भिसा नलाग्दै नेपालको अर्बौं रुपैयाँ अस्ट्रेलियामा, ३० अर्ब रुपैयाँ ९ महिनासम्म ‘फ्रिज’

सविन ढकाल
२०८० माघ ११ गते १६:२१ | Jan 25, 2024
भिसा नलाग्दै नेपालको अर्बौं रुपैयाँ अस्ट्रेलियामा, ३० अर्ब  रुपैयाँ ९ महिनासम्म ‘फ्रिज’


काठमाडौं। अध्ययनका लागि नेपाली विद्यार्थीको पहिलो रोजाइमा पर्ने अस्ट्रेलियामा वार्षिक ३० अर्ब रुपैयाँभन्दा बढी रकम फ्रिज हुने गरेको पाइएको छ। भिसा लाग्नु अगाडि नै शुल्क बुझाउनुपर्ने प्रावधानका कारण नेपाली विद्यार्थीको वार्षिक ३० अर्ब रुपैयाँभन्दा बढी रकम अस्ट्रेलियामा फ्रिज हुने गरेको पाइएको हो।

Tata
GBIME
NLIC

आवेदन दिएकामध्ये धेरैको भिसा नलाग्ने भएकाले पनि फ्रिज रकमको अंक ठूलो भएको हो। शुल्कबापत विद्यार्थीले जनही औसत १५ लाख रुपैयाँ रकम बुझाउने गरेका छन्। वार्षिक २० हजार विद्यार्थीको भिसा नलाग्दा ३० अर्ब रुपैयाँ फ्रिज हुन्छ।

गत आर्थिक वर्षमा अस्ट्रेलिया जानका लागि ३३ हजार ९ सय ९१ विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएका थिए। तर, १६ हजार मात्र गएका थिए। अस्ट्रेलिया जान एनओसीका लागि यो वर्ष ६ महिनामा १९ हजार ३२ जनाले आवेदन दिएकामा ९ हजार ७ सय ७७ विद्यार्थीले लिइसकेका छन्।

अस्ट्रेलियाको सामान्य खालको कलेजमा पढ्न जाने विद्यार्थीको पनि ३० लाख रुपैयाँसम्म खर्च हुने गरेको छ। यस्तो खर्च विद्यार्थीले रोज्ने विषय, कलेज तथा विश्वविद्यालय, होस्टेल वा कलेज शुल्कको अवधि लगायतले पनि निर्धारण हुन्छ।

त्यति मात्र होइन, भिसा लाग्नु अगाडि तयारी कक्षा, प्रोसेस र भिसाका नाममा नेपालमै जनही साढे ३ देखि ५ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ। ऋण गरेर वा अन्य स्रोतबाट जुटाएर शुल्क बुझाउनुका साथै आवश्यक कागजात बुझाए पनि सबै विद्यार्थीको भिसा लाग्दैन। भिसा नलागेको अवस्थामा शुल्कबापत बुझाएको रकम फिर्ता आउन ९ महिनासम्म लाग्ने गरेको छ।

भिसा अगाडि नै शुल्क बुझाउनुपर्ने प्रावधान, अस्ट्रेलियाले पछिल्लो समय गरेको कडाइले भिसा दर घट्नु तर शुल्कबापत बुझाएको रकम भने लामो समय फिर्ता नआउने समस्याका कारण पछिल्लो समय कतिपय विद्यार्थीहरु हच्किन थालेका छन्।

‘मन त अस्ट्रेलिया नै जाने थियो। तर, तयारीमै ५ लाख रुपैयाँसम्म खर्च हुने रहेछ। अहिले अस्ट्रेलियाको भिसा सक्सेस रेट निकै कम छ कडाइले गर्दा। ट्युसन फि भने भिसा लाग्नुअघि नै बुझाउनुपर्ने रहेछ। त्यसैले म भिसा रेट धेरै भएको र भिसा अगाडि पैसा बुझाउन नपर्ने देश हेरिरहेको छु,’ कक्षा १२ पास गरेर विदेश जाने तयारी गरिरहेका सिद्धान्त भट्टराईले भने।

