दुई वर्षअघि जब अमेरिकी सेनाले अफगानिस्तान छाडे र तालिवानले सत्ता नियन्त्रणमा लियो, तब धेरै त्रासमा देखिए अफगानी महिला। उनीहरुमा आफूहरुले पाएको स्वतन्त्रता तालिवानी शासनमा खोसिने भय थियो।
अमेरिकाले अफगानिस्तान छाडेर गएपछि तालिवानले आफू परिवर्तन भएको दाबी गर्यो। महिलालाई शिक्षामा पहुँच दिने र पहिलाको शासनमा भन्दा खुलारुपमा प्रस्तुत हुने वाचा गर्यो।
यद्यपि, शंका गर्ने ठाउँ धेरै थिए। नभन्दै तालिवानले बिस्तारै आफ्नो रूप देखाउन थाल्यो। तालिवानले महिलालाई शिक्षामा प्रतिबन्ध मात्रै लगाएन, स्वतन्त्र रुपमा हिँड्डुल ल गर्नै रोक्यो।
सत्ता नियन्त्रणमा लिएपछि दुई वर्षमा महिलाको पहुँचलाई धेरै क्षेत्रमा रोकेको तालिवानले ब्युटीपार्लर संचालन गर्न भने दिइरहेको थियो। सन् २०२१ पछि बिग्रिएको अर्थतन्त्र र अन्य रोगजारीमा प्रतिबन्ध लगाइँदा ब्युटीपार्लर व्यवसाय धेरै महिलाका लागि आयआर्जनको प्रमुख स्रोत बन्यो।
र, तालिवान शासन सुरु भएपछि दु:ख बिसाउने र स्वतन्त्रता महसुस गर्ने थलो पनि। पहिला सौन्दर्यको कुरा हुने पार्लरमा पछि गरिबी र बेरोजगारीको चर्चा हुन थाल्यो।
अहिले यही क्षेत्र तालिवानको निसानामा परेको छ। जुलाई २ मा एक सूचना जारी गरेर तालिवानले ब्युटीपार्लर संचालन गर्न रोक लगाउने घोषणा गर्यो। बन्द गर्न एक महिनाको समय दिइएको छ। अफगानीका धेरै घरमा पुरुषले रोजगारी नपाउँदा महिलाले यही व्यवसायबाट घर चलाइरहेका थिए।
ब्युटीपार्लर महिलालाई शृंगार गर्ने ठाउँ मात्रै थिएन, आर्थिकरूपमा सबल भइरहने थलो पनि थियो। तर, तालिवानको पछिल्लो निर्णयले करिब १२ हजार ब्युटीपार्लर बन्द हुने भएका छन्। ६० हजार महिला बेरोजगार हुनेछन्।
हुन त, दुई वर्षअघि तालिवानले सत्ता सम्हालेपछि नै धेरैले यो दृश्यको कल्पना गरेका थिए। त्यतिबेला नै सडकमा हतियारसहित शक्ति प्रदर्शन गरेका तालिवानी लडाकू पसलमा टाँसिएका महिलाका तस्विरमा कालो रंग पोत्दै हिंडेका थिए।
पछि ब्युटीपार्लर संचालन गर्न दिइए पनि पार्लरबाहिर महिलाको अनुहार वा श्रृंगारका दृश्य राख्न प्रतिबन्ध लगाइएको थियो। पार्लर जान पति वा परिवारको अनुमति चाहिन्थ्यो।
सन् २००१ अघि तालिवान शासन रहँदा पनि अन्तिममा मात्रै ब्युटीपार्लर बन्द गर्न निर्देशन दिइएको थियो। यसपटक पनि त्यस्तै भयो।
यो निर्णयअघि तालिवानले महिलालाई संयुक्त राष्ट्रसंघ र गैरसरकारी संस्थामा काम गर्नसमेत रोकेको थियो। उसले अहिले महिला संलग्न व्यवसायमाथि नै प्रहार गरेको छ।
तालिवानी शासनमा ब्युटीपार्लर महिलालाई शृंगार गर्ने ठाउँ मात्रै थिएन, आर्थिकरूपमा सबल भइरहने थलो पनि थियो। तर, तालिवानको पछिल्लो निर्णयले करिब १२ हजार ब्युटीपार्लर बन्द हुने भएका छन्। ६० हजार महिला बेरोजगार हुनेछन्।
तालिवानको घोषणापछि महिलाले काबुलसहित विभिन्न सहरमा प्रदर्शनसमेत गरे। तर तालिवानी सत्ताधारीको मन पग्लिएको छैन।
