कोशी प्रदेशमा भाटभटेनीले खोल्यो चौथो शाखा, बिर्तामोडमा नयाँ स्टोर सञ्चालनमा

बिजमाण्डू
२०८० असोज ४ गते २०:५३ | Sep 21, 2023
कोशी प्रदेशमा भाटभटेनीले खोल्यो चौथो शाखा, बिर्तामोडमा नयाँ स्टोर सञ्चालनमा

विराटनगर । भाटभटेनी सुपरमार्केटले झापाको बिर्तामोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बिर्तामोडको स्टोर भाटभटेनीको २६औं शाखा हो। सञ्चालक मीनबहादुर गुरुङले बिहीबार पानसमा बत्ती बालेर स्टोरको उद्घाटन गरे।

Tata
GBIME
NLIC

उद्घाटन हुनेबित्तिकै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली स्टोरमा पुगेर गुरुङ दम्पतीलाई शुभकामना दिँदै किनमेल समेत गरेका छन्।

भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईका अनुसार बिर्तामोडको स्टोर २ अर्बको लगानीमा खुलेको हो। यो १५ कट्ठा जग्गामा अवस्थित छ र यसमा २ लाख ५० हजार वर्गफिट सपिङ स्पेस छ।

कोशी प्रदेशमा बिर्तामोडको स्टोर चौथो भएको छ। यसअघि धरान, विराटनगर र इटहरीमा भाटभटेनीका शाखा खुलिसकेका छन्। झापाकै दमकमा भाटभटेनीको २७औँ स्टोर निर्माणाधीन छ। आगामी वैशाखमा उदघाटन गर्ने तयारी छ।

व्यवस्थापक भट्टराईका अनुसार बिर्तामोडको स्टोरमा ७ तला छ। जसमा बेसमेन्टका २ तलामा स्टोरले पार्किङ, कार्यालय, प्याकेजिङ र गोदामको व्यवस्था गरेको छ।

भुईं तलामा ग्रोसरी, फलफूल, हरियो सागसब्जी, मदिरा आदि राखिएको छ। पहिलो तलामा प्लास्टिकका भाँडाकुँडा, घरायसी सामग्री, स्टेसनरीलगायतका सामान छन्।

दोस्रो तलामा तयारी कपडा छन्। तेस्रो तलामा फुटवेयर, टीभी, फ्रिज, वासिङ मेसिनलगायतका विद्युतीय सामान छन्।

चौथो तलामा फुडकोर्ट रहेको छ। पाचौँ तलालाई बालबालिकाको खेल्ने स्थान र सिनेमा हलका लागि छुट्याइएको छ।

उद्घाटन अवसरमा १० प्रतिशत छुटको योजना पनि ल्याइएको छ।