भिसा अगाडि नै यसरी हुन्छ खर्च

विद्यार्थीको शैक्षिक प्रमाणपत्र, राहदानी र केही कागजपत्रले मात्र अस्ट्रेलिया अप्लाइ गर्न मिल्दैन। पहिले भिसा लाग्नुपर्छ। जसका लागि लामो कागजी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।

कक्षा १२ पास गरेपछि सुरुमा आईईएलटीएस वा पीटीई गर्नुपर्छ। जसलाई डेढदेखि तीन महिनासम्म कक्षा लिनुपर्छ। यसका लागि सुरुमै ८ देखि १५ हजार रुपैयाँसम्म खर्च हुन्छ। प्रायः सबै देशले अंग्रेजी भाषासम्बन्धी परीक्षाको स्कोर खोज्छन्।

आईईएलटीएसको परीक्षमा प्राप्‍त अंक अनुसार पढ्ने विषय र तह अनुसार प्रक्रिया सुरु हुन्छ। विद्यार्थी कन्सल्टेन्सी छनोटमा लाग्छन्। कन्सल्टेन्सीले सुरुमै १० देखि १५ हजारसम्म शुल्क लिने गरेका छन्।

सामान्यतया अस्ट्रेलिया जान शैक्षिक प्रमाणपत्रसँगै परिवारको आम्दानी स्रोत, सरकारलाई बुझाएको करको प्रमाणपत्र, बैंक खाताको विवरण लगायत कागजात आवश्यक पर्छ।

स्नातक तहमा अध्ययनका लागि कलेज अनुसार परिवारको वार्षिक आम्दानी १५ देखि २० लाख रुपैयाँसम्म खोजिन्छ। स्नातकोत्तर तहको हकमा २० देखि २५ लाख रुपैयाँ आम्दानी देखाउनुपर्छ। आम्दानी करयोग्य हुनुपर्छ।

हामीकहाँ धेरैको आम्दानी कागजीरुपमा खुल्दैन। त्यसैले स्थानीय तहको वडाबाट नै आम्दानी खुलाएर कागजपत्र बनाइने गरिन्छ। आम्दानीको स्रोत देखाउँदा सरकारलाई वडामै कर तिर्नुपर्छ। आम्दानीको स्रोत खुलाउनेदेखि नाता प्रमाणित, ठेगाना पुष्टि लगायत कागजपत्र बनाइदिएबापत पालिकाले १० देखि २० हजार रुपैयाँसम्म लिन्छन्।

यसपछि बैंकमा मौज्दात वा ऋण लिएको देखाउनुपर्छ। सामान्यतया अस्ट्रेलियाको हकमा ४० देखि ६५ लाख रुपैयाँसम्म देखाउनुपर्छ। आम नेपालीसँग बैंकमा यति धेरै रकम ६ महिनादेखि होल्ड भएको हुँदैन। त्यसैले धेरैजसोले जग्गा धितो राखेर ऋण लिने गर्छन्। यो प्रयोजनमा १ देखि २ लाख रुपैयाँ खर्च हुन्छ। यी सबै कागजपत्र बनिसकेपछि नोटरी गर्नुपर्छ। यसका लागि ८ देखि १५ हजार रुपैयाँसम्म खर्च हुन्छ।

शिक्षा मन्त्रालयबाट एनओसी लिनेको विवरण

सबै कागजपत्र बनाएपछि आफूले पढ्न चाहेको कलेजको स्वीकृतिमा विद्यार्थीले भिसाका लागि आवेदन दिन सक्छन्। यसका लागि थप खर्च हुन्छ। कलेजबाट जीटीई आउनुअघि नै साढे २ लाख रुपैयाँ हाराहारी खर्च भइसकेको हुन्छ।

