भैंसेपाटीमा मल्टीकुजिन पस्कँदै स्काइ पार्क रेष्टुरेन्ट एण्ड क्याफे, हरियाली हेर्दै सी फूडका स्वाद

वसन्तराज उप्रेती
२०८० भदौ ८ गते १४:५२ | Aug 25, 2023
भैंसेपाटीमा मल्टीकुजिन पस्कँदै स्काइ पार्क रेष्टुरेन्ट एण्ड क्याफे, हरियाली हेर्दै सी फूडका स्वाद

काठमाडौं। ललितपुरको भैँसेपाटी। तपाईँलाई लाग्ला भीभीआइपी रेसिडेन्सियल हो, त्यो आवास क्षेत्रमा के रेस्टुरेन्ट होलान् ? चक्रपथ बाहिरको यो क्षेत्र काठमाडौंको मुख्य बजारबाट केही पर छ। यहाँ बसोबास गर्दै आएकाहरुले केही वर्ष अघिसम्म आउटिङका लागि झम्सीखेल र ठमेल जानुपर्थ्यो। अब विकल्प सहज छ। भैंसेपाटीमा वरिपरि थरी-थरीका रेस्टुरेन्ट छन्।

Tata
GBIME
Nepal Life

रेष्टुरेन्ट पनि नयाँ-नयाँ अवधारणामा छन्। अधिकांश ग्रीन गार्डेन (हरियाली बगैंचा) छन्। भैंसेपाटी कम्प्लेक्सको पाँचौ तल्लामा रहेको ‘स्काइ पार्क रेष्टुरेन्ट एण्ड क्याफे’ पनि त्यसमध्येको एउटा हो, जसले भैंसेपाटी पुग्नेलाई बारम्बार आइरहन निम्त्याउँछ।

यहाँ ग्राहकले अन्तका रेस्टुरेन्टभन्दा छुट्टै अनुभव लिन सक्छन्। कारण, यहाँबाट देखिने वरपरका हरियाली दृश्य। पाँच तल्ला माथि रहेको रेष्टुरेन्टबाट काठमाडौं, भक्तपुर, ललितपुर, कीर्तिपुरको ३६० डिग्री दृश्यावलोकन गर्ने सकिन्छ। माथि बसेर सी फूडको स्वादमा आनन्द लिन सकिन्छ।

मल्टीकुजिन सेवा दिँदै आएको रेष्टुरेन्टले चार वर्षयता अरबी, चिनियाँ, इटालियन, इन्डोनेसिया लगायत परिकार पस्किँदै छ। ‘हाम्रा खानेकुराको पारखीमा स्थानीयदेखि कूटनीतिक नियोगका कर्मचारी धेरै छन्,’ सञ्चालक राजन गुरुङ भन्छन्।

यहाँ इन्डियन, चिनियाँ, मलेसियनसँगै कन्टिनेन्टल परिकार पाइन्छन्। भित्र र बाहिर गरेर एकपटकमा करिब दुई सय जनालाई सर्भिस दिने क्षमता रहेको रेष्टुरेन्टमा ग्राहकले इटालियन वाइनको स्वाद लिन सक्ने उनी बताउँछन्।

आवास क्षेत्र भएका कारण ठाउँ शान्त छ। रेष्टुरेन्टमा पारिवारिक जमघटका लागि आउनेहरु उल्लेख्य संख्यामा हुने गरेका छन्। एकपटक आएका ग्राहक पटक-पटक आइरहनुमा आतिथ्यता र सेफको महत्त्वपूर्ण भूमिका रहेको सञ्चालक गुरुङ बताउँछन्।

उनका अनुसार रेष्टुरेन्टमा अहिले पनि सुरुवातकालदेखि काम गर्दै आएका कर्मचारी छन्। जीत मोक्तानले सेफको जिम्म्वारी सम्हाल्दै आएका छन्। उनले बिगतमा दुबईका होटल-रेष्टुरेन्टमा काम गर्दै आएका थिए।

‘हाम्रो मुख्य उद्देश्य भनेकै भ्यालु फर मनी हो। यो सँगै अर्को मुख्य कुरो भनेको ग्राहकको स्वास्थ्य। हामीले यिनै कुरालाई मध्यनजर गर्दै क्वालिटी कन्सिस्टेन्सी कायम गर्दै आएका छौं,’ संचालक गुरुङले भने,’यहाँ आउने पाहुनाले सोचेभन्दा फरक र राम्रो सेवा पाउँदै आएको प्रतिक्रियाले थप प्रोत्साहित छौं।’

रेष्टुरेन्टमा दिइने आतिथ्यता, परिकार, एम्वियन्स लगायत पाँचतारे स्तरको होटलका रेष्टुरेन्ट जत्तिकै रहेको उनको दाबी छ। आफूहरुले पस्किने परिकारमा प्रयोग हुने खाद्य सामाग्री सबै गुणस्तरीय रहेको उनको भनाइ छ।

