
काठमाडौं। सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले सोमबारदेखि पहिलो चरणमा प्रिमियम मूल्यमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सेयर निष्कासन तथा बिक्री खुला गरेको छ।
कम्पनीले प्रभावित क्षेत्र अर्थात दाङ र रोल्पाका स्थानीयहरुले अंकित मूल्य १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम मूल्य थपेर २२५ रुपैयाँका दर बेच्दैछ। उनीहरुका लागि १५ लाख ३७ हजार ५२५ कित्ता सेयर छुट्याएको छ।
कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि पनि सार्वजनिक निष्कासनको १० प्रतिशतले हुन आउने १० लाख ७६ हजार २६८ कित्ता सेयर बिक्री खुला गरेको छ। कम्पनीले सो सेयरमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीहरुले अंकित मूल्य १०० रुपैयाँमा १३७.५८ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रति कित्ता २३७.५८ रुपैयाँका दरले बिक्री खुला गरेको छ।
साधारण सेयरका लागि धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको रेटिङ गर्नुपर्छ। सोही प्रावधान अनुसार कम्पनीले इन्फोमेरिक्सबाट क्रेडिट रेटिङ गराएको छ।
कम्पनीले ‘आईआरएन ट्रीपल बी’ रेटिङ पाएको छ। जसले कम्पनीको वित्तीय दायित्व समयमा नै पूरा गर्न मध्यम सुरक्षित रहेको जनाउँछ।
कम्पनीको उत्पादन क्षमता
कम्पनीको उद्योग दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका-१८ मा छ। कम्पनीले २०६९ जेठ १८ गतेबाट आफ्नो उत्पादन सुरु गरेको हो। कम्पनीको उद्योगको कुल लागत ८ अर्ब ७१ करोड छ।
कम्पनीले क्लिंकर, ओपीसी, पीपीसी तथा पीएससी सिमेन्ट उत्पादन गर्दै आएको छ। कम्पनीसँग वार्षिक २ लाख १३ हजार ३५७ टन क्लिकंर, १ लाख ७२ हजार ७२ टन ओपीसी, ५ लाख ४९ हजार ४८० टन पीपीसी सिमेन्ट र ४९ हजार ९२४ टन पीएससी सिमेन्ट उत्पादन क्षमता छ।
कति क्षमताको छ चुनढुंगा खानी ?
सोनापुर मिनरल्सले केही वर्ष अघि खानी विभागबाट स्वीकृति लिएर खानी उत्खनन् नगरेको भन्दै विवादमा समेत आएको थियो। कम्पनीले उद्योगका लागि तीनवटा चुनढुंगा खानी उत्खनन गर्दै आइरहेको छ।
कम्पनीले चुनढुङंगा उत्खननका लागि दाङको बंगलाचुली गाउँपालिकाको ४.१६५ वर्ग किलोमिटर क्षेत्र प्रयोग गरिरहेको छ। सो स्थान चुनढुंगा उत्खननका लागि खानी तथा भूगर्भ विभागबाट २०६७ पुस २७ गतेबाट कम्पनीले प्रयोग गर्न पाउनेगरी स्वीकृति पाएको हो। कम्पनीले सो खानी २०९७ पुस २६ गतेसम्म बहालमा प्रयोगमा गर्न पाउने छ।
यस्तै राप्तीको रुन्टीगढी गाउँपालिकाको ४.५० वर्ग किमि क्षेत्रका चुनढुंगा खानी उत्खननका लागि २०६६ सालमा अनुमति पाएको छ। सो खानी कम्पनीले अब ८ वर्ष अर्थात २०८६ पुस ८ गतेसम्म प्रयोग गर्न पाउने छ।
यस्तै रुन्टीगढी गाउँपालिकामा नै ३ वर्ग किलोमिटर क्षेत्रमा कम्पनीले चुनढुंगा उत्खननका लागि विभागबाट २०७२ जेठ २९ गते अनुमति पाएको छ। सो खानी २०९२ जेठ २८ सम्म मात्र कम्पनीले प्रयोग गर्न पाउने छ।
