अर्थमन्त्री डा. महत भन्छन्- प्रविधिको विकाससँगै सबै क्षेत्रमा अवसर र चुनौती थपियो

बिजमाण्डू
२०८० भदौ १६ गते १२:१४ | Sep 2, 2023
अर्थमन्त्री डा. महत भन्छन्- प्रविधिको विकाससँगै सबै क्षेत्रमा अवसर र चुनौती थपियो


काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरुपयोगको चुनौती थपिएको बताएका छन्। राजधानीमा शनिबार आर्थिक पत्रकार समाज (सेजन) को २५औँ वार्षिक साधारणसभाको उद्‍घाटन गर्दै उनले भने, ‘राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत पनि परीक्षणको दौडबाट गुज्रिरहेको छ।’

Tata
GBIME

राजनीतिक क्षेत्रबाट राज्य संरचनाको जिम्मेवारीमा पुगेकादेखि कर्मचारी र सुरक्षा निकाय, निजी क्षेत्र तथा पत्रकार जगतसम्मका सबै क्षेत्रमा प्रविधिले चुनौती थपेको मन्त्री महतले बताए।

‘हामीले पूर्ण जिम्मेवारीका साथ काम गर्नुको विकल्प छैन,’ मन्त्री महतले भने, ‘म अर्थ मन्त्रालयमा पुगेपछि इमान्दारिताका साथ कसरी देश र जनताका लागि काम गर्ने भन्‍ने मानसिकताबाट मैले काम गर्ने प्रयास गरेको छु। यसलाई साथीहरुले आत्मसात गर्नुभएको छ, कतिपय अवस्थामा प्रश्‍न पनि गर्नुभएको छ।’

संसदभित्र र बाहिर आफूले आफ्ना निर्णय आधारसहित प्रतिरक्षा गरेको भन्दै उनले त्यसलाई सबैले स्वीकार गरेको दाबी गरे। आर्थिक पत्रकार समाजलगायत सञ्‍चार जगतसँग अर्थ मन्त्रालय र आफ्ना विषयमा कुनै प्रश्‍न भए प्रत्यक्षरुपमा चासो, चिन्ता, दुविधा र प्रश्‍नका लागि आफू सधैं खुला भएको समेत उनले स्पष्ट पारे।

मन्त्री महतले भने, ‘आफूले राम्रो गर्न खोज्दा खोज्दै कतिपय अवस्थामा निर्णय गर्न सही सूचना र सबैको सहयोग आवश्यकता पर्दछ। त्यस अर्थमा आर्थिक पत्रकार समाज सेजनसँग निरन्तर अन्तरक्रिया रहिरहोस्। कामका सिलसिलामा लागिरहँदा हाम्रो कुरालाई ध्यान दिएन कि अथवा सुनेन की भन्‍ने लाग्यो भने समयमै मलाई जानकारी दिन अनुरोध गर्दछु।’

देशको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास आफूले गरिरहेको मन्त्री महतले बताए। पत्रकार जगत, बैंकिङ र निजी क्षेत्रबाट पनि आफूले त्यही किसिमको सहयोगको अपेक्षा गरेको उनको भनाइ थियो।

राज्यबाट पनि पत्रकारहरुले सहयोगको अपेक्षा गर्नु स्वाभाविक भएको भन्दै उनले त्यसको सहजीकरण हुने भनाइ राखे।

‘पर्यटन क्षेत्रमा सुधार भइरहेको छ, विदेशी मुद्राको सञ्‍चिति पर्याप्त छ। आर्थिक गतिविधि अगाडि बढाउनका लागि जे समस्या छ, त्यसलाई सम्बोधन गर्न सरकार लागिरहेको छ। आगामी दिनमा देशको अर्थतन्त्र सकारात्मक दिशामा जानेछ,’ मन्त्री महतले भने।

अनुमान गरेअनुसार राजस्व नबढेकोतर्फ पनि मन्त्री महतले जोड दिए। तर पोहोर सालको तुलनामा राजस्व वृद्धि भइरहेको उनको दाबी थियो। आउँदो वर्ष लक्ष्यमा पुगे विश्‍वास लिएको उनले बताए।

मन्त्री महतले भने, ‘राज्य संयन्त्रले गर्ने कतिपय निर्णयले पनि अर्थतन्त्र प्रभावित भइरहेको छ। निजी क्षेत्रको समस्यालाई माइक्रो म्यानेजमेन्ट गर्नेतर्फ लाग्यो भने पनि समस्या आउँछ।’