‘अधिकांश पूर्वमन्त्रीज्यूहरु यही क्षेत्रमा बस्नुहुन्छ। उहाँहरुसँगै साउदी, स्विस, लगायत काउन्सलर यही क्षेत्रमा छन्। मन्त्री क्वाटर तयार हुने अवस्थामा छ। हामीले रेष्टुरेन्ट सञ्चालन गर्नु अगाडि पुरै अध्ययन गरेर स्काइ पार्कको अवधारणा ल्याएका हौं,’ संचालक गुरुङले भने। 

पाँचौँ तल्लामा रेष्टुरेन्ट, ६० प्रतिशत एम्वियन्समा प्रकृतिको साथ

यो रेष्टुरेन्टको आउटलेट आवासगृहको प्रवेशद्वार लगत्तै अगाडि रहेको भैंसेपाटी कम्प्लेक्सको पाँचौँ तल्लामा छ। पार्किङबाट माथि नियाल्दा पहिलोपटक रेष्टुरेन्ट जाने ग्राहकको कल्पनाभन्दा बाहिरको छ एम्वियन्स। ग्राउण्ड फ्लोरबाट लिफ्टको सहायतामा रेष्टुरेन्ट पुग्न सकिन्छ। लिफ्टबाट निस्किएलगत्तै बायाँपट्टि हेर्दा पर हरिया डाँडा देख्न सकिन्छ। दायाँपट्टि भित्र बस्न सकिने स्पेससहितको कक्ष छ भने बायाँपट्टि बालकोनी भाइब्स दिने कक्षबाट ललितपुरसहित चार सहर दृश्यावलोकन गर्न सकिन्छ।

मल्टीकुजिन रेष्टुरेन्टमा परिकार अरबदेखि युरोपसम्मका

मुलुकमा नयाँ स्वाद दिने उद्देश्यअन्तर्गत मल्टीकुजिन मेनु केन्द्रित रेष्टुरेन्टमा सी फूडको पारखीको चहलपहल उल्लेख्य रहेको गुरुङ बताउँछन्। ‘नेपालीहरुले चाहने भनेकै मम, चाउमीन, थुक्पा लगायत हो। हामीले यहाँ पनि राखेका छौं। तर, केही  नयाँ स्वाद लिउँ न भन्नेलाई मधयनजर गर्दै सी फूड पनि राखेका छौं,’ उनले भने,’सी फूड महँगो हुन्छ भन्ने लाग्ला। तर बजारको तुलनामा हामीकहाँ त्यस्तो महँगो छैन।’

उनका अनुसार रेष्टुरेन्टमा सालमोन स्टिक, सिजलीङ प्राउन, सिजलीङ किङ प्राउन, ट्राउट लगायत माछाको परिकार खान चाहनेले भनेजस्तो स्वादमा पाउँछन्। मासुको तुलनामा माछाको परिकारलाई बढी जोड दिइएको उनले बताए।

रेष्टुरेन्टले वाइनको पारखीलाई मध्नजर गर्दै वराउलो, ब्रुनेलो, सादोने, गाविदी गावी लगायत इटालियन वाइन उपलब्ध गराउँदै आएको उनले जानकारी दिए।    

सालमोन स्टिक, सिजलीङ प्राउन, सिजलीङ किङ प्राउन, ट्राउट लगायत  माछाको परिकार यहाँ पाइन्छन्। मासुको तुलनामा माछाका परिकारलाई बढी जोड दिइएको उनले जानकारी दिए।

‘गुणस्तरमा सम्झौता गर्दैनौं’

रेष्टुरेन्टमा करिब ५० वटा परिकारका स्वादलाई विशेष ध्यान दिइएको छ। ‘हामीसँग कुनै समय खाद्य सामाग्री नहोला अथवा महँगो भएर आउला, त्यस्तो बेला पनि हामीले केही घाटा व्यहोरेर भएपनि निरन्तरता दिँदै आएका छौं,’ सञ्चालक गुरुङ सुनाउँछन्,’एउटै किसिमको स्वादको पछाडि हाम्रो सेफ जीत मोक्तान हुनुहुन्छ।’

परिकार गुणस्तरीय हुनुपर्छ भन्नेमा पुरा ध्यान दिइएको दाबी उनको छ। न्यूनतम ४०० देखि ३५०० रुपैयाँसम्मका परिकार यहाँ पाइने उनले बताए।

पाँचतारे होटल शैलीमा सहकार्य

रेष्टुरेन्टमा प्राय सी फूडको माग हुने भएका कारण प्रयोग हुने खाद्य सामाग्रीको तापक्रमलाई विशेष ध्यान दिइँदै आएको गुरुङ बताउँछन्। विशेषगरी फ्रोजन मीटको प्रयोग हुने भएकाले ‘गुरमेत भियाना’ सँग सहकार्य गर्दै आएको उनले सुनाए।

