साझा यातायातले माग्यो प्रमुख कार्यकारी अधिकृत‚ नियुक्ति खुला प्रतिष्पर्धाबाट

बिजमाण्डू
२०८० मंसिर २५ गते ०९:५६ | Dec 11, 2023
साझा यातायातले माग्यो प्रमुख कार्यकारी अधिकृत‚ नियुक्ति खुला प्रतिष्पर्धाबाट


काठमाडौं। सार्वजनिक यातायात सुदृढीकरणका लागि विद्युतीय बसको संख्या आक्रामकरुपमा बढाउने योजना बनाएकाे साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सीइओ) खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने भएको छ। यसका लागि कम्पनीले सोमबार सूचना जारी गर्दै योग्यता भएका इच्छुक नेपाली नागरिकबाट ३५ दिनभित्र आवेदन माग गरेको छ।

Tata
GBIME
NLIC

आवेदन ललितपुरको पुल्चोकस्थित साझा यातायातको प्रधान कार्यालयमा दिन सकिने सूचनामा छ। आवेदकका लागि योग्यता तथा अनुभवमा कम्तीमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी सार्वजनिक वा संगठित संघसंस्थामा दसौं तह वा सो सरहको श्रेणीको जिम्मेवारी लिइसकेको हुनुपर्ने तोकिएको छ।

यस्तै सहकारी वा सार्वजनिक प्रशासन वा यातायात व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्ने छ। उमेरका हकमा दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष पूरा भएको तर ५८ वर्ष  ननाघेको हुनुपर्ने मापदण्ड छ।

दरखास्तसाथ साझा यातायातको वेबसाइटमा प्रकाशित प्रमुख कार्यकारी अधिकृत पदको पदपूर्ति सम्बन्धी कार्यविधि, २०५० को दफा ६ बमोजिमको कागजात तथा विवरण र सोही दफाको उपदफा (२) अनुसारको स्वयं घोषणाको व्यहोरा निवेदक स्वयंले प्रमाणित गरी पेस गर्नु पर्नेछ।
दरखास्त पेस गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण र २ प्रति पासपोर्ट साइजको फोटो तथा उपरोक्त कार्यविधिको दफा ८ बमोजिमको व्यावसायिक कार्ययोजना (पाँच हजार शब्दमा नबढ्ने गरी) चार प्रति खामबन्दी गरी साझा यातायातको कर्मचारी प्रशासन विभागमा पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।

खामबन्दी प्रस्तावको खामबाहिर ‘साझा यातायातको प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन तथा व्यावसायिक कार्ययोजना’ उल्लेख गरेको हुनु पर्नेछ। व्यावसायिक कार्ययोजनाको प्रथम पृष्ठ अनुसूची २ मा तोकिएको ढाँचाको कभर पेज संलग्न गर्नुपर्नेछ र कभर पेजमा उम्मेदवारको तोकिएको विवरण मात्र भर्नुपर्ने छ। बहालवाला कर्मचारीले आवेदन गर्न चाहेमा सेवारत निकायबाट विभागीय स्वीकृति प्रदान गरिएको पत्र पनि संलग्न गर्नु पर्नेछ।

व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण छनोट सूचीमा परेका उम्मेदवारले आफूले पेस गरेको कार्ययोजना तोकिएको मिति र समयमा प्रस्तुतीकरण गर्नु पर्नेछ। दरखास्त दस्तुर ३ हजार रुपैयाँ छ।