ लगानीकर्ताको खोजी सुरु भएको छ। फ्रन्टलाइनमा नयाँ बानेश्वरको नोबेल एकेडेमी र सिनमंगलको नोबेल कलेज सञ्चालकहरुकै लगानी छ।
पुल्चोकमा रहेको सुमेरु अस्पतालका लगानीकर्ताले पनि नयाँ लगानीकर्ता खोजिरहेका छन्। सुमेरुका दुई अस्पताल छन्। दुवै पछिल्ला दिनमा आर्थिक संकटमा छन्। सञ्चालन खर्च नै धान्न कठिन भएपछि सेयर साझेदारहरु नयाँ लगानीकर्ता भित्र्याउन प्रयासरत छन्।
राजधानीकै बयोधा, निदान, नागरिक, होप इन्टरनेसनल लगायत करिब दर्जन निजी अस्पतालका साझेदारहरु अहिले व्यापार घटेर खर्च धान्न कठिन भएपछि बाहिरिने बाटो खोजिरहेका छन्।
अस्पताल सञ्चालकहरुका अनुसार, बिरामीको चाप २५ देखि ४० प्रतिशतसम्मले घटेको छ। एक वर्ष अघिसम्म दैनिक २०० ओपीडीको टिकट काट्ने अस्पतालहरुमा अहिले ५० को हाराहारीमा टिकट काटिन्छ।
एकातिर बैंकको ऋण, महँगो ब्याज, अर्कातिर घट्दो व्यापारले सञ्चालकहरु आर्थिक रुपमा कमजोर बन्दै गएका हुन्। उनीहरुले ऋण चलाएका बैंकहरुसँग नै अर्को लगानीकर्ता खोजिदिन आग्रह गरेका छन्। बैंकरका अनुसार, अस्पतालका सञ्चालकहरुले पूर्णदेखि आंशिक सेयरसम्म बिक्री गर्न चाहेका छन्।
‘कोभिडको समयमा अलिकति सुविधा र पुनर्कर्जा दिन पाइएको थियो। अब त्यो पनि बन्द छ,’ केही अस्पतालमा ऋण लगानी गरेका एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘अस्पतालको आफ्नै व्यापार घटेको छ।’ उनका अनुसार, अहिले अधिकांश निजी अस्पतालको ऋण पुनर्संरचना र पुनर्तालिकीकरण गरिएको छ।

सरकारको स्वास्थ्य बीमा नीति, आर्थिक मन्दी र अर्काको देखासिकीमा ठोस व्यावसायिक योजनाविनै खुलेका अस्पतालहरु बढी संकटमा परेका छन्। पूर्वाधार र प्रविधिमा ठूलो लगानी गर्नुपर्ने तर त्यसको प्रतिफल तत्कालै नआउने, सञ्चालन खर्च धेरै हुने तर त्यसलाई धान्ने बिरामीहरु नआउने हुँदा अस्पतालहरु संकटमा परेका हुन्।
उदाहरणका लागि पाटनका बिरामीलाई लक्षित गरेर अल्का अस्पताल खोलिएको थियो। त्यहाँ सुमेरु पनि थपियो। केही समयमा स्टार पनि आयो। अल्काले गरिरहेको व्यापार तीन ठाउँमा बाँडियो। यो उदाहरण अरुतिर पनि लागू हुन्छ।
‘पछिल्लो पाँच/सात वर्षमा काठमाडौंलाई केन्द्रमा राखेर धेरै अस्पताल खुलेका छन्। प्रत्येक ५०० मिटरमा हस्पिटल भेटिन्छन्,’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्र भन्छन्, ‘हिजो थोरै अस्पतालले गरिरहेको व्यापार अहिले अरुमा पनि बाँडियो। त्यसैले सबैको व्यापार घटेको छ।’

अस्पतालको बढ्दो भीडले मात्र होइन, सरकारी स्किमले पनि निजी अस्पतालाई संकटमा पारेको छ। सरकारले वार्षिक ३५ सय रुपैयाँ प्रिमियममा एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार गरिने स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्दै लगेको छ। त्यसको प्रभावकारिताले निजी अस्पताल सुक्दै गएका छन्।
स्वास्थ्य बीमा कार्यक्रम सरकारी र उसले तोकेका सामुदायिक अस्पतालहरुमा लागू छ। निजी अस्पतालमा गरेको उपचारलाई यो बीमा कार्यक्रमले समेट्दैन। बीमाको पहुँचमा समेटिएकाहरु यो सुविधा प्रयोगका लागि सरकारी अस्पताल जान्छन्। यसबाहेक सरकारले स्थानीय तहको सिफारिसमा कतिपय जटिल रोगको उपचार निःशुल्क गरेको छ। ती बिरामीहरु पनि सरकारी अस्पतालमै जान्छन्।
‘एकाधलाई छाड्ने हो भने निजी अस्पतालमा बिरामीको चाप नै छैन भने पनि हुन्छ,’ स्टार हस्पिटलका कार्यकारी अध्यक्ष किशोर महर्जनले भने, ‘सरकारको बीमा नीतिले गर्दा निजी अस्पताल खाली हुन थालेका छन्।’

