
काठमाडौं। नेपाली यू-१९ क्रिकेट टोली आज यूएई प्रस्थान गरेको छ। एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुने यू-१९ एसिया कप खेल्न देव खनालको कप्तानीमा नेपाली टोली आज यूएई प्रस्थान गरेको हो।
एसिया कपमा यसपाला ८ टोलीले प्रतिस्पर्धा गर्दैछन्। यी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र नेपाल छन्। त्यस्तै समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, यूएई र जापान छन्।
युएईको दुबईमा हुने खेलमा नेपालले मंसिर २२ गते पाकिस्तान, २४ गते अफगानिस्तान र २६ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले एसिया कपमा स्थान बनाउने क्रममा दसैँको टीकाको दिन यूएईलाई हराएर नेपाल यू-१९ प्रिमियर कप च्याम्पियन बनेको थियो।
नेपाली यू-१९ टोलीमा दुई जना सिनियर टोलीबाट पनि खेलिसकेका खेलाडी छन्। तीमध्ये देव खनालले यू-१९ टोलीको कप्तानी गर्नेछन्। उनले राष्ट्रिय टोलीबाट १० वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै २ अर्धशतकको सहायतामा २५३ रन बनाएका छन्।

खनालले भारत र पाकिस्तानसँग खेल्नुपर्दा आफू धेरै उत्साही भएको बताए।
‘सिनियर दाईहरुले एउटा बेन्चमार्क बनाउनु भएको छ, विश्व क्रिकेटमा। दाईहरुले जसरी गर्नु भएको त्यसरी नै यू-१९ को पनि त्यस्तै गर्ने लक्ष्य छ। पाकिस्तान, भारतसँग खेल्ने भन्ने बित्तिकै हामी उत्साहित छौं,’ खनालले भने, ‘सकेसम्म सेमिफाइनल पुग्ने र टेस्ट प्लेइङ नेशन्सलाई हराउने लक्ष्य छ।’
यू-१९ टोलीका लागि यो एकदमै महत्त्वपूर्ण प्रतियोगिता भएको भन्दै उनले सबैजना राम्रो फ्लोमा भएको बताए।
राष्ट्रिय टोलीको नियमित सदस्य बनेर फेरि यू-१९ टोलीमा फर्किएका अर्का खेलाडी हुन् गुल्सन झा। ब्याटिङ र बलिङ दुवैबाट खेलको मोमेन्टम सिनियर लेभलमा नै फेर्न सक्ने उनको उपस्थितिले यू-१९ टोलीको मनोबल बढेको बताउँछन् प्रशिक्षक जगत टमाटा।
‘गुल्सन आउँदा टिम थप बलियो बनेको छ। अलराउण्डरको उपस्थितिले।’ उनले भने।
उनले सिनियर टोलीबाट २४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दा ब्याटिङतर्फ ३ अर्धशतकको सहायतामा ४८८ रन बनाएका छन्। त्यस्तै २१ विकेट पनि लिएका छन्। टी-२० अन्तर्राष्ट्रियमा पनि १४ खेलमा १ अर्धशतकको सहायतामा १४१ रन बनाएका उनले बलिङतर्फ १२ विकेट लिएका छन्।
‘उनीहरु यू-१९ खेलाडी भए पनि टेस्ट प्लेइङ नेशनको राम्रा खेलाडी छन्। त्यहाँ राम्रो गर्ने अवसर हामीलाई हुनेछ,’अलराउण्डर गुल्सनले भने, ‘मेरो एक्साइटेमेन्ट लेभल त्यही नै छ। यो एसिया कप विश्वकप अघि छ। यहाँबाट कन्फिडेन्स बोकेर विश्वकपमा जाने अवसर छ।’
नेपाली यू-१९ टोलीले लगत्तै अर्को महिना साउथ अफ्रिकामा यू-१९ विश्वकप खेल्ने छ।
गुल्सन एसिया कपले विश्वकपसँगसँगै सिनियर लेभलमा पनि राम्रो गर्ने विश्वास लिएको बताउँछन्।
प्रशिक्षक जगत टामाटा सबैले धेरै मेहेनत गरेको बताउँदै तयारी राम्रो भएको बताउँछन्। प्रतियोगिताको तयारीका लागि मुलपानी र टीयूको फरक विकेटमा सिनियर टोलिका खेलाडीहरुसँग यू-१९ खेलाडीले अभ्यास खेल खेलेका थिए।
‘सबै धेरै मिहिनेत गरेको छ। यसले गर्दा नै नतिजा आउने हो। दबाब चाहिँ छैन। केटाहरुले जुन हिसाबले प्रदर्शन गरेको छ, त्यो एकदमै राम्रो छ,’ प्रशिक्षक टमाटाले भने, ‘हामीले टेस्ट राष्ट्रलाई यसअघि पनि खेल्नेछौँ। खेलाडी पनि एक्साइटेड छन्। इण्डिया, पाकिस्तान, अफगानिस्तान जस्ता टोलीलाई राम्रो क्रिकेट खेलेर हराउँ भन्ने छ। तर, यसका लागि राम्रो क्रिकेट खेल्नुपर्ने हुन्छ।’

नेपाली टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, हेमन्त धामी, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम थापामगर, विपिन रावल, तिलक राजभण्डारी, आकाश चन्द