ग्वार्को फ्लाइओभर : ठेकदार अनुकुल डिजाइनको लफडामै सकियो १८ महिना, निर्माण कहिले पूरा हुने?

शुक्र गिरी
२०८० भदौ ४ गते ०६:०४ | Aug 21, 2023
ग्वार्को फ्लाइओभर : ठेकदार अनुकुल डिजाइनको लफडामै सकियो १८ महिना, निर्माण कहिले पूरा हुने?


काठमाडौं। सरकारले उपत्यकाको ट्राफिक जामलाई कम गर्न चौबाटोमा फ्लाइओभर निर्माण गर्ने अवधारणास्वरुप ग्वार्को चोकमा निर्माण गर्न सुरु गरेको छ। तर उक्त फ्लाइओभरको डिजाइनका लागि मात्रै १८ महिना समय लागेको छ। अझै संशोधित डिजाइन कहिले स्वीकृत हुन्छ पत्तो छैन।

Tata
GBIME
NLIC

यतिखेर सडक विभागले संशोधित डिजाइनको काम हेरिरहेको छ। सुरुवातको डिजाइनमा काम थालेलगत्तै निर्माण व्यवसायी कम्पनीले आवश्यक सामाग्री ल्याउन नपाएको भन्दै डिजाइन संशोधन गर्न विभागसँग स्वीकृति मागेको थियो।

विभागले पनि कम्पनीलाई डिजाइन आफ्नो सुविधा अनुकूल संशोधन गर्न जिम्मा दियो। निर्माण व्यवसायीले बनाएको डिजाइन रिभ्यु गर्न भने सडक विभागलाई धेरै समय लागिरहेको छ।

यो आयोजनाको लागि विभागले निर्माण व्यवसायीलाई सुरुमा डिजाइन गर्न ६ महिनाको मात्र समय दिएको थियो। निर्माण व्यवसायीले बुझाएको पहिलो डिजाइन विभागले गत वर्ष माघ २३ मा पास गरेर काम पनि थालेको थियो।

१३ महिना पहिलेकै डिजाइन बनाउने र डिजाइन रिभ्यु गर्नेदेखि स्वीकृति दिने प्रक्रियामा सकियो। जबकी यसको समयावधि लगभग ७ महिनाको मात्र हुनुपर्ने थियो।

अहिले पछिल्लो डिजाइन संशोधनको प्रक्रियामा विभागले काम गरिरहेको छ। यो प्रक्रिया हाल पुल महाशाखामा रिभ्यु गर्ने काम भइरहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका इन्जिनियर राकेश महर्जनले बताए।

उनका अनुसार यसमा परिवर्तन गर्नुपर्ने सबै सर्तहरु संशोधन भएर पुल महाशाखामा पुगेको छ। त्यहाँबाट फाइनल भएपछि केन्द्रमा आउने र केन्द्रले निर्माण व्यवसायीलाई काम गर्न स्वीकृति दिएपछि काम सुरु हुने उनले बताए।

‘यो हप्ताभरीमा उक्त संशोधित डिजाइनको पुल महाशाखाले रिभ्यु गर्छ,’ उनले भने, ‘त्यसपछि केन्द्रले हेरेर अन्तिम स्वीकृति प्रदान गर्छ।’

उनका अनुसार फ्लाइओभर निर्माणको काम भदौ अन्तिमबाट मात्र सुरु हुन्छ।

‘पहिलाको डिजाइनमा फ्लाइओभरको लागि हालिने पाइल मोटो र एकपट्टि ४ वटा र अर्को पट्टि ४ वटा गरी ८ वटा राख्ने योजनामा काम भइरहेको थियो। यसमा उक्त पाइलको पहिले डिजाइन गरिएको जस्तो १.५ डायमिटर (मोटाइ) थियो। त्यसका लागि बाहिर बाट सामान निर्माण व्यवसायीले ल्याउन नसक्ने भएपछि त्यसलाई परिवर्तन गरेर १.२ डायामिटरको ६/६ वटा निर्माण हुने गरी संशोधन गरिएको हो,’ उनले भने, ‘यसले पाइलको डायमिटर घटायो र पाइलको संख्या बढाएको छ।’