‘हामीले हासाप (हजार्ड एनालाइजीङ क्रिटीकल कन्ट्रोल) ले प्रमाणीकरण भएका कम्पनीसँग सहकार्य गरेका छौँ। विदेशबाट आउने सी फूड यहाँ त माइनस १८ देखि २४ डिग्रीसम्मको तापक्रम कायम गर्नुपर्ने हुन्छ,’ उनले भने,’परिकारमा कुनै नकारात्मक असर नपरोस् भन्ने उद्देश्यले हामीले उही अनुसारको सप्लायरसँग सहकार्य गर्दै आएका छौं।’

निकट भविष्यमा डिनरमा ‘दाल-भात, तरकारी’ समावेश गर्ने योजना रहेको उनले सुनाए।                   

यस्तो छ रेष्टुरेन्टको सिग्नेचर डीस

स्मोक्ड पिकल चिकेन

कुखुराको मासुलाई पोलेर कागतीको अमिलो, पिरो हालेर साँधिएको यो परिकार नेवारी छोयलाभन्दा भिन्न छ। यो परिकार विशेषगरी मदिरा पारखीका लागि विशेष मानिँदै आएको छ। यसको मूल्य ७६६ रुपैयाँ छ।  

फिस एण्ड चिप्स

युरोपको अन्तर्राष्ट्रिय परिकार रहेको फीस एण्ड चिप्समा ‘बासा’ प्रजातिको माछाको प्रयोग गरिएको हुन्छ।  ब्रेड क्रम्प्समा गार्लिक  मायोनाइज सससहित लिइने यो परिकारको माग राम्रो रहेको गुरुङ बताउँछन्।  सुरुमा माछालाई सिजनीङ गरिन्छ। त्यसपछि ब्रेड्रम्पले कोट गरेर डीप फ्राइ गरिन्छ। यसलाई फ्रेच फ्राइसँग सर्भ गरिन्छ। यसको मूल्य ७०० रुपैयाँ छ।

लुम्पिया सांघाइ स्प्रीङ रोल्स

फिलीपिनो शैलीको यो स्प्रिङ रोल तुलनात्मक रुपमा सानो आकारको हुन्छ। यो स्प्रीङ रोल क्रिस्पी रहेको छ। दुई जनाका लागि पर्याप्त रहने यो परिकार प्रिय रहेको उनले जनकारी दिए। यसको मूल्य ५५० रुपैयाँ छ।

सी फूड चाउदर सुप

जाडोमा विशेष रुचाइने सी फूड चाउदर सुपमा कलामारी, प्राउन, बेबी अ क्टोपसको प्रयोग गरिएको हुन्छ। पहिला सी फूडको स्टक बनाएर हल्का क्रिम हालेपछि पोटाटो प्युरीमा हालेर सर्भ गरिन्छ। यसको मूल्य ६५५ छ।

वाटरमेलन सलाद

विशेषगरी फलफूलको रेसिपिमा प्रयोग हुँदै आएको वाटरमेलनलाई सलादमा परिणत गर्दै पस्किएको उनले बताए। यसमा  चिज, अलिभको प्रयोग गरिएको हुन्छ।

क्रन्ची प्राउन वालनट सालद

उसिनेको अन्डालाई स्लाइस गरिएको हुन्छ। यसको माथि मिडीयम साइजको प्राउन राखिएको हुन्छ। माथिबाट क्रिमी सस राखेर पस्किइन्छ।

चिकेन सिस्ताओक

मिडल इस्टअन्तर्गत लेवननको विशेष परिकार मानिएको सिस्ताओक दही र स्पाइसेसमा कुखुराको मासुलाई मोलेर राखिन्छ। त्यसपछि काठको झिरमा कबाब शैलीमा तयार गरिएको हुन्छ। यसको मूल्य ७१० रुपैयाँ छ।

मुर्ग मलाइ कबाब

कुखुराको मासुको छातीको भागलाई काजुको पेस्टमा मोलिएको हुन्छ। पछि तन्दुर गरिएको यो परिकार नरम, क्रिमिनेस रहेको छ। मुगलको पालामा प्रसिद्ध यो परिकार नवाबी रहेको उनले जानकारी दिए।

रोजमेरी चिकेन

पश्चिमासँगै यतिखेर नेपालीले पनि उत्तिकै मन पराएको यो परिकारमा रोजमेरी र कागतीमामा मेरिनेट गरिएको हुन्छ। यसको मूल्य ७५० रुपैयाँ छ।

सन् २०१९ बाट संचालनमा आएको रेष्टुरेन्टमा गुरुङ र दिनेश राईले साढे चार करोड रुपैयाँ लगानी गरेका छन्। यो रेष्टुरेन्ट कुमारीपाटीमा १० वर्ष अघिदेखि सञ्चालनमा रहेको रेष्टुरेन्ट ऐलाअन्तर्गत छ।