लचिलो मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई बाह्य क्षेत्रको बल, शोधनान्तर बचत सवा दुई खर्ब

बिजमाण्डू
२०८० असार २५ गते १२:२९ | Jul 10, 2023
लचिलो मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई बाह्य क्षेत्रको बल, शोधनान्तर बचत सवा दुई खर्ब


काठमाडौं। रेमिटेन्समा आएको निरन्तरको सुधारले देशको बाह्य क्षेत्रमा निक्कै सुधार देखिएको छ। जेठ महिनामा मात्र १ खर्ब ७ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ।

Tata
GBIME
NLIC

नेपाल राष्ट्र बैंकले सोमबार जेठसम्मको वर्तमान आर्थिक स्थिति सम्बन्धि तथ्यांक सार्वजनिक गर्दै शोधनान्तर बचत २ खर्ब २८ अर्ब २९ करोड रुपैयाँ पुगेको जनाएको छ।

लगातार १४ महिना शोधनान्तर घाटालाई तोड्दै चालु वर्षको सुरुवातबाटै बाह्य क्षेत्रमा सुधार देखिन थालेको हो। राष्ट्र बैंकले आगामी मौद्रिक नीतिको तयारी गरिरहँदा कुन बाटो समात्‍ने भन्ने यो तथ्यांकले संकेत गर्छ।

चालु वर्षको जेठसम्ममा कुल ११ खर्ब १२ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ। यसको अर्थ हरेक महिना मुलुकमा औसतमा एक खर्ब रुपैयाँमाथि रेमिटेन्स आइरहेको छ।

विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्स बढेको कारण शोधनान्तरमा सुधार भए पनि बढ्दो आयातले केही चुनौती थपिएको छ। गत भदौसम्म शोधनान्तर २३ अर्ब ६८ करोड रुपैयाँ घाटामा थियो। पोहोर यतिबेला शोधनान्तर २ खर्ब ६९ अर्ब रुपैयाँ घाटामा थियो।

बाह्य क्षेत्रमा देखिएको स्थायित्वले लचिलो मौद्रिक नीति लिन राष्ट्र बैंकलाई ठाउँ दिएको छ। निजी क्षेत्रले खुकुलो मौद्रिक नीतिको माग गरिरहेका छन्।

तर बढ्दो आयातले निक्कै खुकुलो भएर जाने अवस्था नरहेको पनि जेठको तथ्यांकले दखाउँछ। जेठमा मात्रै १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ। राष्ट्र बैंकका अनुसार, जेठसम्म १२ खर्बको वस्तु आयात भएको हो।

गत आर्थिक वर्षको अन्त्यसम्म १९ खर्ब २० अर्बको आयात भएको थियो। पोहोर जेठको तुलनामा २७.५ प्रतिशत आयात बढेको राष्ट्र बैंकले जनाएको छ।

विदेशी मुद्राको सञ्चितिमा पनि सुधार देखिएको छ। एक महिनामै सञ्चिति १० अर्ब ५४ करोड रुपैयाँले बढेर १४ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ। यो भनेको पछिल्लो दुई आर्थिक वर्षकै उच्च सञ्चिति हो। यो सञ्चितिले अब ११.२ महिनाको वस्तु र ९.६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्छ। यसअघि घटेर ६.६ महिनासम्म झरिसकेको थियो।

चालु खाता घाटा बढेको छ। भदौमा ३७ अर्ब १८ करोड पुगेको घाटा जेठमा ६९ अर्ब ४० करोडमा उक्लिएको छ। देशभित्र आउने कुल विदेशी मुद्रा र बाहिरिने मुद्रा बीचको अन्तर हो चालु खाता। बढी भित्रिए चालु खाता बचतमा हुन्छ, बढी बाहिरिए घाटा हुन्छ।

मुलुकमा जेठमा महँगी दर घटेर ६.८६ प्रतिशत पुगेको छ। अघिल्लो महिना महँगी दर ७.४१ प्रतिशत थियो।