यही पाइल कास्टिङ खरिदका लागि डिजाइन संशोधन गर्न लागिको केन्द्रले जनाएको छ। महर्जनले अब भने दुई पट्टि ६/६ वटा गरेर १२ वटा पाइल बस्‍ने गरी डिजाइन संशोधन भइरहेको बताए। यसमा थप हुने लागत निर्माण व्यवसायी आफैंले बेहोर्नु पर्ने उनको भनाइ छ।

आयोजनाको काम सम्पन्‍न गर्नुपर्ने अन्तिम समय यही फागुन १२ गतेसम्म मात्र छ। यसको ठेक्का आशिष समानान्तर रेलिगेर जेभीले १७ करोड ६ लाख रुपैयाँमा पाएको छ।

विभागले संशोधित डिजाइन रिभ्यु गर्ने काम पूरा गरिसकेको छैन। २०७८ फागुनमा ठेक्का सम्झौता भएको आयोजनाको निर्माण पूरा हुनुपर्ने अवधि अब ७ महिना मात्र बाँकी छ।

यसरी डिजाइनमा यसरी समय खर्चिँदा भौतिक निर्माणमा भने समस्या हुने भएको छ। निर्माण व्यवसायीले १८ महिना लाग्‍ने काम ७ महिनाको अवधिमा कसरी सम्पन्‍न गर्न सक्छ ? यतिखेर सबै निकायको मनमा यही प्रश्‍न उठ्न थालेको छ।

केन्द्रले भने फुल डेप्थ टेम्पोररी केसिङ प्रविधि प्रयोग गरेर डिजाइन बमोजिम पाइल कास्टिङ गर्न आवश्यक मेसिन औजार स्वदेशमा उपलब्ध नभएकोले तोकिएको समयावधिभित्र सम्पन्‍न हुन यकिन गर्न कठिनाइ भएको जनाएको छ।

निर्माण व्यवसायीले निर्धारित समयमा काम पूरा गर्दैन भन्‍नेमा केन्द्रका प्राविधिक प्रष्ट छन्। बाहिरबाट झिकाउनुपर्ने पाइल र त्यसलाई जमिनमुनी गाड्न खाल्डो खनिने भाइब्रो ह्यामर र क्रेन मेसिन पनि साइटमा समयमा आइपुग्‍नुपर्ने अवस्थामा रहेको महर्जन बताउँछन्।

‘यस्ता सामानहरु अझै भारतबाट आइपुगेका छैनन्,’ उनले भने, ‘पाइलको लागि आवश्यक सामान आउन समय लाग्छ।’

अहिलेसम्म के भयो ?

यो फ्लाइओभरको लागि आवश्यक सर्वे गर्ने काम सम्पन्‍न गरिसकेको छ। यस्तै पहिलेको डिजाइन अनुसार साइटमा ले-आउट कार्य सम्पन्‍न भइसकेको केन्द्रले जनाएको छ।

यसैगरी सवारी आवगमनमा न्यूनतम बाधा अवरोध हुने गरी एप्रोच रोडको र्‍याम्प निर्माणका लागि बालकुमारीतर्फ जमिनमुनिको सोयल इम्प्रुभमेन्टको लागि आवश्यक प्रिफ्याब्रिकेटेड भर्टिकल ड्रेन (पीभीडी)भारतबाट आयात गरी साइटमा भण्डारण गरिएको छ।

पीभीडी जडानको लागि जमिनसहितको १.५/२.० मिटर गहिराइमा आवश्यक र्‍याम्प चौडाइमा अवस्थित सडक फुटपाथसहित माटो हटाइ तयारी गरिएको छ।

यस्तै एप्रोच सडकको र्‍याम्प निर्माणको लागि भारतबाट मोल्ड आयात गरी साइटमा भारतीय विज्ञको प्रत्यक्ष निगरानीमा रेडी मिक्स कंक्रिट प्रयोग गरेर एमएसई वाल को प्यानल ढलान गर्ने कार्य भइरहेको केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार ब्रिजको सब-स्ट्रक्चर निर्माणको लागि नेपाल विद्युत प्राधिकरण सँगको सहकार्यमा विद्युतको अन्डरग्राउन्ड गरिएको तार सार्ने काम अगाडि बढाइएको छ।