सरकारी अस्पतालमा नपाइने सेवा निजीबाट लिए त्यसको भुक्तानी दिने नीति छ। तर, काठमाडौंमा रहेका सबै अस्पतालमा निजीमा पाइनेभन्दा बढी सेवा उपलब्ध छन्। ‘त्यो बेनिफिट पनि काठमाडौंका निजी हस्पिटललाई भएन,’ उनले भने।
काठमाडौंमा मुटुका लागि सहिद गंगालालदेखि मनमोहन कार्डियोसम्म छ। त्यसबाहेक टिचिङ, वीर र सिभिल अस्पताल छन्। यी अस्पतालमा निजीमा भन्दा बढी आधुनिक प्रविधिका साथै अनुभवी डाक्टर छन्।
निजी अस्पतालले बिरामीसँगै व्यापार गुमाउनुको अर्को प्रमुख कारण हो- सामाजिक सुरक्षा कोष अन्तर्गतको सुविधा। जागिरेहरुको सामाजिक सुरक्षा गर्न योगदानमा आधारित कार्यक्रम हो यो। यसमा जागिरे र उसका परिवारको स्वास्थ उपचार बीमा हुन्छ।
नर्भिकका ९०० कर्मचारी अहिले सामाजिक सुरक्षा कोषमा आबद्ध छन्। ‘मेरा कर्मचारी साथीका परिवार बिरामी हुँदा नर्भिक आउनु भयो भने पैसा लाग्छ,’ मिश्रले भने, ‘तर सरकारी अस्पतालमा जाँदा एक लाख रुपैयाँसम्म कभर हुन्छ। मेरै साथी र उसका परिवार पनि सरकारीमा जाने भए। यसको अर्थ हो निजी अस्पतालको व्यापार घट्नु।’
कोभिडकालमा राम्रो गरेका अस्पतालहरुको पनि अहिले व्यापार घटेको छ। काठमाडौंमा रहेका अस्पतालमध्ये नर्भिक र ह्याम्स अहिले पनि नाफामा छन्। यद्यपि यिनीहरुको व्यापार भने घटेको छ। ओम अस्पतालले पनि राम्रै आम्दानी गरिरहेको छ। तर, बाँकी निजी अस्पतालमध्ये अधिकांश नोक्सानमा चलिरहेका छन्।

‘आम्दानी निकै घटेको छ तर खर्च घटेको छैन। हिजो जुन बिरामीको चाप थियो त्यो घट्नेबित्तिकै आम्दानी कम हुने भयो। तर डाक्टरलगायतमा खर्च ठूलो छ,’ आफ्नो अस्पतालमा बिरामीको चाप ४० प्रतिशत हाराहारीले घटेको बताउँदै महर्जनले भने, ‘५० देखि ७० प्रतिशत खर्च डाक्टरमाथि हुन्छ। बाँकी ३० प्रतिशतबाट अन्य कर्मचारी, बैंक ऋण तिर्नु पर्छ। अनि लगानीकर्तालाई त के बच्ने भयो र! त्यही भएर बाहिरिन चाहनेहरु धेरै छन्।’
उनका अनुसार, अहिले बिरामीको चाप घट्नुमा स्वास्थ बीमाबाहेक आर्थिक मन्दी अर्को कारण हो। आर्थिक मन्दीका कारण कतिपयले अति जरुरीबाहेकका अप्रेसन पछाडि सार्न थालेका छन्। अर्कातर्फ ठूलो जनसंख्या रोजगारी र पढ्नका लागि बाहिर गएको छ।
काठमाडौंमा रहेका सरकारी अस्पतालहरुमा तीव्र सुधार भइरहेको छ। निजी अस्पतालका सञ्चालकहरुकै भनाइमा अहिले सबैभन्दा राम्रो आइसीयू (सघन उपचार कक्ष) सरकारी अस्पताल सिभिलको छ। अन्य सरकारी अस्पतालको पनि सुधार छ।
‘नियमित स्वास्थ्य जाँच गराउनेले पनि अहिले ठिकै छु भनेर जाँच गराउन छाडेको छ। अर्कातर्फ जरुरीबाहेकका अप्रेसन पछि सारिरहेको अवस्था छ,’ महर्जनले भने, ‘करिब १६ लाख जना देश छाडेर हिँडेका छन्। यसले व्यापार खस्काउने काम गर्यो।’

काठमाडौंका निजी अस्पताल सुक्नुको अर्को कारण हो बाहिर भएको ‘मेडिकल हब’ को विकास। चितवनमा दर्जन जति निजी अस्पताल छन्। जनकपुरमा पनि अस्पताल खुलेको छ। पूर्वतिर नोबेलदेखि विराट मेडिकल कलेजसम्मका अस्पताल खुलेका छन्। झापामा पनि आधुनिक अस्पताल छ। नेपालगञ्जतिर पनि निजी अस्पतालहरु खुलेका छन्।
‘पहिले जहाँ बिरामी परे पनि काठमाडौं आउनु पर्ने बाध्यता थियो। अब बाहिर पनि सुविधा सम्पन्न हस्पिटल खुल्न थालेका छन्,’ नर्भिकका मिश्रले भने, ‘एक लेभलको स्क्रिनिङ बाहिर भएपछि धेरै त्यहीँ छाँटिए। रेफरल बिरामी मात्र काठमाडौं आउने भए।’
निजी अस्पतालहरुबाट लगानीकर्ता बाहिरिन खोजे पनि किन्ने भेटिइसकेका छैनन्। बीमा प्राधिकरणले लगानीका लागि खुला गरेका कारण केही बीमा कम्पनीले निजी अस्पतालमा चासो राखेका छन्।
‘तर संस्थागतहरुलाई पनि कन्भिन्स गराएर किन्ने लेभलमा पुर्याउन समस्या भइरहेको छ। कारण अस्पतालको लगानीबाट अल्पकालमा आम्दानी हुँदैन,’ महर्जनले भने, ‘लामो समय पर्खिएर प्रतिफल लिने धैर्यता न व्यक्तिगत, न त संस्थागत लगानीकर्तालाई नै हुन्छ।’