त्यसपछि ६५ हजार रुपैयाँ भिसा शुल्क बुझाउनुपर्छ। स्वास्थ्य परीक्षणमा ९ देखि १७ हजार रुपैयाँसम्म बुझाउनु पर्छ। सँगै कलेज फीबापत १२ देखि १६ लाख रुपैयाँ पठाउनुपर्छ। विद्यार्थीले ऋण लिएको बैंकबाट भिसा लाग्नुअघि नै कलेजले शुल्क लिन्छन्। त्यसमा १३ प्रतिशतसम्म बैंकको ब्याज थपिन्छ।

बीमाबापत समेत थप २ देखि ४ हजार डलरसम्म बुझाउनुपर्छ। भिसा लाग्नुअघि प्लेन टिकट र सपिङबाहेकका सबै प्रक्रिया पूरा गर्दा विद्यार्थीको ‌औसतमा २० लाख रुपैयाँ खर्च भइसकेको हुन्छ।

तर, भिसा नलागे देशभित्र गरिएको ५ लाख रुपैयाँ हाराहारी खर्च व्यर्थ हुन जान्छ। कलेजमा पठाएको शुल्क पनि लामो समयसम्म फिर्ता हुँदैन। ढिला गरी फिर्ता गर्दा पनि २५० देखि १ हजार डलरसम्म काटिन्छ। कलेजले रकम फिर्ता नपठाएसम्म बैंकको ऋण खाता बन्द गर्न मिल्दैन। आफ्नो रकम अस्ट्रेलियामा फ्रिज भइरहँदा यता बैंकलाई ब्याज भने तिरिरहनुपर्छ।

कलेजलाई बुझाएको शुल्क र विद्यार्थीको बीमाबापत बुझाएको रकम फिर्ता हुन ९ महिनासम्म लाग्ने गरेको कन्सल्टेन्सी सञ्चालक बताउँछन्। कतिपय विद्यार्थीको रकम नै फिर्ता नआएका उदाहरण समेत छन्। अर्बिटका प्रमुख कार्यकारी अधिकृत सुनील रेग्मी भिसा अगाडि नै शुल्क बुझाउनुपर्ने प्रावधानका कारण नेपालको ठूलो रकम अस्ट्रेलियामा फ्रिज भइरहेकाले यो व्यवस्था हटाउन सरकारले पहल गर्नुपर्ने बताउँछन्।

अर्बिटका प्रमुख कार्यकारी अधिकृत सुनील रेग्मी

‘अहिलेको प्रावधानले अष्ट्रेलियामा वार्षिक ३० अर्ब रुपैयाँ फ्रिज भइरहेको छ। त्यसैले शुल्कमा बढीमा ४ हजार डलरको क्याप लगाउन सरकारले पहल गर्नुपर्छ,’ उनले भने, ‘होइन भने एकातिर ठूलो रकम फ्रिज त भइरहन्छ नै, अर्कातिर विद्यार्थी र अभिभावकले भोग्ने तनाव झेलिनसक्नुको हुनेछ।’

नेपालको ठूलो रकम अष्ट्रेलियामा फ्रिज भइरहेको विषयमा अहिलेसम्म सरकारका कुनै निकायले ध्यान दिएका छैनन्। कन्सल्टेन्सी संचालकबाट यो जानकारी पाएपछि नेपाल राष्ट्र बैंक नै झस्किएको छ।

गभर्नर महाप्रसाद अधिकारीले यो विषयमा आफू गम्भीर भएको भन्दै रकम फ्रिज हुन नदिनका लागि पहल गर्ने बताएका छन्। ‘विद्यार्थीको भिसा नलाग्दै ठूलो रकम अष्ट्रेलिया पुगिरहेको र फ्रिज भएको कुरा हाम्रो नोटिसमा थिएन। अब हामी यसमा सुधारका लागि कदम चाल्छौं,’ उनले भने।