
काठमाडौं। राजस्व अनुसन्धान विभागको टोलीले सुन प्रकरणमा समातिएका चिनियाँ नागरिक बसेको घरमा छापा मारेको छ। टोलीले लाजिम्पाटस्थित घरको फ्लाटमा छापा मारेको हो। तर टोलीले शंकास्पद वस्तु भने फेला पार्न सकेन।
‘सामान सारेको जस्तो देखियो,’ एक अधिकृतले भने। टोलीले बुधबार सोह्रखुट्टेमा चिनियाँ नागरिकको गोदाममा छापा मारेको थियो। गोदामबाट ६६ वटा ब्रके शु भएका कार्टुन बरामद् भएको थियो।
तर ती ब्रेक शुभित्र त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको ब्रेक शुभित्र रहेको झैँ सुन फेला परेन। बरामद भएका केही ब्रेक शुभित्र सुन राखेर ल्याइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। चिनियाँ नागरिकलाई साउन ४ गते अध्यागमन विभागले चीन जान लागेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
विभागको टोलीले यो प्रकरणमा अहिलेसम्म १७ जनालाई पक्राउ गरेको छ। बिहिबार दिउँसो थप एक जनालाई पक्राउ गरेको विभागले जनाएको छ।