परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान‚ दोहा २१ औं फोरममा सहभागिता जनाउने

बिजमाण्डू
२०८० मंसिर २३ गते ०९:४८ | Dec 9, 2023
परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान‚ दोहा २१ औं फोरममा सहभागिता जनाउने


काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान गरेका छन्। दोहा २१ औँ सम्मेलनमा सहभागी हुन शनिबार बिहान बिहान कतार एयरलाइन्सको विमानबाट दोहा प्रस्थान गरेका हुन्।

Tata
GBIME
NLIC

कतारमा आइतबारदेखि सुरु हुने दोहा २१ औँ फोरममा सहभागिता जनाउने उनले उच्चस्तरीय भेटघाट गर्नेछन्। इजरायलमा वेपता भएका विपिन जोशीको रिहाइको विषय उनले गम्भीरताका साथ उठाउने परराष्ट्र मन्त्रालयले जनाएको छ।

कतारमा समकक्षीसँगै त्यहाँका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखारीसँग जोशीका बारेमा कुराकानी गर्ने कार्यतालिका छ। मन्त्री साउदले यसअघि मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए।

उनले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाइ जोशीको रिहाइका बारेमा कुरा गरेका थिए।
परराष्ट्रमन्त्री साउदले शुक्रवारमात्रै जोशीको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा वेपत्ता व्यक्तिहरुका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका थिए।

उनले सुदूरपश्चिम विश्वविद्यालयबाट ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल पुगेका जोशीको हालको अवस्था लगाउन, सुरक्षाको प्रत्याभूति गर्न र शीघ्र रिहाइ गराउने अथक प्रयासकै निरन्तरतास्वरुप संवाद गरेका हुन्।

संवादका क्रममा मन्त्री साउदले विद्रोही समूह हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको अवस्था इजरायली स्रोतमार्फत् यकिन गरिदिन, सुरक्षाको प्रत्याभूति दिलाइदिन र आगामी दिनमा हमासको नियन्त्रणमा रहेका बन्दी रिहाइ हुँदा पहिलो चरणमा नै जोशीलाई प्राथमिकतामा राखिदिन आग्रह गरेका थिए।

नेपालको इजरायलसँगको पुरानो सम्बन्धका सन्दर्भमा यस मानवीय सहयोगले विशेष अर्थ राख्ने पनि परराष्ट्रमन्त्री साउदले बताए। जवाफमा संयोजक हर्चले इजरायलले जोशीलाई पारिवारिक सदस्यजस्तो मानेको र उनको रिहाइलाई प्राथमिकताका साथ ध्यान दिने आश्वासन दिएका थिए।

यसअघि परराष्ट्रमन्त्री साउदले गत मंगलबार कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका थिए। जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताएका थिए। नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागिसमेत प्रयास जारी रहेको उनको भनाइ थियो।