काबुलमा ८ वर्षदेखि ब्युटीपार्लर संचालन गर्दै आएकी मर्जीया रहिच अब आफ्नो भविष्य अन्धकारमय देख्छिन्। १८ हजार डलरबाट सुरु भएको व्यवसाय अब एकाएक बन्द हुँदैछ, उनलाई परिवारको भोक कसरी मेटाउने भन्ने चिन्ता थपिएको छ।
‘अब हामी परिवारका सदस्यलाई पेटभरि खुवाउन सक्दैनौं,’ उनले भनिन्।
ब्युटीपार्लरमाथि प्रतिबन्ध गर्नुको कारण तालिवानले स्पष्ट पारेको छैन। महिलाको जीवनशैली राम्रो बनाउन यस्तो निर्णय गरेको उसको तर्क छ।
उसले अर्को महिना सबै पार्लर बन्द भएपछि मात्रै कारण बताउने भनेको छ। तालिवानको घोषणापछि महिलाले काबुलसहित विभिन्न सहरमा प्रदर्शनसमेत गरे। तर तालिवानी सत्ताधारीको मन पग्लिएको छैन।
कन्दहार सहरमा तालिवानका सुप्रिम कमान्डर बस्छन्। त्यसैले तालिवानले नियन्त्रणमा लिएपछि नै बाबुहरुले आफ्ना छोरीलाई मेकअप लगाउनबाट रोकिसकेका थिए। तर पनि केही महिला परिवारको अनुमति लिएर पार्लर पुग्थे।
कन्दहारकै २३ वर्षीया जमिरालाई पतिले घरबाहिर जान रोक्थे। उनी पतिलाई मनाएर वर्षमा दुई-तीनपटक सलुनमा पुग्ने गर्थिन्। त्यहाँ पुग्दा उनलाई स्वतन्त्रता महसुस हुन्थ्यो।
त्यो अन्तिम स्वतन्त्रता पनि खोसिएको छ। पार्लरमा कपाल रंगाउँदै गर्दा उनी लगायत महिलाले तालिवानको सर्कुलर थाहा पाए। त्यसपछि पार्लरमा सन्नाटा छाएको उनले सुनाइन्।
सन् २०२० मा २० अर्ब पुगेको कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) सन् २०२१ मा १४ अर्बमा झर्यो। तालिवानले सत्ता कब्जामा लिएपछि अफगानिस्तानको आर्थिक अवस्था झन् झन् बिग्रँदो छ।
‘अधिकांश महिला बुर्का र हिजाब लगाएर हिँड्छन्। अहिले हामीले यसलाई आफ्नै संस्कृतिअन्तर्गत मानिसक्यौं,’ उनले भनिन्।
गत वर्ष २२ वर्षीया मदिनाको विवाह भयो। विवाहअघि उनी सलुनमा नै गएर तयार भइन्। अहिले त्यो दिन सम्झिँदा उनलाई आनन्द महसुस हुन्छ।
विवाहपछि पनि पतिका साथ बेला बेला ब्युटीपार्लर जाँदै आएकी उनी भन्छिन्, ‘मेरो पतिलाई कपाल विभिन्न रंग र स्टाइलमा काटेको मनपर्छ। उनले मलाई जहिल्यै सलुन लैजान्छन् र ढोका बाहिर कुरेर बस्छन्। उनले मेरो लुकको प्रशंसा गर्दा मलाई खुशी लाग्छ।’
मदिना वकिल बन्न चाहन्थिन्। तर तालिवानले महिलालाई विश्वविद्यालय जान रोकेपछि उनको त्यो लक्ष्य बीचमै टुट्यो। तालिवानले महिलालाई अधिकांश काम गर्न रोके पछि उनी बेरोजगार छिन्।
तालिवानले सत्ता कब्जामा लिएपछि अफगानिस्तानको आर्थिक अवस्था बिग्रँदो झन् झन् छ। सन् २०२० मा २० अर्ब पुगेको त्यहाँको कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) सन् २०२१ मा १४ अर्बमा झर्यो।
प्रतिबन्ध र ऋणको बोझबीच अफगानी जनता गरिबीको चपेटामा पिल्सिँदैछन्। त्यही बिग्रिएको आर्थिक अवस्थामा महिलाले संचालन गर्दै आइरहेका व्यवसायबाट कतिपय परिवारको खर्च चलेको थियो। तर, ब्युटीपार्लर बन्दको घोषणाले धेरैको सपना तुहिएको छ।