कम्पनीले उद्योगका लागि आवश्यक पर्ने कोइला दक्षिण अफ्रिका, अष्ट्रेलिया लगायतका देशहरुबाट आयात गर्छ।
बजार छैन सजिलो
सोनापुर मिनरल्स कम्पनीको बजारीकरण त्यति बलियो छैन। कम्पनीको ठूलो हिस्सा सुदूरपश्चिम हो।
कम्पनीले उद्योग रहेको जिल्ला दाङसहित प्युठान, रोल्पा,रुकुम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, मुगु, बाँके, बर्दिया,कैलाली, कञ्चनपुर, डोटी, बाजुरालाई समेत कम्पनीले प्रमुख बजार मानेको छ।
सोनापुर रहेको जिल्लामा घोराही सिमेन्ट पनि छ। घोराहीको उत्पादन क्षमता सोनापुरको तुलनामा बढी छ। घोराहीको पनि प्रमुख उत्पादन क्लिंकर र पीपीसी र ओपीसी सिमेन्ट नै हो। घोराही सिमेन्टको पनि ६० प्रतिशत बजारीकरणको हिस्सा सुदूरपश्चिम प्रदेशमा भएकाले प्रतिस्पर्धा टफ छ। घोराही सिमेन्टको नेपालको ठूलो सिमेन्ट उद्योग मध्य एक हो।
यस्तो छ वित्तीय अवस्था
कम्पनीको वित्तीय विवरण अनुसार यो अवधिसम्म १४ करोड ३९ लाख नाफामा छ। यस्तै असारसम्म कम्पनीको प्रति सेयर आम्दानी प्रति कित्ता ७.८ रुपैयाँ छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ६.४७ थियो।
यस्तै गत असार मसान्तसम्म कम्पनीको प्रति सेयर नेटवर्थ पनि १४९.८१ छ। अघिल्लो वर्ष १४२.०१ थियो।
यस्तै यस अवधिसम्म कम्पनीको कुल आम्दानी ५६ करोड ४७ लाख छ। कम्पनीको रिजर्भ एण्ड सरप्लसमा ९१ करोड ९० लाख छ।
यस सोनापुर मिनरल्सले आर्थिक वर्ष २०८०/८१, ०८१/८२ र ८२/०८३ मा खुद मुनाफा क्रमश: १७५.५६ र ११.९८ र ४.९८ प्रतिशतले बढ्ने अनुमान गरेको छ। तर कम्पनीले भनेकोजस्तो बजार विस्तार हुने सम्भावना कम छ।
आर्थिक मन्दीका कारण विकास निर्माण सुस्त छ। तरलता अभावसँगै चर्को ब्याजदरको समस्या चालु आर्थिक वर्षमा पनि समाधान नहुने अवस्था छ। यी सबै कारणले चालु आर्थिक वर्ष सिमेन्ट उद्योगका लागि सहज छैन। त्यसमा पनि चिनियाँ संयुक्त लगानीको उद्योगले यो सिमेन्ट उद्योगको बजार समेत प्रभावित बनाएको छ।
आईपीओको पैसा कहाँ खर्चिन्छ ?
सोनापुरले सेयर बिक्री गरेर संकलन भएको पुँजी ९ वटा बैंकको चालु पुँजी कर्जा भुक्तानी गर्न तथा आपूर्तिकर्ताको भुक्तानीका लागि उपयोग गर्नेछ।
कम्पनीले निष्कासनबाट प्राप्त हुने रकम मध्ये प्राइम कमर्सियल बैंकको ३७ करोड ७९ लाख, नबिल बैंकको ८ करोड ४१ लाख, सिटिजन्स बैंकको ५ करोड ३२ लाख, माछापुछ्रे बैंकको १ करोड २८ लाख, सिद्धार्थ बैंकको ४ करोड ८१ लाख, कुमारी बैंकको १३ करोड १८ लाख, सनराइज बैंकको ९३ लाख ९३ हजार, ग्लोबल आईएमई बैंकको १६ करोड ११ लाख र प्रभु बैंकको १२ करोड ११ लाख चालु पुँजी कर्जा भुक्तानी गर्ने छ।
त्यस बाहेक चुनढुंगाको उत्खनन् तथा खरिद, अन्य सम्पूर्ण कच्चा पदार्थ, प्याकिङका सामान, कोइला र इन्धनको खरिदमा प्रयोग गर्नेछ। कम्पनीले उत्पादन क्षमता वृद्धिको दायित्वहरु भुक्तानी पनि भुक्तानी गर्ने जनाएको छ।