लप्सीफेदी सबस्टेशनमा सुरक्षा बेस राख्दा प्रहरीमाथि आक्रमण, स्थिति नियन्त्रणमा लिँदा तनाव

बिजमाण्डू
२०८० मंसिर २ गते १३:०७ | Nov 18, 2023
लप्सीफेदी सबस्टेशनमा सुरक्षा बेस राख्दा  प्रहरीमाथि आक्रमण, स्थिति नियन्त्रणमा लिँदा तनाव


काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिकामा विद्युत प्राधिकरणको सबस्टेसन निर्माणका क्रममा सुरक्षाकर्मीमाथि स्थानीयवासीले आक्रमण गरेका छन्।

Tata
GBIME

घटनामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका केही सुरक्षाकर्मीहरु घाइते भएका छन् भने आक्रमणमा संलग्नाताको आरोपमा प्रहरीले एक दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीले सुरक्षापोष्ट स्थापना गर्न प्रहरी र प्राधिकरणका कर्मचारीहरु शंखरापुर-३ स्थित बोझिने पुगेका थिए। त्यतिकैमा स्थानीयवासीले विरोध गर्दै सुरक्षाकर्मीहरु माथि ढुंगामुढा गरेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए।

‘सबस्टेशनको लागि सुरक्षा बेस स्थापना गर्दा खेरी केही मानिसले अवरोध गर्नु भयो। त्यही क्रममा सुरक्षाकर्मीमाथि पनि आक्रमण भएको छ,’ उनले भने।

घटना भएपछि बौद्ध प्रहरी वृत्तबाट थप सुरक्षाकर्मी पुगेका थिए। प्रहरीमाथि आक्रमण गर्ने एक दर्जनभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तामाकोशी, सुनकोशी नदी र तिनीहरुका सहायक नदीहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको बिजुली काठमाडौं उपत्यकामा ल्याउन लप्सीफेदीमा ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिएको हो। तर निर्माण सुरु हुनभन्दा अगाडि नै त्यहाँ मुआब्जाको विषयलाई लिएर विवाद भइरहेको थियो।

सबस्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरु भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको ४०० केभी प्रसारण लाइन जोडिने छ। नयाँ खिम्ती-बाह्रबिसे-लप्सीफेदी ४०० केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ। लप्सीफेदी सबस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन्। चाँगुनारायण १३२ केभी सबस्टेसन सम्पन्न हुने चरणमा छ।

शुक्रबार केही झडप भए पनि शनिवार बिहान भने अवस्था सामान्य रहेको प्रजिअ बस्नेतले बताए। अहिले सशस्त्र प्रहरीका डीएसपी र नेपाल प्रहरीका सईको कमाण्डमा सुरक्षा बेस स्थापना भइसकेको छ।

‘अब काम रोकिँदैन‚ हामीले पर्याप्त सुरक्षा व्यवस्था मिलाएका छौं,’ उनले भने।