सडक छेउ रोकिराखेको ट्रकमा बस ठोक्किँदा बाँकेमा ७ जनाको मृत्यु, ३० जना घाइते



बिजमाण्डू
२०८० भदौ २३ गते ०८:०२ | Sep 9, 2023
सडक छेउ रोकिराखेको ट्रकमा बस ठोक्किँदा बाँकेमा ७ जनाको मृत्यु, ३० जना घाइते

बुटवल। बाँकेमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा चालकसहित ७ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा ३० जना घाइते छन्।

Tata
GBIME
Zonsen

पूर्व-पश्‍चिम राजमार्ग अन्तर्गत राप्ती सोनारी गाउँपालिका-८ शमशेरगन्जमा शुक्रबार राति यात्रुवाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

दाङबाट बर्दियातर्फ गइरहेको ना ७ ख २३२१ नम्बरको बस सडक छेउमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए। दुर्घटनाग्रस्त बसमा बर्दियाको ठाकुरबाबास्थित बेतनी सामुदायिक वन उपभोक्ता समूहको टोली सवार रहेको उनले बताए।

दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका-९ का ५० वर्षीय काशीराम थारू, ६० वर्षीय सानुराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५५ वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू र चालक ४५ वर्षीय जुगबहादुर चन्दको मृत्यु भएको हो। अर्का मृतक सहचालक करिब ३५ वर्षीय पुरुषको नामथर खुलेको छैन।

घाइतेहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक डाँगीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।